• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

नन्दलाल आचार्य

आमा त्यो आउँछ र ?
‘हो बा, त्यो आउँछ ।
त्यो विहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुण्डिएको, शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ,
त्यसैले ऊ अधर्मसित लड्नेछ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।’
(गोपालप्रसाद रिमालको ‘आमाको सपना’बाट)
पुरातनवादी सोचले जरा गाडेको यस समाजले सजिलै घुँडा टेक्दैन । चैतन्ययुक्त विद्रोहविना परिवर्तन सम्भव छैन । यस समाजको सोचविरुद्ध वैचारिक विद्रोह गर्नु आवश्यक छ । आजका शिक्षकले विवेकी र विचारवान जनशक्ति जन्माउने अठोट लिएर सफल बन्नुछ । जहाँ जति निरङ्कुशता हुन्छ, त्यहाँ त्यति अराजकताले ठाउँ ओगट्छ । जहाँ जति बढी स्वतन्त्रता हुन्छ, त्यहाँ त्यत्ति नै तीव्र गतिमा मौलिक विकासले गति लिन्छ । शैक्षिक अराजकता हट्नु भनेको विद्यार्थीको समुन्नत भविष्यको आधारशिला खडा हुनु हो । आजको पिँढीले कसैको स्तुतिगान गर्नु र कसैको प्रशंसाको भजन गाउनुपरेको छैन । स्तुति र प्रशंसा गरेर अनि प्रतिस्पर्धामा लडेर प्राप्त गरेको विजयको मालाले लाभ हैन जीवनलाई बोझिलो र निरस पार्छ । प्रेमलाई भगाएर, माया र सहानुभूतिको घाँटी दवाएर प्राप्त गर्ने प्रमाणपत्रको काम छैन । प्रतिस्पर्धा गर्न सिकाएर, अरूजस्तै बन्न लगाएर त आजको पिँढीले आफ्नो हैसियत र दायित्व भुलिरहेको छ । यसका लागि आजसम्मको शिक्षा कस्तो छ र कस्तो हुनुपथ्र्यो भन्ने कुरालाई बुभm्नु जरुरी छ, जसलाई यसरी समेट्न सकिन्छ–
१. अतीतमुखी– अतीत स्मृतिमा आधारित हुन्छ, बुद्धि जगाउने शिक्षा वर्तमानमुखी हुन्छ, भविष्यप्रति लक्षित हुन्छ । आजसम्मको शिक्षामा अतीतका कुरा नै पढाइन्छ । हिजोको युगलाई सम्बोधन गरेर लेखिएका सबै कुरा वर्तमानको फ्रेममा अट्न सक्दैनन् । अतीतका कुरा पढ्न थाल्दा वर्तमान नै ओझेलमा पर्छ र भविष्य अन्धकारमय हुन्छ । यही नियति हामी भोग्दै आएका छौँ । वर्तमान पढेकाहरूलाई भविष्यको चिन्ता हुन्न । वर्तमान पढेका मान्छेले स्वतः अतीत पनि बुझ्छन् । भविष्य पनि खोतल्छन् । तर, वर्तमान पढ्नबाट वञ्चितहरू सबैतिरबाट ठगिन्छन् । हामीलाई अतीतले जन्मायो, अतीतले हुर्कायो । तर, यी आजका नयाँ मान्छेलाई वर्तमानले जन्माएको छ । वर्तमानले नै हुर्काउनुपर्छ । नयाँ मान्छेको जीवन फूल बन्नुपर्छ, त्यसमा सुवास हुनुपर्छ र सौन्दर्य रहनुपर्छ । यसका लागि अतीतमुखी हैन वर्तमानमुखी शिक्षा दिनु÷दिलाउनु जरुरी छ ।
