• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चार दर्जन निष्कृय पत्रकारहरुको सदस्यता नवीकरण नगर्ने

नेपाल पत्रकार महासंघ पर्साको शुद्धिकरण अभियान

वीरगञ्ज, २६ माघ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको एघारौं पूर्ण बैठक मङ्गलबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको वीरगञ्ज–१५ स्थित कार्यालयमा सम्पन्न भएको ११औं पूर्ण बैठकले शाखाका पूर्व अध्यक्ष गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको स्वर्गीय गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार यस वर्ष एभिन्यूज टेलिभिजनका वीरगन्ज ब्यूरो  प्रमुख राजु श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कार वितरणका लागि शाखाका उपाध्यक्ष ध्रुव साहको संयोजकत्वमा गठन गरिएको पुरस्कार छनौट समितिले श्रेष्ठको नाम सिफारिस गरेको आधारमा श्रेष्ठलाई फागुन ४ गते एक कार्यक्रम गरी प्रदान गर्ने बैठकले निर्णय गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले पूर्व अध्यक्ष शत्रुघन नेपालको संयोजकत्वमा गठन गरेको सदस्यता शुद्धीकरण एवम नयाँ सदस्य सिफारिस कार्यदलले बुझाएको सदस्यता शुद्धीकरण, नवीकरण, स्थानान्तरण र वितरणको प्रतिवेदनमाथि  छलफल गरी झण्डै चार दर्जन सदस्यहरुको सदस्यता नवीकरण नगर्ने र अन्य जिल्लामा कार्यरतको हकमा सोही जिल्लामा स्थानान्तरण गर्ने समेत निर्णय गरेको छ ।
पत्रकारिता पेशामा हाल कृयाशिल नभएका, राजनीतिक दलको उच्च नेतृत्वमा रहेका, विभिन्न सरकारी तथा अर्धसरकारी र वित्तीय संस्थामा कार्यरत रहेका सदस्यहरुको नवीकरण नगर्ने र जिल्ला बाहिर रहेर पत्रकारिता गरीरहेकाहरुलाई कार्यरत जिल्लामा सदस्यता स्थानान्तरणका लागि आग्रह गरिने, आग्रह पश्चात पनि स्थानान्तरण नगराएको खण्डमा सदस्यता नविकरण नगर्ने निर्णय समेत बैठकले गरेको छ ।
नेपालको संयोजकत्वमा गठन भएको कार्यदलमा रहेका शाखाका उपाध्यक्ष ध्रुव साहसहित पूर्व अध्यक्षहरु क्रमशः केसी लामिछाने, अशोक तिवारी, दीपेन्द्र चौहान, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् मधेस विभाग प्रमुख विजय कुशवाहा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य लालबाबु शेष, क्रान्तिकारी पत्रकार संघका छठु साह र शाखाका पार्षद रामनारायण कुर्मिले संयुक्त रूपमा बुझाएको प्रतिवेदनका आधारमा मंगलबारको बैठकमा छलफल भएको हो ।
नयाँ सदस्यता वितरणको विषयमा भने अर्को बैठकले टुङ्गो लगाउने गरी बैठकले निर्णय गरेको छ । बैठक नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतमा सम्पन्न भएको छ ।