राजविराज, २५ वैशाख । वैदेशिक रोजगारीमा साउदी अरब पुगेका सप्तरीको कुशहा–८ का युवा सुरज राम अलपत्र परेका छन् ।
म्यानपावर र एजेन्टको लापर्वाहीका कारण राम साउदी अरबमा अलपत्र परेका हुन् । काठमाण्डौको स्थित अल अयुनी ओभरसिज सर्भिसेज प्रा.लि.बाट उनी ८ फरवरीमा साउदी पुगेका थिए । क्लिनरको काम पाउने शर्तमा ८० हजार रुपैयाँ तिरेर उनी साउदी पुगे पनि चर्को घाममा टेलिफोन सम्वन्धि ह्युम पाइप जडान गर्ने क्रममा बेल्चा चलाउन दिईयो । केही दिन त २२ वर्षिय सुरजलाई काम गर्ने क्रममै छातीमा दर्द शुरु भयो । उनी विरामी परेपछि चर्को घाममा उक्त काम गर्न असमर्थ भए । तत्पश्चात कम्पनीले बाहिर निकालेर घरमा सुत्नसम्म नदिएको उनले टेलिफोनमा पीडा सुनाए ।
कम्पनीले आफूलाई जुनसुकै हालतमा पनि काम गर्नैपर्ने भनी दवाब दिएको तथा उक्त काम गर्न आफूले असमर्थता जनाएपछि धम्कीसम्म दिने गरेको सुरजले बताए । आफूलाई २० हजार रियाल तिरेर घर जानु भनी दवाव दिँदैएको बताउँदै उनले भने ‘२० हजार रियाल तिर अनि घर जाउ भन्छ । आफूलाई समस्यामा परेको भनी एजेन्टहरु प्रथमलाल मण्डल र मनोज मण्डल तथा म्यानपावरका सञ्जय चौधरीलाई भन्दा वास्ता नगरेको उनले दुःखेसो सुनाए । ‘कुरा गर्दैछु’, ‘चाँडै काम चेन्ज हुन्छ’ आज–भोली भन्दाभन्दै हालसम्म कुनै पहल नभएको उनको गुनासो छ ।
‘साउदी जानु अघि एजेन्टलाई मलाई क्लिनरको काममा पठाएको थियो तर यहाँ त चर्को घाममा बेल्चा चलाउनुपर्ने काममा खटायो’ सुरजले भने ‘म समस्यामा परेको छु, कि त म्यानपावर कम्पनीले प्रतिवद्धता गरेको काममा खटाईदिनुपर्यो कि घर फिर्ता गरिदिनुपर्यो ।’ ऋण काढेर वैदेशिक रोजगारीमा आएको बताउँदै उनले आफू ठगीमा परेकोले राम्रो पैसा कमाउने सपना चकनाचुर भएको उनले बताए ।
यता उक्त विषयमा एजेन्ट प्रथमलाल मण्डलसँग बुझ्दा आफूहरुमार्फत नै सुरज साउदी गएको तथा अर्कै काममा खटाईदिएको बताए । आफूले म्यानपावरमार्फत पहल गरिरहेको जानकारी दिँदै उनले भने ‘कम्पनीले खटाएको काममा सुरज जान मान्दैन, काममा गएपछि न काम चेन्ज हुन्छ, तुरुन्तै त हुदैन नि ।’ यद्यपी उनलाई साउदीमै काम परिवर्तन गर्ने वा ल्याउने विषयमा आफूहरु गम्भीर रहेको प्रतिक्रिया दिएका छन् ।