२. निश्चित– हाम्रो शैक्षिक नीतिमा पाठ्यक्रम, पाठ्यपुस्तक तयार पारिएको छ । शिक्षकलाई तालिम दिइएको छ । यस कक्षा वा स्तरमा यत्ति कुरा मात्र पढाउनुस् भनेर निश्चित कुरा तोकिएको छ । के तोकिएको शिक्षाले, तौलिएको शिक्षाले जीवन छिचोल्न सक्छ ? उचालेको कुकुरले मृग मार्न सक्छ ? सीमित ज्ञानले जीवनको अथाह गहिराइ पत्ता लगाउन सक्छ ? असम्भव ! शिक्षालाई निश्चित गरिनु प्रमाणपत्र प्राप्त गर्न, गराउन सहज तुल्याउनु मात्र हो । वास्तवमा मानवका लागि शिक्षा अनिश्चित हुन्छ । अनिश्चित ज्ञान दिएर सम्भव छैन । विद्यार्थी स्वयम्ले ज्ञान लिने परिपाटीको विकास हुनु आवश्यक छ । शिक्षकशिक्षिकाले त त्यसको पूर्वाधारको जग बसाल्ने हो, बाटो निर्देशित गर्ने, गराउने हो । त्यसप्रति वर्तमान शैक्षिक व्यवस्था अनविज्ञझैँ छ ।
३. ‘टु पुस इन’मा आधारित– शिक्षाले सिकारुको प्रतिभा प्रस्फुटनमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकी अतीतमा सार्वजनिक भइसकेका सूचना र जानकारीहरू सिकारुको मनमा भित्र्याउने काम मात्र गरिरहेको छ । ‘टु ड्राउ आउट’को सिद्धान्तले सिकारुभित्रका कुरा बाहिर ल्याऊ भन्छ भने ‘टु पुस इन’को सिद्धान्तले बाहिरका कुरा जबरजस्त भए पनि भित्र घुसाऊ भन्छ । विद्यार्थीको प्रतिभा प्रफुटन भन्नु नै उनीहरू भित्र रहेको ज्ञान बाहिर ल्याउनु हो । यसका लागि जिज्ञासु बन्ने वातावरण दिलाउनुपर्छ । विद्यार्थीले आफूभित्रका प्रश्न राख्ने प्लेटफर्म पाउँदा यो सम्भव छ । हाम्रो अवधारणा ‘टु ड्राउ आउट’को सिद्धान्तमा आधारित हुनुपर्नेमा ‘टु पुस इन’को सिद्धान्तमा आधारित छ । त्यसैले शैक्षिक क्षेत्रको प्रतिफल विद्यार्थीको हितसम्म पुग्न सकेको देखिन्न ।
४. प्रतिस्पर्धात्मक– प्रतिस्पर्धाबाट अरूलाई पछारेर आफू अघि बढ्नु लोकप्रियता कमाउनु होइन । अपितु, अलोकप्रियता आर्जन हुन्छ । अझ, शैक्षिक क्षेत्रमा प्रतिस्पर्धाको खेल हुनु विडम्बनापूर्ण छ । ज्ञान हासिल गर्न कसैलाई पछि पारेर आफू अघि बढ्ने भावना विल्कुलै अशोभनीय छ । के कक्षाका भएका जम्मा एकाउन्न जना विद्यार्थीमध्ये प्रथम भई बाँकी पचास जनाको मन कुल्चँदा उत्तम विद्यार्थी कहलिन सकिन्छ ?
