–नन्दलाल आचार्य
१. पृष्ठभूमि
भाषा विचार विनिमयको सशक्त माध्यम नै हो । निश्चित व्यवस्था र नियमको सीमामा आवद्ध हुनु भाषाको विशिष्ट विशेषता हो । विभिन्न विद्वान्हरूले बेलाबखतमा आ–आफ्नै तरिकाले भाषाका वारेमा आ–आफ्ना मतहरू सार्वजनिक गरे पनि मानव समुदायमा सरल, ठोस एवं सार्थकतवरले विचार प्रेषणको काम गर्ने यादृच्छिक वाक्प्रतीकहरूको व्यवस्था नै भाषा हो भन्न सकिन्छ । उत्तेजनाको प्रतिक्रियास्वरूप निश्चित ढाँचाका सीमित–असीमित वाक्यहरूको समुच्चय भाषामा हुन्छ । विश्व मानचित्रमा १,४७,१८१ वर्ग कि.मि. क्षेत्रफल ओगटेको नेपाल भौगोलिकरूपमा सानो भए पनि भाषिकरूपमा ठूलो छ । विश्वमा अस्तित्वमा रहेका भारोपेली, द्रविड, चीनी या एकाक्षरी, सेमेटिक–हैमेटिक, यूराल–अल्टाइक, काकेशियन, जापानी कोरियाई, मलय–पाँलिशियन, आस्ट्रो–एसियाटिक, बुशमैन, बांटू, सूडान र अमेरिकी परिवार गरी जम्मा १३ भाषा परिवारमध्ये भारोपेली, भोटचिनियाँ (भोटबर्मेली, चीनी या एकाक्षरी तिव्वती), आग्नेली (आस्ट्रिक) र द्रविड गरी चार परिवारका भाषा मात्र नेपालमा बोलिन्छन् । यस हिसावले नेपाल बहुभाषिक राष्ट्र हो ।
विगत पञ्चायतीकाल, बहुदलीयकालका नेपालको संविधानले नेपाली भाषालाई राष्ट्रभाषा र अन्य मातृभाषालाई राष्ट्रिय भाषा मान्दै आएकोमा अन्तरिम संविधान २०६३ र नेपालको संविधान २०७२ ले भने नेपाली भाषालाई सरकारी कामकाजको भाषामा सीमित राखेर अन्य भाषालाई पनि राष्ट्रभाषा भनेको छ । तर भाषिक अनुसूचीको व्यवस्था नगरी सबैलाई सालाखाला राष्ट्रभाषा मानेर राष्ट्रभाषाको वजन घटाएको छ । भारतले भने भारतीय संविधानको आठौँ अनुसूचीमा सूचीकृत १८ भाषामध्ये १८ औँ संविधान संशोधनबाट नेपाली भाषालाई समेत समावेस गरेको छ । (घोष, २००३ःपृ.के,२१७) २०५८ सालको जनगणनाअनुसार ४८.९८ प्रतिशत र २०६८ सालको जनगणनाअनुसार ४८.६१ प्रतिशत (११०५३२५५जना) नेपालीले नेपालमा नेपाली भाषा मातृभाषाको रूपमा बोल्छन् । त्यस्तै १,२८६,८२४ जनाले भारतमा नेपाली भाषा बोल्छन् । (घोष, २००३ःपृ.के,२१६) नेपालीहरू बहुभाषी, बहुसांस्कृतिक सम्पदा भएका जाति भनेर विश्वमा चिनिएका छन् । यही विविधतामा नै नेपालको राष्ट्रियता अडेको छ । आ–आफ्नै परम्परा एवं सांस्कृतिक पहिचान बोकेका भाषालाई राष्ट्रिय पहिचान दिएर नेपालको संविधानले मातृभाषाहरूलाई राष्ट्रका अमूल्य निधिका रूपमा स्विकारेको छ ।
विशेष गरी नेपालको पचहत्तरै जिल्लामा विभिन्नरूपले छरिरहेर रहेका पहाडी मुसलमानहरूले बोल्ने भाषा चुरौटी हो । २०६८ सालको जनगणनाअनुसार ४.२७ प्रतिशत मुस्लिममध्ये ९७ प्रतिशत तराईमा बस्छन् भने ३ प्रतिशत चाहिँ पहाडी क्षेत्रमा बसोबास गर्दै आएका छन् । वि. सं. २०४८, २०५८ र २०६८ सालको जनगणनामा पहाडिया मुसलमानलाई चुरेटा जाति भनी मुस्लिमभित्र पनि फरक जातका रूपमा देखाइएको छ । २०४८ सालको जनगणनाअनुसार ०.००९४ प्रतिशत अर्थात (१,७७८ जना) रहेकोमा २०५८ सालको जनगणनाअनुसार त्यो बढेर ०.