राजविराज, १६ भदौ । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका स्थानीय नेताको शुक्रवार राती मृत्यु भएको छ ।
बाँकेको जानकी गाउँपालिका गनापुर कपासी–६ निवासी गठबन्धनका नेता राम मनोहर यादवको हिरासतमै मृत्यु भएको हो । उपचारका क्रममा काठमाडौं लैजाँदै गर्दा शुक्रबार राती बाटोमै उनको मृत्यु भएको गठबन्धनका प्रवक्ता अब्दुल खानले जानकारी दिएका छन् । विज्ञप्तिमा उल्लेख भए अनुसार बुधबार राती हिरासतमा हातखुट्टा नचल्ने भएपछि यादवलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरे पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।
भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले यादवलाई आइसियुमा राख्न निर्देशन दिएका थिए । आइसियु खाली नभएकोले त्यहाँ प्रभावकारी उपचार हुन सकेको थिएन र यादवलाई एम्बुलेन्स मार्फत् काठमाडौं पठाइएको थियो ।
यादव सहित हरपाल सिंह, इरफान शेख र राजितराम वर्मालाई नेपाल प्रहरीले भदौ ७ गते बिहीबार जिल्ला समन्वय समिति बर्दियाको सभाकक्षमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा भएको एक कार्यक्रमबाट पक्राउ गरी राज्यविप्लवको मुद्दा लगाई हिरासतमा राखेको थियो । उपप्रधानमन्त्री यादवलाई प्रश्न सोध्न सक्ने भनेर आशंकाकै आधारमा उनीहरुलाई सभाकक्षबाट बाहिर बोलाएर पक्राउ गरिएको थियो । सोही क्रममा पक्राउ भएका मध्ये हरपाल सिंह, इरफान शेख र राजितराम वर्मा जिल्ला प्रहरी कार्यालय, बर्दियाको हिरासत गुलरियामै रहेका छन् ।
यसअघि २०७२ साल चैत्र ६ गते नेपालगञ्जको महेन्द्रपार्कबाट पक्राउ गरेर यादव सहित ८ जनामाथि नेपाल सरकारले राज्यविप्लवको मुद्दा चलाएको थियो । उक्त मुद्दामाथि सुनुवाई गर्दै विशेष अदालतले २०७४ साल फाल्गुण ३ गते सफाई दिएको थियो । २०७३ साल मंसिर १० गते पनि स्वतन्त्र मधेश गठबन्धनले नेपालगञ्जमा आयोजना गरेको ’रंगभेदी दिवस’ को अवसरमा यादवलाई नेपाल प्रहरीले गिरफ्तार गरी मंसिर १२ गते मात्रै छोडेको थियो । यसैगरी, २०७४ साल आषाढ़ २ गते पनि स्थानीय निर्वाचन अगाडि ’नो भोट’ को प्रचारप्रसार गरेको आशंकामा यादवलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो । उक्त मुद्दामा उच्च अदालत तुलसीपुरको आदेशमा आषाढ़ १९ गते यादवलाई रिहा गरिएको थियो ।
प्रहरीले बिना कसूर र आधार पटक–पटक पक्राउ गरी यातना तथा ज्यान मार्ने धम्की दिएको विषयमा २०७३ साल मंसीर १४ गते यादव सहित चारै जनाले नेपाल राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेरै ज्ञापनपत्र समेत दिएका थिए । यसैगरी प्रहरीले हिरासतमा यातना दिएको कारण उनीहरुले बाँके जिल्ला प्रहरी विरुद्ध दर्ता गरेको यातना तथा क्षतिपूर्ती मुद्दा समेत बाँके जिल्ला अदालतमा विचाराधीन रहेको छ ।
यादवका तीनजना नाबालिग छोराछोरी छन् । नेपाल प्रहरीको उक्त कार्यशैलीको घोर निन्दा गर्दै गठबन्धनका प्रवक्ता अब्दुलले प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवलाई शहीद घोषणा, यादवको परिवारलाई क्षतिपूर्ती दिनुका साथै उनका बच्चाहरुको भविष्य राज्यले सुरक्षित गर्नुपर्ने, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक सहित संलग्न दोषी प्रहरीलाई कार्वाही गर्नुपर्ने मांग गरेका छन् । पीडितलाई न्याय दिलाउन गठबन्धनले राजनीतिक दल, संघ–संगठन, मानवअधिकारकर्मी, वकील, बुद्धिजीवी, नागरिक समाज तथा न्यायप्रेमी जनता समक्ष अपील गरेका छन् ।
यसैबीच मधेशी चेतना समाजका अध्यक्ष तेजकान्त झाले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा गठबन्धनका यादवको मृत्यु भएको घटनाको भत्र्सना गरेका छन् । हिरासतमा उनको मृत्यु हुनुको कारण राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा अन्तर्राष्ट्रिय स्तरको संस्थाबाट जाँच गराउन अध्यक्ष झाले माग गरेका छन् ।
यसैगरी स्वतन्त्र मधेश गठबन्धन सप्तरीद्वारा दिवङ्गत आत्माको चीर शान्तिको कामना तथा दोषीलाई कडा कार्वाहीको माग गर्दै राजविराज स्थित शहिद दशन चौकमा मैनवत्ती प्रज्वलन गरिएको छ ।
राष्ट्रिय
प्रहरी हिरासतमा स्वतन्त्र मधेश गठबन्धनका नेताको मृत्यु
घटनाको छानबिन तथा दोषीलाई कार्वाही गर्न माग