लहान, ५ माघ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन ठुला दलका शीर्ष नेताहरु दलगत स्वार्थ भन्दामाथि नउठेसम्म मधेसको समस्या समाधान नहुने बताएका छन् ।
बलिदानी दिवसको अवसरमा मङ्गलवार सिरहाको लहानमा आयोजित बलिदानी दिवसलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । संविधान निर्माणका सूत्रधार तीन ठुला दलका शीर्ष नेताहरु दलगत स्वार्थ भन्दा माथि देश र जनताको पक्षमा सोच्नुपर्नेमा उनले जोड दिए ।
संविधान निर्माणमा एकमत भए जस्तै तीनै शीर्ष नेता मधेस समस्या समाधानको लागि पनि एकमत हुनुपर्ने भन्दै उनले अब कार्यदल मार्फत समस्या समाधान नहुने बताए । सरकार मधेसी मोर्चा बीच वार्ता गर्न गठित कार्यदलको औचित्य समाप्त भएको उल्लेख गर्दै उनले भने,‘अधिकारविहिन सरकारी वार्ताटोलीका नेताहरुसँग वार्ता गरेर फल प्राप्ति हुदैन । सकारी वार्ता टोली सबै कुरा शीर्ष नेताहरुसँग छलफल गरेर गर्छु भन्छन उनले थपे, ‘अधिकार बिनाको वार्ताटोली किन चाहियो ?’ अब शिर्ष नेतासंग मात्रै वार्ता हुने उनको भनाई थियो ।