५. भौतिक उपार्जनमुखी– आजको शिक्षा भौतिक उन्नति गर्ने सोचबाट प्रेरित छ । न त्यस सोचले पूर्णता पाएको छ, न बाटो नै बदलिएको छ । आफूले आर्जन गरेको ज्ञान र जानकारीका माध्यमबाट भौतिक उन्नति गर्न सक्ने अवस्था छैन । त्यही ज्ञानको जगमा उभिएर एकाध व्यक्ति आफ्नै खुट्टाले टेकेर जीवनरथ हाक्दै छन् तर ठूलो छाती बनाएर बाँच्न भने सकेका छैनन् । आफूमा भएको प्रतिभाले जीवन चलाउन सक्षम हुने शिक्षा आत्मक्रान्तिन्नोमुखी शिक्षा हो । समाज भौतिक उपार्जन चाहन्छ तर बाटाहरू प्रशस्त गर्न असक्षम छ । समाज थोरैलाई काखा र धेरैलाई पाखा पार्न चाहन्छ । केहीलाई जागिर दिएर अरू सबैलाई शैक्षिक बेरोजगार पारेर राज्यले जनतामाथि कुठाराघात गरिरहेको छ । सोर्सफोर्स लगाएर, घुसपैठ गरेर वा गुलाम बनेर जागिर खान आजसम्मको शिक्षाले नै प्रेरित गरिरहेको छ । अध्ययनको एउटा चरण पार गरेपछि आत्मनिर्भर हुनुपर्नेमा त्यसो हुन सकेको छैन । आजसम्मको शिक्षाले बुद्धि त सिकाउँछ तर बुद्धिमान् बनाउन सकेको छैन । धन कमाऊ भन्छ तर धन कमाउने सीप दिँदैन, मार्गहरू खुलाउँदैन ।
६. अहङ्कारपूर्ण– अहङ्कार पतनको सङ्केत हो, प्रेमपूर्ण शिक्षा प्रगतिको सम्वाहक हो । आज लेखपढ गरेका व्यक्तिमै अहङ्कार छ । ठूल्ठूला तहका प्रमाणपत्र बटुल्ने मान्छे नै बढी अहङ्कारी छन् । शैक्षिक जानकारी नै अहङ्कापूर्ण छ । आजको शिक्षाले प्रेम सिकाउँदैन । केवल ईष्र्यालु विचार र भावनालाई प्रश्रय दिन्छ । वास्तवमा शिक्षाले सिकारुमा अहङ्कार जन्माउनुहुन्न, प्रेम रसाउनुपर्छ । अहङ्कारपूर्ण शिक्षाको सट्टामा प्रेमपूर्ण शिक्षा दिनु शिक्षकको दायित्व बन्नुपर्छ । शिक्षक एक प्रकारको प्रेमी बन्नुपर्छ । प्रेमीले नै प्रेम पाउन सक्छ । प्रेम दिन सक्छ । प्रेमले संसार उज्यालो देख्छ । यसो भएमा गन्दे नालीमा देखिएका स्याउँस्याउँती कीराहरूमा पनि अद्भूत आश्चर्य लुकेको भेट्टाउँछ । बग्रेल्ती बच्चाहरू लिएर गन्धे ठाउँ चहार्ने सुँगुर–सुगुर्नीहरूको क्रियाकलापमा पनि अथाह सौन्दर्य फेला पार्न सक्छ । आजका विद्यार्थीले अहङ्कार भित्र्याउने शिक्षा प्राप्त गर्नुभन्दा प्रेम पैदा गर्ने अशिक्षा नै पाउनु वेस हुन्छ ।
अहङ्कारको नशा छुटाएर प्रेम र सहानुभूतिको विजारोपण गर्न शैक्षिक परिपाटीमा आमूल सुधार आवश्यक छ ।
