Top_Header_Right_Add

शिक्षक र शिक्षा

शिक्षक र शिक्षा

12004132_945344002177923_443961900611935382_nनन्दलाल आचार्य
प्रिय शिक्षक साथी,
आज म शिक्षा र शिक्षकको दिशा र दशाको गहिराइमा चुर्लुम्म डुबेको छु । म किनारमा जे लिएर निस्कन्छु, त्यसले मनमा आँधी ल्याउन सक्छ; घनघोर वर्षा ल्याउन सक्छ; मन अमिलो पार्न सक्छ; वितृष्णाको महल ठडिन सक्छ । म वर्तमान पढेर लेख्दै छु; भविष्य देखेर गन्थन अघि सार्दै छु । स्वाभिमानमा पर्न पुगेको चोटप्रति क्षमा चाहन्छु । जत्रो र जस्तो स्वाभिमान छ, त्यसैमा चोट पर्ने हो । चोटले दिमाख खुल्छ; दुनियाँ बदल्छ ।
सत्य हो– सिक्नु गाह्रो काम हो । सिकाउनु झनै साह्रो काम हो । अर्ती दिन सजिलो छ; त्यसलाई व्यवहारमा उतार्न ठूलो कहर काट्नुपर्छ । लिन सजिलै छ । ठोस कुरा दिन भने गाह्रो छ । विवेक नभई नयाँ कुरा दिन सकिने होइन । नयाँ कुरा जन्माउन उत्तिकै कलाकारिता चाहियो । कुनै पनि स्थानमा अडिग भएर जीवन चलाउन उत्तिक्कै पौरख चाहियो, उत्तिक्कै सहास चाहियो । त्यसले पनि नपुगे दुष्साहस चाहियो ।
दुर्भाग्य ! घोर दुर्भाग्य !! हामी स्थायी, अस्थायी, राहत, पी.सी.एफ., करार, निजीस्रोत, बालविकास, लियन, निजी संस्थाका शिक्षक गरेर विभिन्न प्रकारमा विभक्त छौँ । तर, सबै विद्यार्थीलाई नै पढाउने र सिकाउने काममा लागेका छौँ । कोही तलव–सुविधा वृद्धिका लागि, कोही स्थायीत्वका लागि र कोही सरकारी नियमानुसार तलव–भत्ता हुनुप¥यो भनी आन्दोलनमा जान्छौँ । विद्यार्थीलाई भुल्छौँ । स्कुलमा ताला लगाउँछौँ । ‘पसिना बगाउँछौँ, विवेक लगाउँछौँ, उचित पारिश्रमिक छैन, सुनिश्चित भविष्य छँदैछैन’ भन्दै छौँ । राजनैतिक पार्टीको आडमा चिच्याउँछौँ, उनीहरूकै चाकरीमा भविष्य देख्छौँ । परिवारजनको दुर्दशाको दुहाइ दिएर लाचारी व्यक्त गर्छौं । अझ, नेतानेतृ, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षा मन्त्रालय र त्यसका शाखाहरूको गुलामी गरेर बढुवा हुन, जागिर खान, जागिर जोगाउन र जागिर लम्ब्याउन खोजिरहेका छौँ । र, पनि हामी शिक्षक कहलिएका छौँ; कहलाइएका छौँ !