०२ प्रतिशत अर्थात (४,८९३ जना) चुरौटी भाषीको सङ्ख्या पुगेको देखाइएको छ । त्यसै गरी वि.सं. २०४८ सालको जनगणनाअनुसार ०.००९४ प्रतिशत अर्थात (१,७७८ जना) रहेकोमा २०६८ सालको जनगणनाअनुसार त्यो बढेर …. प्रतिशत अर्थात (….जना) चुरौटी भाषीको सङ्ख्या पुगेकोे छ । चुरौटी भाषी कञ्चनरूप–८, सप्तरी निवासी जिब्राइल अलीकोे मतअनुसार महोत्तरीदेखि झापासम्म लगभग २५० परिवार चुरौटीहरू बसोबास गर्दछन् । नेपाली, मैथिली, भोजपुरी, अवधी, नेवारी, हिन्दी, थारू भाषी समाजको सदस्य भएकाले नबुझेर तिनै भाषालाई मातृभाषाको रूपमा ठानी तथ्याङ्क सङ्कलन भएको हुन सक्ने अनुमान अलीद्वयको छ । विशेष गरेर सप्तरी, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, पाल्पा, अर्घाखाँची, प्युठान, दैलेख, अछाम जिल्लामा चुरेटा मुसलमानहरूको बाक्लो बसोबास छ । अतः नेपालको ओझेलमा पर्दै गएका भाषाहरूमध्ये एक चुरौटी भाषा र नेपाली भाषाका बीच पदवर्गगत तुलनालाई प्रष्ट्याउने प्रयास यस आलेखमा गरिएको छ ।
२. पदवर्गगत तुलनात्मक अध्ययन
शब्दले वाक्यमा आएर गर्ने कार्यका आधारमा पदवर्ग ठम्याउने चलन छ । नेपाली भाषाका दृष्टिले हेर्दा नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियाविशेषण, नामयोगी, संयोजक, विस्मयाधिवोधक र निपात गरी शब्दवर्गलाई नौ भागमा विभक्त गरिन्छ । यसै आधारमा चुरौटी भाषाको अध्ययन गर्दा मनासिव ठहर्दछ । यहाँ सजिलाका निम्ति उदाहरणहरूमा नेपाली पछि चुरौटी भाषाको प्रयोग गरिएको छ ।
१. नाम– वाक्यमा प्रयुक्त क्रियामा ‘को’, ‘के’ भन्ने प्रश्न गर्दा उत्तर आउने र आवश्यकतानुसार यसका पछाडि ले, लाई जस्ता विभक्ति चिन्ह प्रयोग गर्न सकिने कुनै वस्तु, पदार्थ तथा तिनमा हुने गुण वा भाव व्यक्त गर्ने शब्द नै नाम हो । जस्तैः विमल गयो– विमल गया । मानिसहरूको सेवा गर– मान्छहरूको सेवा अर ।
परम्परागत ढङ्गले व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक र भाववाचक गरी नामलाई पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ–
क) व्यक्तिवाचक नाम– कुनै वस्तु, व्यक्ति, स्थान वा धारणालाई किटेर बुझाउने शब्दलाई व्यक्तिवाचक नाम भनिन्छ । जस्तै– रानी– रानी, राम–राम आदि ।
ख) जातिवाचक नाम– कुनै खास व्यक्ति वा वस्तुलाई नबुझाई सम्पूर्ण जातिको वोध गराउँछ । अर्को शब्दमा एउटै प्रकार वा जातका सबैलाई बुझाउने शब्द जातिवाचक नाम हो । जस्तै– जनावर– जनावर, माछा– मुछली आदि ।
ग) समूहवाचक नाम– दुई वा दुईभन्दा बढी व्यक्ति वा वस्तुको समूह बुझाउने शब्द समूहवाचक नाम हो । जस्तै– जोडा–जोडी, थुप्रो–थुप्रां, गोलो–गोला, झुप्पो–झुप्पा आदि । प्रायः नेपालीमा आकार हुँदा चुरौटीमा ईकार र नेपालीमा ओकार हुँदा आकारको प्रयोग गरिन्छ ।
घ) द्रव्यवाचक नाम– गिन्ती नहुने नाप वा तौल गरी परिमाणका आधारमा प्रयोग–व्यवहार गरिने पदार्थ बुझाउने शब्द द्रव्यवाचक नाम हो । जस्तै– चिनी– चिनी, माटो– माटा, पिठो–पिठा, मासु– गोस्त आदि ।
