सोनु दास
रङ्गेली, ७ पुस । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रहरी बीच मोरङको रंगेली र डाइनियामा विहीबार झडप हँुदा ३ जनाको मृत्य भएको छ भने करिब एक दर्जन भन्दा बढी घाइते भएका छन् ।
प्रहरीको गोली लागेर रंगेली नगरपालिका–४ का ६० वर्षिय द्रोपती देवी चौधरी, डाइनिया–९ का २५ वर्षिय शिबु माझी र बरडंगा–२ का महादेव ऋषिदेवको मृत्यू भएको हो । यसैगरी रंगेली– ९ का ५० वर्षिय सत्य नारायण साह सोही ठाउँका ३५ वर्षिय जगरनाथ साह, वरड्गा गाविसका महादेव ऋषिदेव, रंगेली नगरपालिका–४ का सुबोध मण्डललगायतका व्यक्तिहरु घाइते भएका छन् ।
संविधानबारे मधेशमा रहेको भ्रम रहेको भन्दै उक्त विषयमा युवा संघ नेपालले थालेको तराई मधेश जागरण अभियान अन्र्तगत मोरङको रंगेलीमा आमसभाको आयोजना गरेको थियो । उक्त सभालाई मोर्चाले विफल बनाउनकालागि गाउँगाउँबाट हजारौंको संख्यामा कार्यकर्ता रंगेलीमा भेला भई आमसभाको आयोजना गरेको थियो । 
युवा संघ नेपालले रंगेली खानेपानी रोडको खुल्ला मैदानमा आयोजना गरेको आमसभालाई मोर्चाले विथोल्न प्रहरीको सुरक्षा घेरा तोड्ने प्रयास गरेपछी प्रहरीले दजनौ राउण्ड अश्रु ग्यास र गोली चलाएको थियो । सोही क्रममा प्रहरीको गोली लागेर चौधरीको मृत्यु भएको हो । यसैगरी मोरङको डाइनियामा समेत प्रहरी र मोर्चाको कार्यकर्ताहरु बीच झडप हुँदा प्रहरीको गोली लागेर डाइनिया– ९ का २५ वर्षिय शिबु माझीको मृत्यु भएको छ । चौधरी र ऋषिदेवको रंगेलीमा र माझीलाई डायनियाँमा भएको झडपमा प्रहरीको गोली लागेको थियो ।
यसैगरी मोरङको रंगेलीमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । रंगेलीको पूर्वतर्फ सात किलोमिटरमा पर्ने बक्रा खोला र पश्चिममा ५ सय मिटरसम्मको क्षेत्र र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू लगाएको छ ।
रंगेलीको घटनापछि आक्रोशित मोर्चाका कार्यकर्ताले भने डाइनिया प्रहरी चौकीमा आगजनी गरेका छन् । यसैगरी प्रर्दशनकारीले रंगेलीमा भएको एमालेको सभामा सहभागी भएर फर्किरहेको बसमा बडंगा भन्ने ठाउँमा आगजनी गरेका छन् ।
