राजविराज, २१ पुस । अमेरिकामा बस्दै आएका पाँच जना प्रवासी नेपालीले जारी मधेश आन्दोलनका सहीदहरुका लागि पठाएको आर्थिक सहयोग मङ्गलवार तीन जना सहिद परिवारलाई उपलब्ध गराईएको छ ।
प्रवासी नेपाली संगीता झा, अभिशेष झा, डा. अर्चना कायस्त, अञ्जय श्रेष्ठ र आयुष श्रेष्ठले संयुक्त रुपमा पचास हजार रुपैयाँ पठाएका हुन् । उनीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी सप्तरीका ६ जना सहिद परिवारकालागि उक्त रकम उपलब्ध गराएका छन् । संगीता राजविराज निवासी प्राध्यापक अमरकान्त झाकी छोरी हुन् । उनकै पहलमा उक्त रकम पठाइएको हो ।
अमेरिकाबाट पठाइएको उक्त रकम रामकृष्ण राउतकी पत्नी सुदामादेवी राउत, विरेन्द्र रामकी आमा विनादेवी राम र राजीव राउतकी पत्नी निलमदेवीलाई जनही ८ हजार तीन सयका दरले हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण कार्यक्रममा भारदहस्थित मधेशी मोर्चाका संयोजक विरेन्द्र माझी तथा स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यसअघि गत आइतवार राजविराज नगरपालिका–१ निवासी दिलिप कुमार साह र जमुनी मधेपुरा–४ का शिबशंकर दासका परिवारजनलाई प्राध्यापक झाले प्रति परिवार ८ हजार ३ सयका दरले आइतबार प्रदान गरेका थिए । प्रा. झासहितको टोलीले सहिद साहकी पत्नी पुनम साह र सहिद दासका पिता नारायण दासलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।