७. त्रासमा आधारित– अनुशासनले मान्छे भित्रको उत्सुकताको हत्या गर्छ । मानवीय भावनाको खुल्लमखुल्ला व्यापार गर्छ । हामी अनुशासनको पुजारी बन्दिनाले विद्यार्थीहरूले मन खोलेर जुनसुकै जिज्ञासा शिक्षकनजिक ओछ्याउन पाइरहेका छैनन् । मनका जिज्ञासाहरू मनभित्रै कुहाएर, सडाएर राख्न वाध्य छन् । उनीहरूमा ‘मनका कुरा भनेँ भने, चाहेका कुरा व्यक्त गरेँ भने, अनुशासन भङ्ग होला कि ! सजायको कठगरामा उभिएर स्पष्टीकरणको लामो वयान दिनुपर्ला कि ! नालायक पात्र बनेर सबैको दृष्टिबाट गिरूँला कि !’ भन्ने भय र त्रास जन्मन्छ । अतः आजका विद्यार्थीले मन खोल्ने मौका पाउनुपर्छ । ठीक–बेठीक भन्न भेट्नुपर्छ । चेतना उघार्न पाउनुपर्छ । उज्यालो खोज्न र भोग्न भेट्नुपर्छ । अनुशासन नामको लगामले शिक्षक र विद्यार्थी बीच दूरी बढाउनु विल्कुलै अशोभनीय हुन्छ । शिक्षाले त भय हटाउनुपर्छ, अभय ल्याउनुपर्छ ।
८. शिक्षककेन्द्रित– पहिले विद्यार्थी नम्र थिए, शिक्षक खरा थिए । कठोर मनले कठोर शिक्षा दिन्थे । त्यसैले कठोर जनशक्ति जन्मियो । प्रेम र सहानुभूति पाखा लाग्यो । क्रुद्ध कुरा क्रुद्ध पाराले पढाइयो, सिकाइयो । आज राजनीति स्वार्थीहरूको÷अरू क्षेत्रमा असफलहरूको फस्टाउँदो खेती बन्न पुग्नुको कारण पनि शिक्षककेन्द्रित शैक्षिक प्रणाली नै जिम्मेवार छ । आज नयाँ पुस्ताको अभीष्ट उल्टिएको छ । नम्र बन्ने पालो शिक्षकको आएको छ । अनुशासित र मर्यादित बन्ने पालो शिक्षकको आएको छ । विनम्रतामा रहेर, अनुशासित भएर, मर्यादित ठहरिएर शिक्षा दिनु उनीहरूको कर्तव्य भएको छ । विद्यार्थीले उनीहरूबाट नै विनम्रता, अनुशासन र मर्यादा अनुकरण गर्ने मौका पाउनुपर्छ । आजको शिक्षाले सबैलाई जीवनमुक्तिको आनन्द दिनुपर्छ । विद्यार्थीलाईलाई केन्द्रमा राखेर शिक्षक परीधिमा रहने प्रकारको शैक्षिक परिपाटीको विकास हुनु नितान्त आवश्यक भएको छ ।
९. उत्तरमुखी– आजको शिक्षा उत्तरमा आधारित छ । पढाउने क्रममा नै शिक्षक पुस्तकमा समेटिएका सीमित प्रश्नको उत्तरमा केन्द्रित रहन्छन् । विद्यार्थीले त्यतिमै सीमित रही चुप लाग्नुपर्ने हुन्छ । शिक्षकको दृष्टिमा विद्यार्थीको मनमा उब्जिएका हरेक कुराले उत्तर पाउनुपर्छ भन्ने छैन । विद्यार्थीलाई प्रश्नविहीन बनाउनु भनेको कि विद्यार्थी तिखारिएको विवेकवाला बन्नु हो कि जडबुद्धिवाला बनाउनु हो । हाम्रो परिपाटी भने जडबुद्धिउन्मुख छ । अतः हरेक कुरामा विद्यार्थी प्रश्नको खोजीमा हुने वातावरण दिलाउनु नितान्त आवश्यक छ । प्रश्न जन्माउने खुबीको विकासले मान्छेको चैतन्य ऊध्र्वगामी बन्न जान्छ । सीमित उत्तरमा नै पूर्ण सन्तुष्ट रहेर प्रश्नोविहीन मनोदशामा हुँदा त्यो चैतन्य मुठारिन पुग्छ ।
१०. श्रद्धा÷सम्मान भज्ने– शिक्षक विद्यार्थीलाई श्रद्धा गर्न सिकाउँछन्, सम्मान गर्न लगाउँछन् । आदर, सम्मान, श्रद्धा, अनुशासन एवं नैतिकताजस्ता कुराहरू सिकेर सिकिने अनि घोकेर घोकिने कुरा होइनन् । कुनै सिद्धान्त पढेर वा कसैको देखासिकी गरेर जानिने कुरा पनि होइनन् । यी त स्वतःस्फुर्त जन्मने र अङ्गिकार गर्दै जाने कुरा हुन् । हामी अग्रजहरू बच्चाहरूलाई भन्छौँ– धुम्रपान नगर, मद्यपानमा नभुल, असत्यका पछि नलाग, सत्यको मार्ग नछोड, ठूलालाई आदर गर, सानालाई माया बाँड आदित्यादि । उनीहरू हाम्रा अगाडि त्यस किसिमको कर्म नगर्लान् तर अनुपस्थितिमा नगर्न भनेकै कर्म गर्र्न पुग्छन् । हाम्रो शारीरिक शक्तिका सामु नतमस्तक बन्लान् तर काबु बाहिर अनुशासनहीन हुन पुग्छन् । गलत कर्म गरेको फेला पारेमा हामीले हाम्रो विवेक सामु झुकाउन प्रयत्न गर्नुको सट्टामा शक्ति सामु झुकाउन खोज्नुको परिणाम सुखद हुन्न । हाम्रो इच्छा विरुद्धका कर्म बच्चाले गर्दा हामीलाई दुःख लाग्छ तर इच्छाविरुद्ध आदर, सम्मान, श्रद्धा, अनुशासन एवं नैतिकताजस्ता कुराहरूको बोझ बोकाउँदा उनीहरूलाई चाहिँ दुःख लाग्दैन ? अवश्य लाग्छ । फलतः हामी आजका बच्चाहरूको उछृङ्खलपनका सिकार हुन्छौँ र बदलामा उनीहरू हाम्रो शारीरिक शक्ति र अहङ्कारका सिकार हुन्छन् ।
सर्वप्रथम हामी स्वयम् आदरणीय, सम्माननीय, श्रद्धेय, अनुशासित एवं नैतिकवान् हुनुपर्दछ । हामी अग्रगामी समाजमा समायोजन हुने गुणले सम्पन्न रहनुपर्छ । अठोटका साथ पक्रिएको बाटो मोड्नुहुन्न । हामी जे जस्ता क्रियाकलाप अङ्गीकार गर्छौं, त्यसलाई हुबहु जसो उतार्ने प्रयास स–साना नानीहरू गर्छन् । हामीले सिकाउँदैमा असल बानीव्यहोरा नानीहरूले सिक्ने होइनन् । हामीले देखाएको र गरेको बानीव्यहोरा मात्र उनीहरूले सिक्ने हुन्, नक्कल गर्न प्रयास गर्ने हुन् । आफू अनैतिकताको मार्गमा उभिएर नैतिकताको भाषण गर्दैमा नानीहरूलाई नैतिकवान् पार्न सकिन्न । आफू भने अनुशासनहीन हुने र नानीहरूलाई अनुशासित बन भन्ने गर्नाले पनि यथोचित प्रतिफल भेट्दैन ।
११. वृतकारीय शिक्षा– आजको शैक्षिकपरिपाटी वृताकारीय छ । जति चरण पार गरे पनि घुमिफिरी एकै ठाउँमा हुने खालको शिक्षा लिइराखेका र दिइराखेका छौँ । शिक्षाले सिकारुमा नवीनभन्दा नवीन प्रज्ञाको ज्योति बाल्न सक्नुपर्छ । त्यो नभई जुन दियो बालिएको थियो, त्यसको प्रकाशमा तेज भर्ने काम मात्र अघिल्ला कक्षाले गर्दछ । एक थरी कुराको प्रभाव अनेक थरी कुरामा पर्दछ । शैक्षिक विषयवस्तुलाई निश्चित कोणबाट मात्र केलाउने प्रयत्न घातक हुन्छ । त्यही खेल अहिलेको शिक्षाले सिकाउँछ । फलस्वरूप हामी वृताकारीयरूपमै फनफनी घुमिरहेका हुन्छौँ । ऊध्र्वगामी सोच भित्र्याउन विवेकपूर्णढङ्गले कोणकोणबाट विश्लेषण गर्न सक्नुपर्छ । त्यसको अभाव खड्किएको छ ।
