राजविराज, २५ पुस । वौद्धिक समाज सप्तरीका सल्लाहकार एवम् राजनितिज्ञ खुसीलाल मधेशी दल भुलभुलैयामा फँसेको र मधेश आन्दोलन अन्योलमा परेको वताएका छन् ।
वौद्धिक समाज सप्तरीले शनिवार राजविराजमा आयोजना गरेको ‘मधेश आन्दोलनः अवस्था एवम् स्थिति’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै मण्डलले यस्तो वताएका हुन् । मुलुकका सत्ता सञ्चालकहरुले ईतिहासदेखि नै मधेशी जनतामाथि राजनितिक वेईमानी गर्दै आएको वताएका उनले त्यहि वेईमानीको भुलभुलैयमा मधेशी दल फँसेको उनले तर्क राखे ।
मधेश मुक्तिको एउटै एजेण्डा भएर पनि मधेशी दलहरु एक ठाउँमा आउन नसकेको तथा आफ्नै निर्णयमा टिकिरहन नसकेका कारण आन्दोलन अन्योलमा परेको भन्दै उनले भुलभुलैयाबाट मुक्त हुन र उपलब्धि हात नपरेसम्म जनताको जोशलाई सेलाउन नदिन आग्रह गरे । ‘तीन दिनदेखि मधेशी दलहरुको बैठक बसेको वसै छ, तर निर्णय केहि हुन सकेको छैन’ मण्डलले भने–‘यहि कारणले आन्दोलन अन्योलमा परेको छ, यसलाई निरन्तरता दिएर उपलब्धि हाँसिल गर्नेतर्फ लाग्नु जरुरी छ ।’
वर्तमान केपी ओली नेतृत्वको सरकार ईतिहासमै सबैभन्दा प्रतिगामी र क्रुर भएको दावी समेत गरेका उनले ‘नेपालको संविधान–२०७२’ प्रतिगमन र क्रुरताको दस्तावेज भएको तर्क गरे । ‘मैले महेन्द्रदेखि ज्ञानेन्द्रसम्मको राजतन्त्र भोगेको छ र प्रवास, जेलनेल सवै काटेको छु । तर, अहिलेको जस्तो क्रुर सरकार मैले अहिलेसम्म भोगेको छैन’ मण्डलले भने–‘अधिकार प्राप्तीको लागि उठेको आवाजलाई बन्दुकको भरमा तह लगाउन खोज्नु र ५ दर्जन मधेशीलाई गोलीले उडाउनु यो भन्दा क्रुरता अरु के हुनसक्छ ?’
पछिल्लो समयमा सिमांकनको विषयलाई केहि समय थाँती राखेर मधेशको समस्या समाधन गर्न तीनदलका नेताहरु अग्रसर भएर लागेको बताउँदै उनले बहानावाजी गरे फेरी पनि मधेशलाई अधिकार विहिन नै बनाउने षडयन्त्र सुरु भएको वताए । ‘१० वर्षदेखि सिमांकनको विषय चर्चामा छ, अहिलेसम्म नमिलेको कुरा १÷२ महिनामा मिल्छ भन्नु भ्रम छर्ने काम मात्रै हो । त्यसैले सवै समस्याको समाधान एकै पटक खोज्नुपर्छ ।’–उनले भने ।
समाजका अध्यक्ष अमरकान्त झाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा पुर्व मन्त्री मृगेन्द्रकुमार सिंह यादव, पुर्व सांसद शिवचन्द्र मिश्र, प्याब्सन अध्यक्ष पञ्चदेव यादव, अधिवक्ता देवनारायण यादव, मविव क्याम्पस राजविराजका सहायक क्याम्पस प्रमुख मिथिलेश कुमार यादव, पुर्व क्याम्पस प्रमुखद्वय डा. रामखेलावन यादव र डा. चिरञ्जीवलाल देव, प्राध्यापक गजेन्द्रप्रसाद सिंह यादव, प्रा. विमलकान्त झा, प्रा. देवनारायण यादव, हरिनारायण मण्डल, अधिवक्ता विष्णकुमार मण्डल, विनोदकुमार मण्डललगायतले मन्तव्य व्यक्त गरे । समाजका सचिव अनिलकुमार अनलले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उदेश्यकबारे जानकारी गराएका थिए ।
राजविराज, २५ पुस । स्वतन्त्र मधेश गठबन्धनले शनिवार सप्तरीको मलेकपुर गाविसमा आयोजना गरेको कार्यक्रम प्रहरी अवरोधका कारण बिथोलिएको छ ।
खुरहुरिया र मुसहर्नियामा आयोजना गरिएको कार्यक्रम प्रहरी अवरोधले गर्दा बिथोलिएको हो । शनिवार करिब ९ बजेको समयमा वडा नम्वर ६ खुरहुरियामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा प्रहरी टोली पुगेपछि कार्यक्रम स्थगन गरिएको गठबन्धनका जिल्ला संयोजक सुरेन्द्र मधेशीले जानकारी दिए । उनका अनुसार आफूहरुलाई प्रहरीले गिरफ्तार गर्ने प्रयास गरेको थियो । खुरहुरियामा आयोजित कार्यक्रम स्थलबाट प्रहरीले पम्पलेट, सदस्यता फारम, पर्चा लगायतका सामग्रीहरु नियन्त्रणमा लिएको जनाइएको छ ।
यसैगरी मलेकपुर गाविस वडा नम्वर ९ मुसहर्निया टोलमा आयोजना गरिएको प्रशिक्षण तथा सदस्यता विस्तार कार्यक्रम समेत प्रहरी अवरोधले गर्दा स्थगन गरिएको संयोजक मधेशीले बताए । उनका अनुसार कार्यक्रम स्थलमा प्रहरी पुगेपछि सहभागीहरु घरतर्फ लागेका थिए ।