समाजमा सकारात्मक प्रभाव मात्र पार्ने मान्छे, मानवकै निर्माता, जीवन निर्वाहको बीज छरिदिने मानिस, विद्यार्थीको चरित्र निर्माता, व्यवहार परिवर्तक, समुन्नतिको द्वार खोल्दिने मानव, तनाव र द्वन्द्व नाशक विशाल छविवाला व्यक्तित्व शिक्षक ! आमाबुबाभन्दा सम्माननीय, मार्गदर्शक, आंशिक चिकित्सक, आंशिक वैज्ञानिक, पूर्ण धार्मिक, आशावादी र उत्साहित, प्रजातान्त्रिक र सामाजिक सिद्धान्तमार्गी, परिवर्तनको संवाहक, क्षमाशील, उद्यमशील, प्रगतिशील, मिलनसार, विनोदप्रिय, स्पष्ट वक्ता मानवको श्रेष्ठत्तम व्यक्तित्व शिक्षक ! शिक्षण पेशाप्रेमी, वालमनोविज्ञानको ज्ञाता, अनुकूल शिक्षण विधिको प्रयोक्ता, ज्ञानको प्रचारक, निष्पक्ष कार्यशैली र व्यवहारकर्ता, विराट व्यक्तित्व शिक्षक ! राजनैतिक तटस्थ, धार्मिक सहिष्णु, आत्मविश्वासी र सहासिलो व्यक्तित्वजस्ता अनगिन्ती उपमा र विशेषणले युक्त सगरमाथा नै शिक्षक हो ।
हामी भने सत्य बुझेर पनि बुझ पचाइरहेछौँ । सत्य जानेर पनि सत्य पचाउन सकिरहेका छैनौँ । सत्य बोध नगरीकन सत्य बोध गराउने महाअभियानका नायक बन्न खोजिरहेछौँ । आफ्नो वर्तमान नभोगी, भविष्य नसोची अरूलाई वर्तमान भोग, भविष्य सोच भनिरहेछौँ । कतिपय ठाउँमा, कतिपय अवस्थामा सानो निउँमै अराजकता निम्त्याउने गरी मर्यादाहीन कार्यमा संलग्न छौँ । अनि भन्दै छौँ– ‘वर्तमान रहे न पढाउने, पेट भरिए न बोल्ने, सुनिश्चित भविष्य भए न अरूको पनि बनाउने !’
हामीले चिन्तन गर्न छाडिसक्यौँ, खाली चिन्ता गर्छौँ । सुविधाका पछि छौँ, कर्तव्य र दायित्व पन्छाएर राख्छौँ । हामी आफूलाई आम मान्छेभन्दा माथि ठान्छौँ र समाज पनि त्यसै ठान्छ । तर, व्यवहार भने आम मान्छेको भन्दा तल्लो स्तरको गर्छौं । सचेत काम बेगरकै मान खोज्छौँ । सतर्क हुन सकेनौँ, भएको ठोकुवा गर्छौैं ।
हामीलाई आफ्नै विश्वास छैन । आफूभित्रको सामथ्र्यको बोध छैन । तर, कलिला मुनाहरूलाई विश्वासको घेरामा राख्न खोजिरहेका छौँ । सामथ्र्यको बोध गर भनिरहेका छौँ । आफैँ जान्दैनौँ; आफैँ बुझ्दैनौँ । जानेको र बुझेको स्वाङ रच्दै छौँ । शिक्षक नामको पगरी गुथेका छौँ ।
सेवा गर्दा मेवा पाउँदिनँ भन्ने यकिन थियो त किन शिक्षण पेशा नै अङ्गाल्नुपथ्र्यो ? अझैसम्म त धर्ती खाली नै छ । अझैसम्म त बोल्न रोक छैन । अझैसम्म त चाहिँदो काम गर्न छेकबार छैन । सबैले एकै द्वारबाट छिर्नुपर्छ भन्ने छैन । जीवनको राजमार्गमा पुग्नका लागि अलग–अलग द्वारहरू छन् । बाँच्न एउटै कला पर्याप्त छैन; धेरै कला छन् । कलाकार बन्न सक्नुपर्छ; कला देखाउन राजी रहनुपर्छ । सजिलो मार्ग छिचोल्दाभन्दा जोखिमपूर्ण मार्ग छिचोल्दा कमाइ ज्यादा हुन्छ । हामी कमाइ गर्न किन पछि सर्छाैं त !
