राजविराज, ३० पुस । चोरी तथा डाका गरेको आरोपमा हिरासतमा रहेका सप्तरीका चार आन्दोलनकारी विहीबार धरौटीमा रिहा भएका छन् ।
सप्तरी जिल्ला अदालतको आदेशमा उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् । डाका र चोरी मुद्दाका आरोपी सप्तरीको भारदह वडा नम्वर–१ क कृष्णकुमार पायक र भारदह वडा नम्वर–९ घर भएका सञ्जिव कुमार यादव चालीस हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
यस्तै सप्तरीको भारदह वडा नम्वर–४ का रजनिश कुमार झा र पोर्ताहा वडा नम्वर–३ का मनराज मण्डल पाँच हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको भारद–पोर्ताहा मोर्चाका संयोजक विरेन्द्र माझीले जानकारी दिएका छन् । रिहा भएका चारै जनालाई मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले स्वागत गर्दै नगरपरिक्रमा गराएका छन् । राजविराजको विभिन्न भाग परिक्रमा पश्चात स्थानीय सहीद दशन चौकमा पुगी सभामा परिणत भएको थियो ,।
मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सूर्यनाथ यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, युवा विद्यार्थी मोर्चाका संयोजक तारकेश्वर यादव, नेकपा–माओवादीका भूपेन्द्र यादव, चन्द्रनारायण दासलगायतले आन्दोलनमा सक्रिय भूमिका निभाउँदैआएका युवा विद्यार्थीहरुलाई विभिन्न बहानामा पक्राउ गरी प्रहरीले झुठा मुद्दा लगाएर फँसाउने गरेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न स्थानीय प्रशासनसँग माग गरेका छन् । उनीहरुलाई गत पुस ३ गते प्रहरीले पक्राउ गरेको थियो ।
सप्तरी प्रहरीले ९ जनामाथि डाका तथा ४ जनामाथि चोरी मुद्दा लगाएको छ ।