प्रचण्ड बहुमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी सत्तासीन हुने कुरा सुनिश्चित भईसकेको छ । जनताले यस पटक उक्त पार्टीलाई अत्यधिक मत दिएर जिताएका छन् ।
मुलुकका सबै क्षेत्रबाट उक्त पार्टीले यस प्रकारको मत पाउनुले अब बन्ने सरकारलाई पूरा अवधिभर काम गर्ने अवसर दिएको भन्ने रुपमा बुझ्न सकिन्छ । विगतका निर्वाचनले कुनै एक दललाई स्पष्ट बहुमत नदिएका कारण सत्ताको चलखेल बढेको र राजनीतिमा विकृति हावी हुँदै गएको कुरा प्रति जनता भुक्त भोगी नै छन् । यस पटक फागुन २१ गते सम्पन्न निर्वाचनले त्यो अवस्थाको अन्त्य गरिदिएको छ । नयाँ दलका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाईको बहुमतका साथ सरकार बनाउन पाउने कुरालाई अन्तिम चरणमा पुगिसकेको निर्वाचन मतगणनाको नतिजाले सुनिश्चित गर्दै गएको छ । यस अर्थमा बलियो बहुमतका साथ अब बन्ने सरकारमाथि जिम्मेवारीको बोझ पनि उत्तिकै गाह्रो रहेको बुझ्न सकिन्छ । विगतमा देखिएको विकृतिलाई अन्त्य गर्दै भ्रष्टहरुमाथ कारबाही, भ्रष्टाचार नियन्त्रण, जेनजी आन्दोलनका क्रममा दोषी देखिएकाहरुमाथि कारवाहीका साथसाथै थिति बसालेर मुलुकमा विकास, शान्ति र सुशासन कायम गर्ने सरकार माथिको गहन जिम्मेवारी हो । बोलेर भनदा पनि गरेर यस कुरालाई प्रमाणित गर्नु पर्ने त छँदैछ ।
सरकार बनाउने अवसर पाएको रास्वपाले यस्तो जिम्मेवारीलाई निर्वाचन अघि नै प्रतिबद्धता स्वरुप स्वीकार पनि गरिसकेका कारण त्यसले मूर्तरुप हासिल गर्ने छ भन्ने जनविश्वास प्रति हेक्का राख्नै पर्ने हुन्छ ।