ङ) भाववाचक नाम ः वस्तु, पदार्थ आदिमा रहने गुण, भाव, कार्य, अवस्था आदि जनाउने शब्द भाववाचक नाम हो । जस्तै– वीरता– वीरता, दया– दया आदि ।
नामलाई मानवीय र मानवेत्तर, गणनीय र अगणनीय, सजीव र निर्जीव, मूर्त र अमूर्त आदि तरिकाले पनि भेद गरी अध्ययन गर्न सकिन्छ । जस्तै– बाख्रो–बख्र्री, दाजु–दाइ, चरा–चढिया, शान्ति–शान्ति, स्वर्ग–जन्नत, नर्क–दोजक, भगवान्– भगवान्÷अल्लाह आदि । पहाडी मुसलमानहरूले आपसमा ‘अल्लाह’ भने पनि हिन्दुहरूसँग वार्तालाप गर्दा ‘भगवान्’ नै भन्ने गर्दछन् ।
२ सर्वनाम ः सर्वनाम नाम वा संज्ञाको सट्टामा प्रयोग गरिन्छ । अर्को शब्दमा नाम, नाम पदसमूह तथा वाक्यका सट्टामा प्रयोग भई पुनरुक्ति हुनबाट रोक्न आउने शब्दलाई सर्वनाम भनिन्छ । यसलाई सट्टेनाम वा नामस्थानिक पनि भनिन्छ । यसलाई ५ प्रकारमा भेद गरी अध्ययन गर्न सकिन्छ–
(क) पुरुषवाचक सर्वनाम ः पुरुष वा व्यक्तिका सट्टामा आउने सर्वनाम पुरूषवाचक सर्वनाम हो । यसलाई समेत ३ प्रकारमा भेद गरी अध्ययन गर्न सकिन्छ–
प्रथम पुरूषवाचक सर्वनाम– कथनमा वक्ताको सन्दर्भ जनाउने सर्वनाम प्रथम पुरूष सर्वनाम हो । जस्तै –
नेपाली भाषा चुरौटी भाषा
म
हामी÷हामीहरू मुई
हाम÷हामहरू, हामेरू
द्वितीय पुरुषवाचक सर्वनाम– श्रोताको सन्दर्भ जनाउने सर्वनाम द्वितीय पुरुष सर्वनाम हो । जस्तै–
नेपाली भाषा चुरौटी भाषा
तँ
तिमी÷तिमीहरू
तपाईं
हजुर तु
तम÷तमरू÷तमहरू
तपाईं
हजुर
तृतीय पुरुषवाचक सर्वनाम– वक्ता र श्रोताबाहेकको सन्दर्भ जनाउने सर्वनाम तृतीय पुरुषवाचक सर्वनाम हो । जस्तै–
नेपाली भाषा चुरौटी भाषा
ऊ, उनी, यी, त्यो, ती, यिनी ऊ, यी, त्यो, ती,
(ख) दर्शकवाचक सर्वनाम– कुनै वस्तु, व्यक्ति वा धारणालाई तोकेर देखाउनका लागि प्रयोग हुने सर्वनाम दर्शकवाचक सर्वनाम हो । जस्तै –
सर्वनाम नेपाली भाषा चुरौटी भाषा
निकटवर्ती यो यो
दूरवर्ती त्यो त्यो
(ग) प्रश्नवाचक सर्वनाम– प्रश्न बुझाउने को, के र कुन आदि प्रश्नवाचक सर्वनाम हुन् । जस्तै ः
सर्वनाम नेपाली भाषा चुरौटी भाषा
निश्चय को का
अनिश्चय कोही, केही कोही, केहीे
(घ) सम्बन्धवाचक सर्वनाम –
जो, जे, जुन शब्दहरू सम्बन्धवाचक सर्वनाम हुन् । जस्तै ः
नेपाली भाषा चुरौटी भाषा
जो, जस्को जो, जै
द्रष्टव्य ः ‘उनी’को सट्टामा चुरौटीमा ‘ऊ’ को नै प्रयोग हुन्छ । त्यसै गरी ‘यिनी–यी, यिनीहरू– यिनीहरू÷यिनेरू, उहाँ÷उहाँहरू–यी÷यिनीहरू÷यिनेरू’को प्रयोग गरिन्छ ।
३ विशेषण ः नाम वा संज्ञाको विशेषता अथवा गुण दोषको वर्णन गर्ने शब्दलाई विशेषण भनिन्छ । अर्काे
शब्दमा भन्नुपर्दा नामसँग कुन, कस्तो, कत्रो, कति आदि प्रश्न गर्दा जवाफमा आउने शब्दलाई विशेषण भनिन्छ । यसलाई ५ प्रकारमा भेद गरी अध्ययन गर्न सकिन्छ–
(क) गुणबोधक विशेषण ः नाम वा नामिक पदकोे विशेषता, गुण, स्वरूप, दोष, जनाउने शब्द गुणबोधक विशेषण हो । जस्तै–
नेपाली भाषा चुरौटी भाषा
राम्रो राम्रा
पुरानो पुराना
