राजविराज, १० चैत । गत फागुन २३ गते मलेठमा भएको गोलीकाण्डको विषयमा सामाजिक न्याय तथा मानव अधिकार संसदीय समिति अन्तर्गत गठित उप–समितिको टोलीले विहीवारदेखि स्थलगत अध्ययन थालेको छ ।
नेकपा एमालेले आयोजना गरेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा प्रहरीले चलाएको गोली लागेर पाँच जनाको मृत्यु तथा २७ जना घाइते भएका थिए । उक्त घटनाको विषयमा विस्तृत अध्ययन–अनुसन्धान गर्न नेपाली कांग्रेसका सांसद मोख्तार अहमदको नेतृत्वमा सांसदहरुको टोलीले घटनाको अध्ययन अनुसन्धान थालेको हो ।
टोलीमा नेकपा एमालेकी सांसद बसुन्धरा रोकाया, नेकपा माओवादी केन्द्रकी सांसद दुलारी हरिजन, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद श्यामसुन्दर टिबडेवाल, मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिककी उषा यादव, शाखा अधिकृत ज्ञानहरि पन्थीसमेत रहेका छन् । टोलीले घटनास्थलको अवलोकन, पीडित परिवार, प्रत्यक्षदर्शी, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग घटनाबारे जानकारी लिएका छन् । सप्तरीका सुरक्षा प्रमुख, घटना हुँदाका बखत तैनाथ सुरक्षा अधिकारीसमेतसँग वस्तु स्थितीबारे जानकारी लिईने कार्य भईरहेको समितिका संयोजक सांसद अहमदले बताएका छन् ।
घटनाको विस्तृत अध्ययन अनुसन्धान गरी सामाजिक न्याय तथा मानव अधिकार संसदीय समितिमा पेश गरिने सांसद मुख्तार अहमदले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा नियम विपरित प्रहरीले गोली चलाएको भन्दै उनले दुःख व्यक्त गरे । बल प्रयोग गर्नुपर्ने अवस्था आएको भए पनि पहिला रबरको गोली तथा गोली चलाउनुपरे ढाडभन्दा तल चलाउनुपर्नेमा ढाडभन्दा माथि नै गोली चलाएको पाईएको उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् ।
मलेठ घटनाको समयमा तात्कालीन प्रमुख जिल्ला अधिकारी रहेका उद्धव तिमिल्सेना, प्रहरी उपरीक्षक दिवेश लोहनी, नायब उपरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्कालाई गृह मन्त्रालयले घटना लगत्तै फिर्ता बोलाईसकेको छ । मलेठ घटनामा प्रहरीको गोलीबाट मलेठ–२ का सञ्जन मेहता, विरेन्द्र महतो तथा मलेठ–४ का पिताम्बर मण्डल, जमुनी मधेपुरा–१ का ईनर यादव र प्रसवनी–७ टेङ्गरीका आनन्द साहको मृत्यु भएको थियो ।
