राजविराज, २१ पुस । सप्तरीको झुटकी प्रहरी चौकीमा कार्यरत सहायक प्रहरी निरीक्षक असई रमेश कुमार सुब्बालाई गोली हानी हत्या गर्ने व्यक्तिलाई सुट एण्ड साईडको निर्देशन दिइएको जनाइएको छ ।
उनको हत्यामा संलग्न व्यक्ति तथा समूह फेला परेमा तत्कालै गोली हान्नेसम्मको आदेश दिएर आधुनिक हतियारसहितको टोली सप्तरीमा परिचालन गरिएको हो । सप्तरीको झुटकी गाविस स्थित प्रहरी चौकीमा कार्यरत सुब्बालाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका व्यक्तिहरुले सोमवार साँझ गोली हानी हत्या गरेका थिए । उक्त घटनाको जिम्मेवारी अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतले लिएका छन् ।
झापा जिल्लाको भद्रपुर नगरपालिका–१० निवासी ४५ वर्षिय असई रमेश सुब्बाको हत्यामा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सप्तरी, सगरमाथा अञ्चल प्रहरी र क्षेत्रिय अनुसन्धान ब्यूरो टोली मङ्गलवारैदेखि परिचालन गरिएको छ । करिब सयको संख्यामा आधुनिक हतियारसहितको टोली सप्तरी र सुनसरीका सिमावर्ती ईलाका र गाउँहरुमा परिचालन गरिएको स्रोतले जनाएको छ । परिचालित उक्त टोलीलाई सुट एण्ड साईडको अधिकारसहितको निर्देशन दिइएको जनाईएको छ ।