• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तीन महिनामै राजविराजबाट उड्ला त विमान ?

न ग्राभेल, न कालो पत्रे नत घेरबेर
श्यामसुन्दर यादव
राजविराज, ३ माघ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पर्याप्त भौतिक पूर्वाधार तयार भईसकेका राजविराजसहित विमानस्थलहरुमा तीन महिनाभित्र उडान सञ्चालन गर्ने निर्णय विहीवार गरेको छ ।
हवाई उडान सञ्चालनको लागि पर्याप्त भौतिक पूर्वाधार तयार भईसकेका राजविराजसहित १७ ओटा विमानस्थलहरुमा तीन महिनाभित्र हवाई उडान सञ्चालन गर्न समितिले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो । हवाई सेवा सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार नभएका वा आवश्यक भौतिक पूर्वाधार तयार गर्न ठूलो खर्च लाग्ने विमानस्थलहरु के गर्ने भन्ने सम्बन्धमा समेत अध्ययन गरी रायसहितको प्रतिवेदन समितिसमक्ष एक महिनाभित्र पेश गर्न समेत निर्देशन दिईएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य सांसद अशोक कुमार मण्डल ‘अमर’ले बताए । विमानस्थलबाट विमान उडाउनका लागि आफू प्रयासरत रहेको जानकारी दिँदै जसरी भए पनि तीन महिनाभित्रै जहाज उड्ने उनले दावी गरे ।
सप्तरीको ईटहरी बिष्णुपुर गाविसमा अवस्थित राजविराज विमानस्थललाई पर्याप्त भौतिक पूर्वाधार तयार भईसकेका विमानस्थल भनिए पनि यो विमानस्थलको कथा व्यथा भने दर्दनाक एवम् भयावह रहेको छ । २०१६ सालमा तत्कालिन यातायात मन्त्री स्व. गणेशमान सिंहले शिलान्यास गरिएको राजविराज विमानस्थलमा हालसम्म नियमित सेवा सञ्चालन हुन सकेको छैन ।
विगत साढे पाँच दशकदेखि विभिन्न पार्टी तथा उम्मेदवारहरु चुनावी एजेण्डा बनाए पनि एजेण्डा र प्रतिवद्धतामै सिमित हुन पुगेको छ । सप्तरीका जनप्रतिनिधीहरुले पटक–पटक राजविराज विमानस्थल, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज–कुनौली सडक निर्माणका कुरा उठाउँदैआएका छन् । यद्यपी ती सबैको अवस्थामा भने खासै परिवर्तन आउन सकेको छैन । 1
पर्याप्त भौतिक पूर्वाधार तयार भईसकेको विमानस्थल भनेर सम्बोधन गरिए पनि विमानस्थलमा २०६८ सालपछि कुनै पनि काम अगाडि बढ्न सकेको छैन । धावनमार्गको ग्राभेल कार्य करिब ९ सय मिटर मात्रै भएको थियो । ग्राभेल कार्यले पूर्णता पाउन नसकी रोकिएको कार्य हालसम्म बन्द रहेको विमानस्थलमा कार्यरत कर्मचारी दिलिपकुमार रायले बताए । उनका अनुसार धावनमार्गमा गरिएको ग्राभेल पनि हाल काम नलाग्ने अवस्थामा रहेको बताउँदै उनले भने ‘ ग्राभेल भएको करिब चार वर्ष भईसकेको छ, अहिले त ग्राभेलमा पनि दुबोलगायतका घाँसपात उम्रिसकेको छ, चारैतर्फ खुल्ला रहेकोले स्थानीयवासिन्दाहरुले चारैतर्फ बाटो नै बनाएका छन् ।4
घेरबेर गर्न फलामका केही खम्बाहरु मात्र गाडिएको तथा भौतिक संरचनाहरु समेत जीर्ण भइसकेको उनले बताए । कर्मचारी रायका अनुसार घेरबेर हुन नसकेकोले त्यस क्षेत्रका पशुचौपायाको चरणस्थल नै बन्न पुगेको छ । विमानस्थलका लागि निर्माण गरिएका भवनहरु समेत टुटफूट भई जीर्ण भईसकेको जानकारी दिँदै उनले भने ‘भवनको छाना समेत हावा हुरीले उडाएको वर्षौ भइसकेको छ, झ्यालहरु समेत अधिकांस काम नलाग्ने अवस्थामा छ, अन्य फर्निचर सामग्रीसमेत पुरानो भई खिया लागेको तथा काठका सामानहरु भने घुन किराले खाएको छ ।’ दैनिक कार्यालय सञ्चालनका लागि समेत सामग्रीहरुको अभाव रहेको उनले बताए ।
जिल्ला बिकास समिति सप्तरीको रु २ करोड र नागरिक उड्यन प्राधिकरणको रु २ करोड रनवे ग्राभेलका लागि बजेट छुट्याईएको थियो । रनवे ग्राभेल र हवाई मैदानको घेरवेरको काम गर्ने जिम्मा काठमाण्डौका कान्छा राम एण्ड रौहतास कन्सट्रक्सन कम्पनीले पाएको थियो । निर्माण कामको जिम्मा पाएको कम्पनीले तीन वर्ष यता फर्केर हेर्नसम्म नआएको स्थानीयवासिन्दाहरुको गुनासो छ ।
तीन महिनाभित्रै विमान उडाउने कुरा पहिलाको जस्तै वकमफुसे साबित हुने स्थानीय वासिन्दासमेत रहेका राजनीतिकर्मी नरेन्द्र प्रसाद यादवले बताए । ‘हालसम्म ग्राभेल पनि भएको छैन, ग्राभेल भएपछि कालोपत्रे गर्नुपर्ने हुन्छ, घेरबेर गर्नुपर्ने हुन्छ’ उनले भने ‘यति मात्र होइन, भौतिक पूर्वाधारको समेत व्यवस्थापन गर्नुपर्ने हुन्छ, यति धेरै काम तीन महिनाभित्र कुनै पनि हालतमा सम्पन्न हुन सक्ने अवस्था छैन । 2
राज्यपक्षले राजविराज विमानस्थललाई सौता जस्तै व्यवहार गर्दै आएको बताउँदै बीच–बीचमा यस्ता निर्णयहरु हुनु र उक्त निर्णय कार्यान्वयन नहुनु जिल्लावासीका लागि नौलो नभएको उनले टिप्पणी गरे । हाल चारैतर्फ खाली रहेकोले धावनमार्गमा मोटरसाइकल, साइकल, ट्रयाक्टर, बयलगाडा यातायातका साधनहरु चल्ने गरेको छ । यतिमात्र होइन, विभिन्न अवसरहरुमा बनभोज बनाउन जिल्लाको विभिन्न स्थानहरुबाट मानिसहरु आउने गरेको राजनीतिकर्मी यादवले बताए ।
करिब साढे पाँच दशक वितिसक्दा पनि राज्यले राजविराज विमानस्थललाई सञ्चालनमा ल्याउन नचाहेको स्थानीय वासिन्दा समेत रहेका संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहले बताए । ‘२०१६ सालपछि कैयौं नयाँ विमानस्थलहरु निर्माण भई सेवा सञ्चालन हुँदैआएको छ तर राजविराज विमानस्थललाई जानेरै राज्यले उपेक्षा गर्दैआएको छ’ उनले भने ‘ यसअघि पटक–पटकका निर्णयहरु कार्यान्वयन हुनसकेको छैन, विमानस्थलबाट नियमित उडान सञ्चालन भएमात्र प्रयास सार्थक मानिनेछ ।’ 5
२०६२ सालमा केही महिना विमानस्थलबाट हप्ताको दुईपटक सोमबार र बिहीबार काठमाडौँ उडान भर्दै आएको थियो । उडान सेवा बन्द भएपछि सगरमाथा अञ्चलका जनताहरू विमान चढ्न विराटनगर र जनकपुर जाने गरेका छन् । विमानस्थलमा हाल एक पियन र एक चौकीदार गरी दुई जना कर्मचारी कार्यरत छन् ।

तस्विरः शंकर यादव