• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आन्दोलनमा बालबालिकालाई सहभागी नगरियोस्ः अध्यक्ष गुप्ता

आन्दोलनमा बालबालिकालाई सहभागी नगरियोस्ः अध्यक्ष गुप्ता

राजविराज, २४ पुस । राष्ट्रिय बाल क्लव सञ्जालका राष्ट्रिय अध्यक्ष सुरेश गुप्ताले आन्दोलनका कुनै पनि कार्यक्रममा बालबालिकाहरुलाई सहभागी नगराउन राजनीतिक दलहरुसँग आग्रह गरेका छन् ।
जिल्ला बाल क्लव सञ्जाल सप्तरीद्वारा राजविराजमा आयोजित ‘जारी मधेश आन्दोलन र बालबालिकाको सवाल विषयक अन्तरक्रिया एवम सम्मान कार्यक्रम’मा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । शान्तिपूर्ण वातावरणमा बालबालिकाले पढ्न पाउनु नैसर्गिक अधिकार भएको प्रष्ट्याउँदै उनले भने ‘आन्दोलनका कुनै पनि कार्यक्रमहरुमा बालबालिकाहरुलाई सहभागी नगराउन हाम्रो आग्रह छ, अन्यथा सञ्जाल समेत बालबालिकाहरुको हक अधिकारकालागि आन्दोलन गर्न बाध्य हुनेछ ।
जारी मधेश आन्दोलनका कारण मधेशका जिल्लाहरुका बाललिकाहरुको पठन–पाठन प्रभावित भएको भन्दै उनले प्रत्येक जिल्लामा पठन–पाठनको सहज वातावरण बनाउन सरोकारवालाहरु गम्भीर बन्नुपर्नेमा जोड दिए । आन्दोलनले गर्दा बालबालिकाहरुमा त्रास बढेको भन्दै उनले भने ‘बालबालिकाहरुको भविष्यप्रति चिन्तित बन्न सञ्जालको आग्रह छ ।’
कार्यक्रममा बालबालिकाहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिँदै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र प्रसाद साहले बालबालिकाहरुले शान्तिपूर्ण वातावरणमा पढ्न पाउनुपर्ने वातावरण निर्माण गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । जारी बन्द हड्तालका बावजुद पनि विद्यालयमा पठन–पाठनमा अवरोध नपुर्याएको भन्दै कही कतै समस्या आए आफूहरुलाई जानकारी गराउन सञ्जालसँग आग्रह गरे ।2
सञ्जालका जिल्ला अध्यक्ष अमर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बौद्धिक समाजका संयोजक प्रा. अमरकान्त झा, प्रेस स्वतन्त्र सेनानी बैद्यनाथ झा, बुद्धिजिवी विजयानन्द झा, मधेशी मोर्चाका जिल्ला संयोजक कपिलदेव यादव, प्रा. दयानन्द गोइत, मोर्चाका क्षेत्रीय संयोजक लक्ष्मण यादव, नगर संयोजक उमेश साह कमाण्डो, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादव, कार्यक्रम संयोजक दिवाकर साहलगायतले बालबालिकाहरुद्वारा सोधिएका जिज्ञासाहरुको समाधान गरेका थिए ।
सोही अवसरमा उत्कृष्ट जिज्ञासा राख्ने प्रथम, द्वितीय र तृतीय हुने क्रमशः ह्याप्पील्याण्ड उच्च माध्यमिक विद्यालय, दुर्गा सेकेण्ड्री स्कूल र केशो अनिरुद्धवती माध्यमिक विद्यालयका छात्रछात्राहरुलाई पुरस्कृत गरिएको छ । कार्यक्रम सञ्चालन पुष्कर झा गरेका थिए ।