२०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनले नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ जिताएर पठाएको छ ।
यस निर्वाचनले विगतदेखिको निराशा र असन्तुष्टिलाई मेट्दै जनमानसमा एक प्रकारको उत्साह समेत जगाएको छ । सत्ताको लुछाचुडीका कारण विगतमा सरकारले काम नगरेको, अस्वाभाविक गठबन्धन गरेर भएपनि सत्ता टिकाउने खेलमा लाग्नाले जनता अनेकन समस्याबाट पिलिसँदै आएका थिए । त्यही असन्तुष्टिका कारण हिमाल, पहाडदेखि तराई मधेशको चुनाव चिन्ह घण्टीका पक्षमा चुनावी लहर नै चल्यो । जनताले विगतका निराशालाई घण्टीमा मतदान गर्दै नयाँ आशा र अपेक्षिासित साट्ने काम गरेका छन् । दुई तिहाईकै बहुमतका साथ अब राष्ट्रिय स्वतन्त्र पार्टी सत्तारोहणको तयारीमा छ । विगतका निर्वाचनमा पनि जनताले विभिन्न पार्टीलाई सरकारको नेतृत्व गर्ने गरी जनादेश दिएकै हुन् । तर सत्ताको खेलका कारणले आफ्नै दलभित्र पनि गुटबन्दी गर्ने, एउटा दलसित गरेको समझदारी भंग गरी सत्ता टिकाउन र स्वार्थ पूर्तिका लागि अर्कोसित गठबन्धन गर्ने जस्ता कार्यले राजनीतिक अस्थिरता र अन्यौलता बढेर गएको थियो ।
जनभावनालाई सत्ताको चास्नीमा डुबेर बुझ्न नसक्नाको परिणामका रुपमा यसलाई स्वीकाुर्नको विकल्प नरहला । आफ्ना गल्ती, कमजोरीप्रति सिंहावलोकन गर्दै आगामी दिनमा सुध्रेर काम गर्नु नै यति बेलाको आवश्यकता हो । दिगो राजनीतिक भविष्यको निर्धारण पनि त्यसबाटै सम्भव छ ।