आफ्नो विवस कहानी सुनाएर शिक्षण पेशाको बदनाम गर्न छाडौँ । सोर्सफोर्स देखाएर, धनदौलत लगानी गरेर शिक्षण पेशामा प्रवेश गर्न छाडौँ । चाकरी, चाप्लुसी गर्न बन्द गरौँ । गुलाम बन्न जन्मेको हुँ भन्ने बिर्सौं । बुद्धि र विवेकको खेती गर्ने ठाउँमा विषादी छर्केर उडुस र उपियाँ मर्दैनन् । पेट पाल भनेर दान दिन कोही अग्रसर हुँदैन ।
जीवन दान दिन सक्छौँ त ‘शिक्षक हुँ’ भनौँ । हैन, सामथ्र्य छैन; अनुकूल हुँदैन भने आ–आफ्नो पदबाट राजीनामा दिएर शून्य बनौँ । अनि, आनन्दको श्वास लिने अभ्यास गरौँ । सम्भावनाका अनगिन्ती द्वारहरू एकाएक देखा पर्नेछन् । सर्तसहित एउटा ढोका खोलौँ । नहटी डटेर हिँडिरहौँ; गन्तव्य पत्ता लाग्छ । राजमार्ग फेला पर्छ; पर्छ । जीवनको त्यसै राजमार्गमा पुगेर सारथि बनौँ । वर्तमान खोजौँ; त्यहीं पाइन्छ । भविष्य सोचौँ; त्यही भेटिन्छ ।
सत्य यदाकदा जहर लाग्छ । हामी विचित्रको कहानी बोकेर यात्रा गरिरहेका छौँ । अर्काका लागि सोच्ने कर्तव्य र दायित्व लिए पनि आफ्नै लागि मात्रै सोच्छौँ । अनि, हामी केको शिक्षक ! शिक्षकभन्दा माथि उठिरहने हो भने, शिक्षकभन्दा तल झरिरहने हो भने आफूलाई शिक्षक भन्न छाडौँ । शिक्षक कहलिन बन्द गरौँ । र, एक ठाउँमा भेला होऔँ । सरसल्लाह गरौँ । सक्छौँ– बलको, बुद्धिको लगानी गरेर कर्मपथमा लागौँ । सक्दैनौँ, ठाउँ छैन, साधन र स्रोत नै उपलब्ध छैन; अगाडि गए पनि कराल पहाडमा ठोकिन्छौँ; पछाडि सरे पनि भयङ्कर खोपिल्टोमा जाकिन्छौँ भने जाऔँ, सरकार नजिक जाऔँ । जन्माउन दिएपछि, जन्मिन पाए पछि, पढेर योग्यता लिएपछि उसले नै बाँच्न दिनुपर्छ । उसले नै ओत दिनुपर्छ । उसले नै भोक मार्नुपर्छ । शोक लिनुपर्छ । उसैले नै दुःख बोक्नुपर्छ । हामीलाई सुख देखाइदिनुपर्छ ।
त्यसैले उसका सामु भनौँ– हामी देशका सिपाही हौँ; हामी देशका नोकर हौँ । हामी देशका बासिन्दा हौँ । हामीसँग शैक्षिक योग्यता छ । हामीसँग हातमा सीप छ; मनमा जोस छ; पाखुरीमा सामथ्र्य छ; छातीभरि स्वाभिमान छ; सहास छ; धैर्यता छ । पहाडलाई मैदानमा परिणत गर्न सक्छौँ; मैदानलाई सुन बर्षिने बनाउन सक्छौँ । हिमाललाई छातीमा अड्याउन सक्छौँ । यही धर्तीलाई अलकापुरी पार्न सक्छौँ । पसिना बगाउँछौँ; विवेक लगानी गर्छौं । काम देऊ; रोटी देऊ; हाम्रो वर्तमान हामीलाई नै देऊ । जे बोल्छौँ, त्यही गर्छौं । बोलेको पु¥याई छाड्छौँ । भ्रष्ट मुहार देखाउँछौँ भने, कलङ्कित मुहार पार्छौं भने सूलीमा चढ्न तयार छौँ; फाँसीमा झुण्डिन हिच्किचाउँदैनौँ । गोलीले उड्न अस्वीकार गर्दैनौँ ।