११. पदमुखी– हाम्रो शिक्षाले पदको भोक जगाइदिएको छ । प्रथम होऊ, सुखदायी ठाउँमा पुग भनिरहेको छ । सैद्धान्तिक ज्ञानमा आधारित शिक्षा छ, प्रयोगात्मक छैन । सिद्धान्तको अन्धोभक्तताले ठूलाबडा हुन सिकाउँछ । श्रममा विश्वास छैन, पदमा भोक जगाउन प्रेरित गरिरहेको छ । प्रतिस्पर्धामा लड र पदको सुखभोग गर भनिरहेको छ । आफूभित्र प्रज्ञाको, चैतन्यको दीप बाल र मान्छे बनेर देखाऊ भन्न सकेको छैन । हामीले त समय र परिस्थिती अनुसार हाकिमलाई पिउन पनि देख्न सक्ने हुनुपर्छ । पिउनलाई हाकिमको दर्जामा राख्न सक्ने हुनुपर्छ । हाम्रो आँखाले पद र प्रतिष्ठा कर्ममा देख्न सक्नुपर्छ ।
१२. प्रमाणपत्रधारी– आजको शिक्षाले राम्रो अङ्कयुक्त प्रमाणपत्र प्राप्त गर्नु अन्तिम अभीष्टलाई मानेको छ । यसले ज्ञानभन्दा मान खोज्ने धारणा मात्र सिकाउँछ । यस खाले सोच धरासायी पार्नु आवश्यक छ ।
१३. प्रतिकूल मलजल–  कलिलो बिरुवालाई मलजल आवश्यक हुन्छ । त्यो पनि बिरुवाको आवश्यकता अनुकूल हुनुपर्छ । प्रतिकूल मात्रामा मलजल भए बिरुवा सप्रनुको सट्टामा मर्न जान्छ । हो, त्यस्तै हामी विद्यार्थीहरूलाई प्रतिकूल तवरले मलजल गर्न उद्यत छौँ । तुरुन्तै बच्चामा श्रेष्ठ गुण अन्तर्निहित हुनुपर्छ भन्ने रट लगाइरहेका छौँ । हाम्रो हतारो हाम्रो हितमा होला तर बच्चाको अहितमा छ । बच्चा शारीरिक, मानसिकरूपले सबल भएको छैन, हामी भने सामाजिकीकरणको गीत फलाक्छौँ । अनि, प्रतिकूल नतिजा नआएर के आउँछ त ?
र, अन्त्यमा
आजको शिक्षा खरो अनुशासनमा आधारित मेसिनरी हुनुहुन्न । शिक्षक श्रद्धेय नबनी र सम्माननीय नभई विद्यार्थीले त्यो ग्रहण गर्ने कुरै आउँदैन । शिक्षक फगत समाजको इसारा र निर्देशनमा लुरूलुरू हिँड्ने र काम गर्ने रिमोर्टबाट सञ्चालित एक मेसिनतुल्य हुन्नहुन्न । शैक्षिक परिपाटीको नाममा विद्यार्थीहरूको विवेकको बिक्रो अझ बन्द गर्न उद्यत हुनुहन्न । अतः विद्यार्थीलाई विवेक प्रयोग गर्न दिनुपर्छ् । उनीहरूमा विचार पैदा हुन दिनुपर्छ । उनीहरू विद्रोह गर्छन् भने विद्रोह गर्न दिनुपर्छ । विद्रोह उर्जाशील छ कि छैन ? त्यसको निरीक्षण गर्नुपर्छ । विद्रोहका कारक तत्व पत्ता लगाउनुपर्छ । श्रद्धा÷सम्मान सिकाउने हैन विद्यार्थीमा ती गुण जगाउने रणनीति अपनाउनुपर्छ । आज सदियौँदेखि समाजले लादेका तमाम् थोत्रा सिद्धान्त र परिपाटी विरुद्ध उभिने अठोट नलिई भएको छैन । त्यसैले आजका विद्यार्थीलार्ई प्रेम दिनुपर्छ, चैतन्य औँल्याउनुपर्छ, बाटो देखाउनुपर्छ । तर, जवरजस्ती हिँडाउनुहुन्न । आफ्नै भाका र सुरमा हिँड्न दिनुपर्छ । अघि पुग्न दौडाउनुछैन । पछि पर्छन् कि भनेर ठेल्नु पनि परेको छैन । उनीहरूको लयवद्धतालाई स्खलन गर्नुहुन्न । त्यो सपना साकार हुन धेरै दिन बाँकी छैन केवल अठोट लिएर कर्मपथमा सरिक मात्र हुनु जरुरी भएको छ ।

श्री महावीर मावि, विषहरिया–४, सप्तरीमा शिक्षणरत्
सम्पर्क– मो. नं. ९८४२८२९२०६