(ख) सङ्ख्यावाचक विशेषण– विशेष्यको सङ्ख्यात्मक विशेषता बताउने शब्द सङ्ख्यावाचक विशेषण हो । जस्तै–
नेपाली भाषा चुरौटी भाषा
एक एक
दोहोरो दोहोरा
ग) परिमाणवाचक विशेषण– विशेष्यको परिमाण बताउने शब्द परिमाणवाचक विशेषण हो । जस्तै–
नेपाली भाषा चुरौटी भाषा
धेरै धेरै
थोरै थोरै
(घ) सार्वनामिक विशेषण– विशेष्यको अगाडि आएर विशेषता बताउने शब्द सार्वनामिक विशेषण हो । जस्तै –
नेपाली भाषा चुरौटी भाषा
कसको किताब कसका÷कैका किताब
यो मान्छे यो मान्छ
४ क्रिया ः जुन शब्दबाट कुनै काम हुने अथवा कुनै वस्तुको अस्तित्व रहेको सूचना पाइन्छ त्यसलाई क्रिया भनिन्छ । वाक्यमा विधेय भई घटना, कार्यव्यापार, स्थिति वा अवस्था बुझाउने शब्द क्रिया हो । क्रियालाई वाक्यमा समापक पदका रूपमा लिइन्छ । मुलतः वाक्यमा कर्ताले गरेको काम, घटेको घटना, परिस्थिति वा अवस्था वोध गराउने शब्द नै क्रिया हो । जस्तै –
नेपाली भाषा चुरौटी भाषा
खान्छु, खायो खातु, खाया
पठायो, पढ्छ पठाया, पढताई
हो होई
बनोटका आधारमा क्रियालाई निम्न भेदमा विभाजन गरी अध्ययन गर्न सकिन्छ –
(क) सरल क्रिया– एउटै मात्र धातुबाट बनेको क्रियालाई सरल क्रिया भनिन्छ । जस्तै–
नेपाली भाषा चुरौटी भाषा
ऊ धरान जान्छ । (धातु–जा) ऊ धरान जाताई । (धातु–जा)
म चश्मा किन्छु । (धातु–किन्) म चश्मा किन्तु । (धातु–किन्)
(ख) संयुक्त क्रिया– एकभन्दा बढी धातुबाट बनेको अथवा मुख्य र सहायक क्रिया मिली बनेको क्रिया नै संयुक्त क्रिया हो । जस्तै–
नेपाली भाषा चुरौटी भाषा
ऊ धरानतिर हिँडेको छ । ऊ धरानतिर हिँडेका हई ।
उसले भनिसकेको छ । उसले भनिसकेका था ।
५ अव्यय ः लिङ्ग वचन, कारक आदिका कारणले कुनै परिवर्तन नहुने शब्दलाई नै अव्यय भनिन्छ । अव्यय भनेको अविकारी शब्द हो । अव्यय रूपायन हुँदैन । अव्ययलाई मोटामोटी निम्न भेदमा विभाजन गरिएको छ –
(क) क्रियायोगी– क्रिया, विशेषण र क्रियाविशेषणको विशेषता तथा परिवेश बोधक शब्दलाई क्रियायोगी भनिन्छ । जस्तै–
नेपाली भाषा चुरौटी भाषा
वरिपरि वरिपरि
गरेर अरेर
(ख) नामयोगी– नामिक पद (नाम, सर्वनाम र विशेषण)सँग विभक्ति प्रत्ययझैँ जोडिई अर्थगत प्रभाव पार्ने शब्द नै नामयोगी हो । जस्तै –
नेपाली भाषा चुरौटी भाषा
तिमीबिना तमबिना
नीतिअनुसार नीतिअनुसार
(ग) संयोजक– दुई वा दुईभन्दा बढी शब्द, पदावली, उपवाक्य वा वाक्यहरूलाई जोडने अव्यय पद नै संयोजक हो । जस्तै –
नेपाली भाषा चुरौटी भाषा
राकेश विद्यालय जान्छ अनि पढ्छ । राकेश विद्यालय जाताई अनि पढाताई ।
तिमी नजाऊ किनभने उनीहरू आए । तिमी जिन्जाओ किनभने उनेरू आए ।
(घ) विस्मयादिवोधक– हर्ष, शोक, आश्चर्य, विस्मय आदि मनोभाव सूचित गर्ने र त्यसको सम्बन्ध कुनै वाक्य वा विशेष शब्दसँग नहुने पद विस्मयाधिवोधक कहलाउँछ । त्यसै गरी अर्को शब्दमा कुनै खास व्यक्ति वा वस्तुलाई नजनाई मनमा आउने हषर्, शोक आदि बुझाउने अव्ययलाई विस्मयादिवोधक भनिन्छ । जस्तै –
नेपाली भाषा चुरौटी भाषा
अहा ! हाय अहा ! हाय
ए ! ए !