शिक्षक मित्र ! यत्ति गर्दा पनि हुन्न भने, यत्ति सपथ खाँदा पनि, यत्ति प्रतिबद्धता जाहेर गर्दा पनि कुम्भकर्णे सरकार बिउँझेर पनि निदाएको वहाना गरिरहन्छ भने ठूल्ठूल्ला गलले पल्टाउँदै त्यसलाई सप्तकोशीमा खसाली दिऔँ । र, नयाँ युगको सूत्रपात गरौँ । त्यस युगमा अनेक शरीरका मन एक हुन्छ; अनेक पेटका एक मुख हुन्छ; अनेक सोचका हात एक हुन्छ; अनेक विस्तराका एक छानो हुन्छ ।
सुखको लालच हुँदैन; दुःखको प्रवाह रहँदैन । आँसु आउँदैन; किनभने त्यो जन्मनै पाउँदैन । हाँसो छाउँछ किनभने त्यो जन्मन्छ र हुर्कन पाउँछ । आडम्बर देखिँदैन; जताततै पौरख भेटिन्छ । आफ्नो कुलो आफैँ खन्छौँ । आफ्नो बारी आफैँ गोड्छौँ । आफ्नो पानी आफ्नै खेतबारीमा पटाउँछौँ । आफ्नो वन आफ्नै संरक्षणमा राख्छौँ । ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्वरी, लुच्चा, लफङ्गा, निर्घिणी, कामचोर, दलाल, भष्टचारी, द्रव्यपिपासु जतिलाई सुध्रन अन्तिम चेतावनी दिन्छौँ । सुध्रे विकासको नोकर बनाउँछौँ; नसुध्रे धर्तीमै मिलाउँछौँ । श्रमदान अनिवार्य बनाउँछौँ । काम दिन्छौँ; माम दिलाउँछौँ; आफ्नै छानो होस् भन्छौँैँ । साथमा पारिलो घाम समेत दिन्छौँ ।
सह्रानीय छ त– सबै आमाबुबा, सबै दाजुभाइ, सबै दिदीबहिनी, सबै छोराछोरी । जनघात, राष्ट्रघात भएमा भने पितामाता मान्दैनौँ; दिदीबहिनी गन्दैनौँ; दाजुभाइ ठान्दैनौँ; सन्तान मोहमा फँस्दैनौँ । कर्मको फल दिएर छाड्छौँ । मर्म बुझेर काम दिन्छौँ । कोही बसिखान पाउँदैन; कोही मरिरहन पर्दैन । प्रकृतिको यस भव्य रङमञ्चमा हामी सबै एकसाथ निस्कन्छौँ । अभिनय गछौँ; कला देखाउँछौँ । खुशी हुन्छौँ; खुशी पार्छौैं । जगत्लाई हँसाउँछौँ; प्रकृतिलाई नचाउँछौँ ।
त्यसैले त शिक्षक साथी ! म तपाईंलाई भन्न खोजिरहेछु…….
–नरुनुस् ! नकराउनुस् ! नचिच्याउनुस् ! सुन्छन् ! दुनियाँले सुन्छन् !
तपाईं के भनेर शिक्षक हुनुभएको थियो ? तपाईं के ठानेर शिक्षक बन्न मञ्जुर रहनुुभएको थियो ? विद्यालयले नै पाल्नुपर्छ; व्यवस्थापन समितिले तपाईंको जागिर थाम्नुपर्छ ? के यस्तो कानुन कतै छ ? के तपाईंविना श्रमकै दाम पाइरहनुभएको छ र ? तपाईं आफूलाई के सम्झन्नुहुन्छ ? के तपाईं गुलामको गुलामै रहन चाहनुहुन्छ ? छोराछोरीको विजोग सुनाएर, श्रीमतीको अलपत्रे व्यथा बकेर, आफ्नो अनिश्चित भविष्य औँल्याएर, शिक्षकको शिक्षकै बन्न चाहनुहुन्छ ? त्यसभन्दा माथि र त्यसभन्दा तल केही देख्नुहुन्न ? जहाँ खुट्टा टेक्नुभएको छ, के त्यो र त्यत्ति मात्र धर्ती हो भन्ठान्नुहुन्छ ? हातमा चक, डस्टर लिएर कलिला विद्यार्थीसामु दिनहुँ पुग्ने पेशा मात्र तपाईंलाई प्रिय छ ? के तपाईं यस्तै शिक्षक बनेरै जीवन गौरवशाली हुन्छ भन्ठान्नुहुन्छ ? परिवारको विलौना र आफ्नो विवशता देखाएर शिक्षक नामक पगरी गुथी रहन चाहनुहुन्छ ? आफू गुलाम बनेर गुलाम बन्न प्रेरणा दिइरहनुहुन्छ ?

–भो ! अरू नरुनुस् ! अरू नकराउनुस् ! अरू नचिच्याउनुस् ! सुन्छन् ! दुनियाँले सुन्छन् !
