श्यामसुन्दर यादव
राजविराज, २९ पुस । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका सप्तरीको राजविराज नगरपालिका–७ का ३२ वर्षिय भुवनेश्वर साह ‘बेलचन’लाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
गत मंसिर ५ गते जिल्लाको रुपनी बजारमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा आयोजित राजमार्ग केन्द्रित आन्दोलनका क्रममा उनलाई पेटमा गोली लागेको थियो । पेटमा गोली लागेर तत्कालै भूइँमा ढलेपछि उनलाई पछिबाट बचाउन आएका जमुनी–मधेपुरा–९ का नागेश्वर यादवमाथि समेत प्रहरीले गोली प्रहार गरेको उनले बताए ।
आफूलाई गोली लागेपछि केही मिनेट होसमै रहेको बताउँदै बेलचनले भने ‘पेटमा गोली लागेर भूइँमा ढलेपछि प्रहरीहरु दौडेर गाली गर्दै कोही बन्दुकको कुन्दा र कोही बुटले प्रहार गरिरहे, मलाई गोली लागेको छ भन्दा पनि कसैले बिन्ति सुनेन । केही मिनेटपछि आफू पूर्ण रुपमा बेहोस भएपछि उनीहरुले मरेको ठानेर गएको स्मरण गर्दै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा केही दिनपछि मात्र आफू अलि होसमा आएको उनले जानकारी दिए ।
मोर्चाले आयोजना गर्ने हरेक कार्यक्रमहरुमा आफूले सक्रिय सहभागिता जनाउँदैआएको जानकारी दिँदै उनले भने ‘त्यो दिन म र जितु राती ११ बजेको समयमा रुपनी पुग्दा अश्रँृग्यास र लाठीचार्ज शुरु भइसकेको थियो, प्रहरीले लखेट्न थालेपछि हटिया हुँदै पुनः राजमार्गतर्फ भाग्ने क्रममा प्रहरीले ममाथि गोली प्रहार ग¥र्यो, टाउँकोमा लगाएको हेल्मेट पनि कुट्दा–फोडिदिएको र हेल्मेटकै सिसाले निधार समेत काटियो ।’ धरानमा उपचारमा औषधी र बेडचार्ज निःशुल्क पाएको एक साता अघिमात्र आफू डिस्चार्ज भई राजविराज स्थित निजी निवासमा आराम गरिरहेको बेलचनले बताए ।
राजविराजबाट प्रत्येक साता धरान जानुपर्ने बाध्यता रहेकोले एम्बुलेन्स खर्च जुटाउन समेत समस्या भएको उनले बताए । ‘दुई महिनादेखि पसल समेत बन्द छ, १० लाख रुपैयाँ ऋण काढेर टेण्टमा लगानी गरेको थिएँ, त्यो ऋणको व्याजसम्म तिर्न पाएको छैन । गोली लागेका बेला शरिरबाट अत्यधिक रगत बगेका कारण फलफूल, जुस ईत्यादी पौष्टिक आहार खानुपर्ने भएकोले खर्च जुटाउन समस्या भएको उनले सञ्चारकर्मीहरुसमक्ष दुःखेसो पोखे । बालबच्चाको पढाई खर्च, घर खर्च र औषधि उपचारमा समेत समस्या परेको बताउँदै उनले भने ‘घर परिवारको सहारा बन्नुपर्ने अवस्थामा आफैं अरुको सहारामा बाँच्नुपर्ने अवस्था रहेकोले मेरो पीडा बुझेर आर्थिक सहयोग जुटाई दिन आन्दोलनरत पक्षसँग आग्रह छ ।’
आफू धरानमा उपचार गराई रहँदा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल गोली लागी घाइते भएका सुनसरीका तस्करहरु भेट्न गएको तर आफूहरु छेउँमै रहँदा समेत नभेटेको बेलचनको गुनासो छ । आफूलाई भेट्न मधेशवादी दलका केहीमात्र नेताहरु भेट्न आएको बताउँदै उनले भने ‘बाँच्छु भने आश मलाई थिएन तर चिकित्सकहरुको अथक प्रयास र शुभेच्छुहरुको सहयोगमा पुनर्जिवन पाएको छु, म सबैप्रति आभारी छु ।’ अधिकारप्राप्तिका लागि जारी आन्दोलनका क्रममा धरानमा सघन उपचारमा रहेका सहयोद्धा मधवापुरका रघु साफीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । उनलाई टाउकामा गोली लागेर आँखाबाट निस्केकोले अझैं उनी होसमा नआएको बताउँदै उनले भने ‘घाइतेहरुको उपचारमा विशेष ध्यान पुर्याउनसमेत आग्रह छ । सम्पूर्ण माग पुरा नभएसम्म आन्दोलन जारी राख्न आन्दोलनकारीहरुसँग आग्रह गर्दै उनले भने ‘बाँचेर मधेशी जनता अधिकारसम्पन्न भएको समृद्ध मधेश हेर्न चाहन्छु ।’
उनलाई पेटमा गोली लागेका कारण पिसाब र दिसा गर्ने नली समेत काटिएको थियो । चिकित्सकहरुले अप्रेशन गरेर सानो आन्द्रालाई काटेर झिकिएको छ भने दिसा अझैं पनि प्लाष्टिकको थैलामा गर्नुपरेको छ । मलद्वार नली थैलामै जोडिएको छ । उनले आफै उठबस गर्ने अवस्था नरहेको बेलनका दाजु प्रमेश्वर मण्डलले जानकारी दिए । उनका अनुसार बेलचनको ढाडमा समेत समस्या रहेको तथा दाहिने खुट्टासमेत नचल्ने अवस्था छ । भाइलाई बचाउन व्यवसाय समेत बन्द राखेर करिब दुई महिनादेखि स–परिवार स्याहार–सुसारमा लागेको उनले भने ‘भाइको उपचारमा आ–आफ्नो स्थानबाट सहयोग गरिदिन आग्रह छ ।’