• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एमपीएलको चौथो दिन मधेशी हिरोज टिम विजयी

 

राजविराज, १७ कार्तिक । मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीको आयोजनामा राजविराजमा सञ्चालित मधेश प्रिमियर लिगको चौथो दिनको खेलमा मधेशी हिरोज टिम विजयी भएको छ ।
राजविराज स्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयको मैदानमा सञ्चालित उक्त खेलमा मधेशी हिरोज टिमले ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरको खेलमा १२० रनको चुनौती म्याक्सल ईलेवन स्टार टिमलाई दिए । जसमध्ये विष्णु मगर ३५, अजय झा १३, अजय मण्डल १४, काली र धीरजले ११–११ रन जोड्न सफल भए । बलिङ्गतर्फ म्याक्सल स्टारका तीर्थ, आदर्श र रोशनले दुई–दुई विकेट लिए भने अमन र रघुबीरले १–१ विकेट लिए ।
प्रतिउत्तरमा लक्ष्यलाई पछ्याउँदै म्याक्सल स्टारले निर्धारित २० ओभरमा ९७ रन जोड्दै अलआउट भए । जसमध्ये आनन्द मण्डल ३६ र रेशमले १३ रन जोड्न सफल भए भने खेलाडीले दोहोरो अंक जोड्न सकेन । जसमध्ये मधेशी हिरोजका अरबिन्द अधिकारीले निर्धारित ४ ओभरमा २२ रन खर्चेर ५ विकेट लिन सफल भए । सानु, अजय मण्डल र अजय झाले एक–एक विकेट लिए भने कालीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच मधेशी हिरोजका अरबिन्द अधिकारी घोषित भएको मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियनका सदस्य ई. प्रदीप कुमार मण्डलले जानकारी दिए ।
बुधवारको खेल मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियन र नेशनल च्याम्पियन बीच हुने युनियनका सदस्य सुरेन्द्र यादवले बताए ।