रोएर जागिर पाइने भए, दिनहँु स्यालहरू रोइरहन्थे । भुकेर र झुकेर जागिर थामिने भए कुकुुरहरू चौबीसै घण्टा भुकिरहन्थे; झुकिरहन्थे । यी बहिराहरूका अगाडि नकराउनुस्; यी अन्धाहरूका अगाडि नरुनुस्; यी मूर्खहरूका अगाडि गुलामी नदेखाउनुस् । लाज हुन्छ; लाज ! तपाईंको काँधमा भविष्यका नक्षत्रहरू छन् । तपाईंका साथमा भविष्यका योद्धाहरू छन् । तपाईंको दिमाखमा अजस्र ज्ञानगुनको खानी छ । विवेक छ ! पाखुरीमा तागत छ । आइपरे पहाड फोड्न सक्नुहुन्छ; मैदान उचाल्न सक्नुहुन्छ; हिमाल थर्काउँन सक्नुहुन्छ । छ, हरेक कुरा तपाईंसँग नै छ । तपाईंभित्र अनगिन्ती सम्भावनाका लहरहरू छन् । अबिरल बग्ने इन्द्रावतीहरू, कर्णालीहरू, सप्तकोशीहरू छन् । तपाईं बिरुवाका माली हुनुहुन्छ; धनी हुनुहुन्छ । तपाईं त मल हुनुहुन्छ; तपाईं त जल हुनुहुन्छ । सिङ्गो धर्ती तपाईंकै प्रतीक्षा गरिरहेको छ । बुझ्नुस्, तपाईंको साथमा संसार छ । तपाईंमा इमान्दारिताको रगत बगिरहेको छ । सम्भावनाको कोपिला प्रष्फुटित हुन खोजिरहेको छ । केवल मल लगाउन बाँकी छ; केवल जल छर्कन बाँकी छ ।
–अब त फर्कनुस् ! अब त गुलामी छाड्नुस् ! अब त आफूलाई चिन्नुस् !
यही धर्तीमा बिरुवा रोप्नुस् । मल लगाउनुस् । जल पटाउनुस् । बिरुवा बढ्छ । बृक्ष बन्छ । फूल लाग्छ । मगमग वासना छर्छ । संसार हँसाउँछ । ढोंगीहरूलाई तर्साउँछ । निमुखाहरूलाई बठ्याउँछ । अगाडिको उज्यालो मार्गतर्फ लाग्छ; पछाडिको अँध्यारो मेट्दै जान्छ । फल पनि लाग्छ । आनन्दले कुपुकुपु खान पाइन्छ । हेर्नुस्, दुःख पछिको सुख स्वादिलो हुन्छ । सुख पछिको दुःख विरसिलो हुन्छ । दुःखमा खुट्टा नकमाउनुस् । लत्तो नछाड्नुस् । मार्ग नमोड्नुस् । जुन मार्ग रोज्नुभएको छ, त्यहीँ खडा भइरहनुस् । ऋतु आउँछन्; फेरि जान्छन् । फेरि आउँछन्; फेरि जान्छन् । आउँने जाने क्रम चलिरहन्छ । आएपछि जानुपर्ने संसारकै रीत हो । गएपछि आउनुपर्ने पनि रीत हो । हाम्रा साथमा विपना छ; कहिले काँही सपना पनि रहन्छ । कुनै कुनै सपना साँच्न लायकका हुन्छन् । कहिलेकाँही सपनामा पनि बाँच्ने गर्नुस् । हाँस्न मनाही छैन । नाच्न मनाही छैन । कहिलेकाही हाँस्नु पनि पर्छ; नाच्नु पनि पर्छ ।

–जे छ सम्झनुस् ! अब त चिन्नुस् ! आफूलाई अविश्वास नगर्नुस् ! दुनियाँलाई गुलामीको रामकहानी नसुनाउनुस् !