(ङ) निपात– वाक्यमा प्रयोग भएर विशेष जोड दिई अर्थलाई प्रभाव पार्ने तर आफ्नो भने खास अर्थ नहुने अव्यय नै निपात हो । जस्तै –
नेपाली भाषा चुरौटी भाषा
हरि त घरमा छैन । पक्का बाहिर नै गएको छ । हरि त घरमा आथिन । पक्का बाहिर नै गएका हई ।
३. निष्कर्ष
शारीरिकरूपमा हेर्दा पहाडी बाहुन–क्षेत्रीजस्ता लाग्ने पहाडी मुसलमानहरूको मातृभाषा चुरौटी हो । यी मुसलमानहरू सत्रौँ शताब्दीको अन्त्यतिर बाइसे–चौबिसे राज्य भएकै बखत शासकहरूले बोलाएर दरबारमा राखेका हुन् । पछि नेपालको एकीकरणताका पृथ्वीनारायण शाहले समेत यिनीहरूबाट भरमग्धुर सहयोग लिएका थिए । विशेष गरी हतियार निर्माण गर्न, कार्यालयहरूमा कामकाज गराउन, कृषि औजार–गरगहना, भाँडाकुँडा बनाउन सिपालु भएकाले उनीहरूको सीपलाई उपयोग गर्न शासकद्वारा काठमाडौंलगायत अन्य भू–भागमा मौजा÷जिम्वाली दिएर राखिएको इतिहासले वताउँछ । यिनीहरू स्थायीरूपमा बस्न थाले थालेपछि जनसङ्ख्या वृद्धि हुन गई सरकारी सुविधाले अपुग हुन गयो । फलस्वरूप तीमध्ये केही चुरा, धागो, टीकाजस्ता सामग्रीहरूको व्यापार गर्न भित्री मधेस, पहाडी र हिमाली जिल्लाहरूमा समेत पुगे । व्यापार फष्टाउँदै गएपछि उतै स्थायी बसोबास गर्न थालेका हुन् । यसरी चुरा बेच्ने जाति भएकाले उनीहरूलाई ‘चुरेटा’ भनिन थालियो । र, उनीहरूले व्यापारिक दृष्टिकोणले बोल्ने भाषालाई चुरौटी भनिन थालियो । मधेसमा रहेका मुसलमानहरूले मैथिली भाषालाई मातृभाषाका रूपमा उपयोग ल्याउँछन् तर काठमाडौंलगायत अन्य उपत्यका, भित्री मधेस, पहाडी र हिमाली क्षेत्रमा रहेका मुसलमानहरू यही चुरौटी भाषालाई नै मातृभाषाको रूपमा प्रयोग–व्यवहार गर्छन् ।
यस भाषामा धेरै नेपाली, केही अरबी, केही फारसी र केही हिन्दी भाषाको मिश्रण छ । विशेष गरी नेपाली भाषाभन्दा फरक यसमा ‘तोरे, तन, होई’जस्ता शब्द÷प्रत्ययहरू जोडेर बोलिन्छ । नेपाली, मैथिली, भोजपुरी, अवधी, नेवारी, हिन्दी, थारूजस्ता भाषिक समाजमा रहेर पनि चुरौटी भाषा अरू कसैबाट प्रभाव ग्रहण नगरीकन पूर्व मेचीदेखि पश्चिम महाकाली, दक्षिण तराई–मधेसदेखि उत्तर हिमालसम्म एकनास रहेको कुरा चुरौटी भाषी कञ्चनरूप–८, सप्तरी निवासी जिब्राइल अली र शैयद अली वताउँछन् । अझसम्म कथ्यरूपमै सीमित रहेको चुरौटी भाषी पहाडी मुसलमानहरू घना बसोबास भएको निश्चित भूगोल नभए पनि निश्चित पहिचान छ, मौलिक भाषा छ र हिन्दुसँग मिल्ने निश्चित मुस्लिम संस्कार छ । अतः यिनीहरूको पहिचानलाई समेत अटाई नयाँ नेपालको निर्माण गरिनु आजको आवश्यक हो भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
