राजविराज, ३ माघ । गत पुस २० गते करिब ६ बजेको समयमा प्रहरी चौकी झुटकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश सुव्बाको घटनामा संलग्न रहेको भन्दै एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
झुटकी गाविस वडा नम्वर ७ घर भएका विन्दुल यादवको छोरा अशोक कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । उक्त घटनामा प्रयोग भएको मोटरसाइकल सहित पक्राउ गरी अदालतबाट म्याद थप गराई गोली हानी कर्तव्य ज्यान मुद्दामा उनीमाथि थप थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् । उनका अनुसार उक्त हत्यामा संलग्न खुल्न आएका अन्य अभियुक्तहरुको खोजतलास कार्य जारी रहेको छ ।
नर्घो गाविस–६ स्थित झौरहा हाटबाट पैदल कार्यालयतर्फ जाँदै गरेको अवस्थामा उक्त बजारबाट अन्दाजी करिब सय मिटर उतर कल्भर्टमा पुग्दा मोटरसाइकल चढेर आएका व्यक्तिहरुले गोली हानी गम्भिर घाइते बनाएकोमा उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यू भएको थियो ।