मान्छे अहङ्कार हो । यसैभित्र बाँच्नुपर्छ । दुःख भए दुःखै गुरु, सुख भए सुखै गुरु ! भीरबाट हाम फाल्ने जमर्को कायरता हो । सपनाको मुत्यु हुन नदिनुस् । बाँच्ने नै हो भने अभ्यास चाहिन्छ । आफ्नो जिद्दी नथोपर्नुस् । नियतिको झ्यालखानामा नखस्नुस् । कैदी जीवन नरोज्नुस् । दासत्वको जञ्जिर मिल्काउनुस् । जहाँ काँडा बिझ्यो, निकाल्ने साधन र माध्यम त्यसैलाई बनाउनुस् । त्यसैमा भाला रोप्ने भूल नगर्नुस् । हेर्नुस्, सुखमा पनि दुःख र दुःखमा पनि सुख नलुक्ने हो भने मान्छे सबै सकिन्थे । आत्महत्या गर्थे । त्यसैले त महत्त्वाकाङ्क्षा पाल्नुस् । त्यो हुर्कनुपर्छ । त्यो फुल्नुपर्छ । त्यो फल्नुपर्छ । नहुर्कने, नफुल्ने, नफल्ने महत्त्वाकाङ्क्षाको काम छैन । जोखिम हातमा लिन सहज हुँदैन । हाँसोमा मात्र आनन्द लिन छाड्नुस् । रोदनमा पनि आनन्द खोज्ने गर्नुस् । मानवीय जीवन आँसु र हाँसोकोे मिश्रणले त बनेको हुन्छ ।

–सुन्न दिक्क नमान्नुस् । बरू सुनाउन दिक्क ठान्नुस् । दिन सोच्नुस्, लिन सोच्नु छैन । गुन्न नछाड्नुस्, भन्न नभुल्नुस् । ठाउँमा बोल्नुस् । बोल्दा यताउती हेर्नुस् । के बोल्ने, सोच्नुस् । के गर्ने, गुन्नुस् । कोसँग के बोल्ने विचार गर्नुस् । मन छाम्नुस्; मुटु जोख्नुस् । भन्न हुने जति भन्नुस्; नहुने बन्दै नभन्नुस् । किनभने तपाईं ठेकेदार हुनुहुन्छ । काँधमा ठूलो भारी छ । जथाभावी बिसाउन पाउँनुहुन्न । आजको यो भारी भोलिको संसारलाई चाहिन्छ । हेर्नुस्, आफूले आफैँलाई कुरूप नठान्नुस् । आफूलाई कायर नबनाउनुस् । आरामले चल्छ; जिन्दगी । बस्– साहस चाहिन्छ; धैर्यता चाहिन्छ । पौरख चाहिन्छ । अलिक इमान्दारिता चाहिन्छ । कर्तव्यनिष्ठता पूरापूरी चाहिन्छ । हैन, सपना छैन । सहास छैन । धैर्यता छैन । केही पनि छैन भने भीर खोज्दै हिँड्ने गोरुलाई राम, राम भन्न सकिन्छ; काँध भने थाप्न सकिँदैन ।

–तब त रुनुस् ! चिच्याउँनुस् ! पुकारा गर्नुस् ! प्रार्थनामा बस्नुस् ! गुलामी गर्नुस् ! गुलाम बन्नुस् !
तर, खबरदार ! तपाईंले आजलाई चुड्न पाउँनुहुन्न । तपाईंले भोलिलाई कुल्चन पाउँनुहुन्न । सुगन्धित फूल टिप्न पाउँनुहुन्न । मन्दिरमा चढाउने बहाना गर्न पाउँनुहुन्न । ज्योति भएको मान्छे हुँ भनेर कुर्लन पाउँनुहुन्न । कसैलाई थाङ्नामै सुताउने अधिकार तपाईंलाई छैन । मुखमा रामनाम जप्दै बगलीमा छुरा राख्न पाउँनुहुन्न । खबरदार ! तपाईं शिक्षक भइरहन पाउँनुहुन्न ।
तथापि सुध्रन्नुहुन्छ, चाँडो सुध्रनुस् । तपाईंसँग कमल छ; मसी छ; कागज छ । तपाईंसँग बिरुवा छ; जल छ; मल छ;
भूमि पर्खिरहेको छ । तपाईंसँग ज्ञान छ; दिमाख छ; विवेक छ । तपाईंसँग काँध छ; जिम्मेवारी छ; पौरख छ । नभएका कुरा थोरै छन्; हुनुपर्ने धेरै छन् । त्यसैले त तपाईं शिक्षक हुनुहुन्छ । त्यसैले त तपाईं युगनिर्माता हुनुहुन्छ । भविष्यदाता हुनुहुन्छ । तपाईं सेतु हुनुहुन्छ । तपाईं अनुभवी माझी हुनुहुन्छ । नदी तार्नुस्; तार्ने सीप छ । जाग्न बाँकी भए, पहिले आफैँ जाग्नुस् । अनि, जगाउनुस्; दुनियाँलाई जगाउने अभिभारा छ । प्रज्वलित हुन बाँकी भए प्रज्वलित हुनुस्; अनि सल्काउनुस् । संसार उज्यालो बनाउनुस् । तपाईंकै प्रतीक्षामा संसार कुरेर बसेको छ ।
–तर, होसियार ! विश्वासघाती नबन्नुस् । पौरखको मालिक बन्नुस् । तपाईंकै हातमा संसार छ । पन्छाएर निदाउने चेष्टा नगर्नुस् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer