राजविराज, ९ माघ । जारी मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते सप्तरीको राजविराज नगरपालिका–७ का भुवनेश्वर मण्डल ‘बेलचन’लाई साहित्यकार करुणा झाले आर्थिक सहयोग गरेका छन् ।
विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि शनिवार घाइते बेलचनको घरमै पुगेर नगद ११ हजार रुपैयाँ सहयोग गरेकी हुन् । जारी मधेश आन्दोलनका क्रममा गत मंसिर ५ गते राती प्रहरीले चलाएको गोली उनको पेटमा लागेको थियो । वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४० दिनको सघन उपचारपछि घरमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
उनको सानो आन्द्रा काटिएको छ भने हाल प्लाष्टिकको थैलामा बाहिरै दिसा गर्नुपर्ने बाध्यता रहेको छ । साउण्ड सिस्टम चलाएर गुजारा चलाउँदै आएका उनलाई प्रत्येक साता जाँच गराउन धरानको वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुपर्ने बाध्यता रहेको छ ।
अन्तर्राष्ट्रिय मैथिली परिषद्की निवर्तमान समेत रहेकी सञ्चार यात्रा नेपालकी संस्थापक अध्यक्ष झासँगै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, सि एफएमका स्टेशन म्यानेजर भूषण सिंह सहितको टोलीले घाइते बेलचनको अवस्थाबारे समेत जानकारी लिएका छन् ।