राजविराज, ७ माघ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले जारी मधेश आन्दोलन राष्ट्रिय एकता अखण्डता मजबुत गर्ने आन्दोलन भएकोले तत्काल माग सम्बोधन हुनुपर्नेमा जोड दिएका छन् ।
सप्तरी सदरमुकाम राजविराजमा विहीवार आयोजना गरिएको कार्यकर्ता भेंटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेश आन्दोलनको माग सम्बोधन भए राष्ट्रिय एकता अखण्डता मजुबत हुने तर्क गर्दै कांग्रेस, एमाले र एमाओवादीलाई माग सम्बोधन गर्नका लागि गम्भीर बन्न आग्रह गरे ।
ऐतिहासिक शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुने दावी गर्दै अध्यक्ष महतो भने ‘यो शान्तिपूर्ण आन्दोलन यदी असफल भयो भने देश हिंसातर्फ उन्मुख हुने निश्चित छ, यसले देशको हित कदापि गदैन ।’ प्रदेशको माग असफल भए अलग मधेशको माग गर्नेहरुलाई बल पुग्ने र त्यसपछि साम्प्रदायिक सद्भाव बिथोलिने खतरा रहेको उनले दावी गरे ।
मधेशी जनताको भावनालाई बेवास्ता गरेर ठूला दलहरु अगाडि बढे देशमा ठूलो दुर्घटना हुने निश्चित रहेको बताउँदै सद्भावना अध्यक्ष महतोले भने ‘करिब साढे पाँच महिनाको आन्दोलनको माग सम्बोधन भएन भने यसपछि देशमा कुनै ठूलो दुर्घटना भए त्यसको सम्पूर्ण जिम्मेवार सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहाल हुनेछ ।’ तीन ठूला दलको रबैयाले मधेशी जनताको धैर्यताको बाँध फुट्न लागको भन्दै उनले तीन दलको होस ठेगानमा नआएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने बताए ।
वार्ताको नाममा सरकारले नौटंकी गरेर आन्दोलनलाई कमजोर पार्ने षडयन्त्रमा लागेको आरोप लगाउँदै नेता महतोले त्यस्तो वार्ताको औचित्य नरहेको प्रष्ट्याए । मधेश थरुहट प्रदेश नदिए अलग मधेशको माग गर्नेहरु समेत तम्तयार भएर बसेको भन्दै उनले प्रमुख तीन दललाई गम्भीर बन्न आग्रह गरे ।
मोर्चाले चाँडै बैठक बसी थप सशक्त संघर्षका कार्यक्रमहरु तय गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले भने ‘मोर्चा घटक राजनीतिक दलहरुको बैठक बसी थप सशक्त एवम् निर्णायक आन्दोलनका कार्यक्रमहरु तय गर्ने तयारीमा छौं । कार्यकर्ताहरुलाई आन्दोलनका लागि उच्च मनोबलका साथ तयार रहन समेत अध्यक्ष महतोले निर्देशन दिए । 
पार्टीका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सह–सचिव मनोज राउत, तराई मधेश राष्ट्रिय अभियानका नगर संयोजक दिनेश साह, कलाकार पशुपति दासलगायतका संगठनहरुबाट सद्भावना पार्टीमा प्रवेश गर्नेहरुलाई नेता महताले सदस्यता प्रदान गर्दै टिका लगाएर स्वागत गरेका छन् ।