राजविराज, २० कार्तिक । मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीको आयोजनामा राजविराजमा सञ्चालित मधेश प्रिमियर लिगको सातौं दिन शुक्रवारको खेलमा यङ्ग क्रिकेट क्लव बरहीबिरपुर टिम विजयी भएको छ ।
राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयको मैदानमा सञ्चालित उक्त खेलमा यङ्ग क्रिकेट क्लव बरहीबिरपुर टस जितेर व्याटिङ्ग गर्दै २० ओभरमा ११६ रनको चुनौती मोडेल कलेज टिमलाई दिए । जसमध्ये राहुल सिंह ४३, छत्री राय ३८ र रबिन यादव १० रन लिए । यसैगरी अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।
बलिङ्गतर्फ मोडेल कलेज टिमका शारुख ३ विकेट लिए भने प्रशान्त, एमडि समसाद र इख्तिकार आलमले २–२ विकेट लिए । व्याटिङ्गतर्फ मोडेल कलेज टिम १८ ओभरमा ९० रन मात्र बनाए । जसमध्ये मोडेलका प्रशान्त २२ रन लिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेन ।
बलिङ्गतर्फ यङ्ग क्रिकेट क्लव टिमका विष्णु ३, रबि राय ३, रमेश यादव २ विकेट, छत्री राय र राहुल सिंहले एक–एक विकेट लिए । जसमध्ये यङ्ग क्रिकेट टिमका राहुल सिंह म्यान अफ द म्याच घोषित भएको आयोजक मेसुका अध्यक्ष ईञ्जिनियर सञ्जीवनारायण यादवले जानकारी दिए । उनका अनुसार शनिवारको पहिलो खेल मधेश लायन्स र गणपति टिम नेपाल तथा दोस्रो खेल युथ क्लव राजविराज र अर्नाहा टिम बीच हुनेछ ।