राजविराज, २३ पुस । भारतको दिल्लीमा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग नेपाली कांग्रेसका उप–सभापति रामचन्द्र पौडेलले बिहीवार भेंटघाट गरेका छन् ।
चार दिने भारत भ्रमणमा रहेको पौडेलले एक होटलमा बिश्राम गरिरहेका नेता महतोसँग भेंटघाट गरेका हुन् । उनले नेता महतोसँगको भेंटमा स्वास्थ्य अवस्था र देशको वर्तमान राजनीतिक अवस्थाबारे छलफल गरेका छन् । प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो भारतको दिल्ली स्थित मेदान्त अस्पतालमा लामो उपचार पश्चात बुधवार डिस्चार्ज भई एक होटलमा बिश्राम गरिरहेका छन् ।
चिकित्सकहरुको विशेष निगरानीमा विगत ६ दिनदेखि उनको उपचार हुँदैआएको थियो । ब्लड प्रेशर र ब्लड सुगरको लेभलमा सुधार आइरहेको जनाइएको छ । एक हप्तापछि अस्पतालले फेरी बोलाएकोले करिब एक साता नेता महतो दिल्लीमै बस्ने कार्यक्रम रहेको पार्र्टीले जनाएको छ । अध्यक्ष महतोको स्वास्थ्यमा समस्या आएपछि शुक्रवार थप उपचारका लागि काठमाण्डौबाट दिल्ली लगिएको थियो ।
बिहीवारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित दोभालसँग पौडेलले भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतका योग गुरु रामदेवको निमन्त्रणामा पतञ्जली योगपीठको धार्मिक कार्यक्रममा भाग लिन हरिद्वार उनी हरिद्वार पुगेका थिए । उक्त कार्यक्रममा सहभागी भई उप–सभापति पौडेलले राजनीतिक भेंटघाटलाई तिब्रता दिएका थिए ।
उनले बुधवार भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजसँग भेंटघाट गरेका थिए । भारतीय पक्षले लगाएको नाकाबन्दी, मधेश आन्दोलनलगायतका विषयहरुमा छलफल भएको जनाईएको छ । उप–सभापति पौडेल बिहीवार राति ११ बजे स्वदेश फर्किने कार्यक्रम रहेको जनाईएको छ ।