• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

देव हत्याको सिआइबी छानबिन गर्न अधिकारकर्मीहरुको माग

देव हत्याको सिआइबी छानबिन गर्न अधिकारकर्मीहरुको माग

राजविराज, २८ पुस । सप्तरीको राजविराज–६ का ३० वर्षीय युवा जितेन्द्र नारायण देवको हत्या भएको तीन महिना वितिसक्दा पनि ठोस अनुसन्धान हुन नसकेको भन्दै दुई दर्जन अधिकारवादी संस्था तथा प्रवुद्धहरुले हत्याको सिआइबी छानबिन हुनुपर्ने माग गरेका छन् ।

काठमाण्डौस्थित मधेश मिडिया हाउसमा पीडित परिवारको तर्फबाट भाइ चन्द्रनारायण देवले घटनाबारे मानव अधिकारवादी, संञ्चारकर्मी, राजनीतिक दलसमेतसँ पत्रकार सम्मेलनमार्फत हत्याको छानबिन तथा दोषीमाथि कडा कार्वाही गर्न पहलका लागि माग गरेका थिए । मृतक भाइ चन्द्रनारायण गरेको आग्रह पछि काठमाण्डौस्थित २५ जना अधिकारकर्मी एवम् नागरिक समाजका व्यक्तिहरुले सिआइबी छानबिनको माग गरेका हुन् ।
घटना भएको तीन महिना भइसक्दा पनि प्रहरी प्रशासनबाट ठोस पहल हुन नसकेको भन्दै घटनाको गहन छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न अधिकारवादीहरुले माग गरेका छन् । घटनाको तत्काल निष्पक्ष उच्चस्तरीय सिआइबी छानबिन हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति र सुरक्षाको प्रत्याभूति दिलाउन समेत उनीहरुले माग गरेका छन् ।
मनोज नामले चिनिने जितेन्द्रकोे शव बरहीबीरपुर चौकदेखि करिब पाँच सय मिटर पश्चिम नहरमा कार्तिक ३ गते विहान फेला परेको थियो । युनिक एजुकेसनल एकेडेमीमा डिप्लोमा इन फार्मेसी प्रथम वर्षमा अध्ययनरत ३० वर्षिय देव असोज ३० गते शनिवार साँझ करिब ४ बजेको समयमा साइकल चढेर घरबाट हिँडेका थिए । अबेर साँझसम्म पनि घर नफर्केपछि आफूहरुले दाजुको खोजी कार्य तीब्र पारेको थिए । दाजु घर फर्किन्छ कि भन्ने आशमा बसेको अवस्थामा विहान भिनाजुमार्फत बरहीबिरपुर नहरमा शव फेला परेको जानकारी पाएको मृतकका भाइ चन्द्रनारायणले बताए ।
कान काटिएका, दाहिनेतर्फ कानदेखि तलसम्म गम्भीर चोट तथा निलडाम भएको अवस्थामा उनको शव रगतमा लतपतिएको अवस्थामा फेला परेको थियो । मृतकका भाइले घटनाको विषयमा छानबिन तथा अनुसन्धान गर्न पटक–पटक जिल्ला प्रहरी कार्यालय धाउँदैआएका छन् । उक्त घटनामा अनुसन्धानको नाउँमासमेत हालसम्म कोही पनि पक्राउ परेको छैन ।