सन्दर्भ–ग्रन्थ सूची
१. बराल, डा. ईश्वर (सं.) लगायत अरू (२०५५), नेपाली साहित्यकोश, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
२. चन्द्रेश, उमाकान्त (सं) (२०१०ई.), अर्पण, दरभङ्गा ः विद्यापति सेवा संस्थान, अङक–२७ ।
३. पराजुली, कृष्णप्रसाद (सं)(२०४०), नेपाली बृहत् शब्दकोश, काठमाडौँ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
४. ढकाल, घनश्याम (सं) लगायत अन्य (२०६७), माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, काठमाडौँ ः अखिल नेपाल लेखक संघ ।
५. …………………. (२०६२), यथार्थवादी नेपाली समालोचना, पोखरा ः गण्डकी साहित्य संगम ।
६. बन्धु, चूडामणि (२०५२), नेपाली भाषाको उत्पति, काठमाडौँ ः साझा प्रकाशन ।
७. शर्मा, दीप्ति (१९७५ ई.), व्याकरणिक कोटियोका विश्लेषणात्मक अध्ययन, पटना ः हिन्दी ग्रन्थ अकादमी ।
८. मिश्र, देवेन्द्र (२०६७) मैथिली सामान्य ज्ञान, राजविराज ः मैथिली साहित्य परिषद् ।
९. आचार्य, नन्दलाल; चौधरी, अभितकुमार र मिश्र, देवेन्द्र (२०६७–०६८), ‘भाषा सिकाइ’, राजविराज ः शिक्षा–दीक्षा शैक्षिक पत्रिका, पूर्णाङ्क १–१० ।
१०. आचार्य, नन्दलाल (२०६८), ‘कुरा मैथिलीको’, हिमाल खबरपत्रिका (वर्ष–२१, अङ्क–१४, पूर्णाङ्क–२९८)
११. पौडेल, नेत्रप्रसाद र खनाल, गणेशप्रसाद (२०६३), नवीन नेपाली व्याकरण, काठमाडौँ ः पैरवी प्रकाशन ।
१२. भण्डारी, पारसमणि (२०६३), स्नातकोत्तर नेपाली शिक्षा शोधविवरण, काठमाडौँ ः न्यू हिरा बुक्स इन्टरप्राइजेज ।
१३. पोखरेल, बालकृष्ण (२०४३), राष्ट्रभाषा, ललितपुर ः साझा प्रकाशन ।
१४. शर्मा, मोहनराज (२०६०), शब्दरचना र वर्णविन्यास, काठमाडौँ ः नवीन प्रकाशन ।
१५. शर्मा, मोहनराज र बराल, कृष्णहरि (२०५०), भाषाविज्ञान र नेपाली भाषा, काठमाडौँ ः काठमाडौँ बुक सेन्टर ।
१६. शर्मा, मोहनराज र लुइँटेल, खगेन्द्रप्रसाद (२०५२), शोधविधि, काठमाडौँ ः साझा प्रकाशन ।
१७. घोष, शंकर (सं.) (२००३ ई.), युनिक सामान्य अध्ययन, दिल्ली ः युनिक पब्लिकेसन्स ।
१८. अधिकारी, हेमाङ्गराज (२०५९), भाषा शिक्षणः केही परिप्रेक्ष्य तथा पद्धति, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
१९………………………….(२०५५), समसामयिक नेपाली व्याकरण, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
२०………………………….(२०६२), सामाजिक र प्रयोगिक भाषाविज्ञान, काठमाडौँ ः रत्न पुस्तक भण्डार ।