राजविराज, २१ कार्तिक । विगतका वर्षहरु झैं यो वर्ष समेत जिल्लाको विभिन्न स्थानहरुमा छठ पर्व मनाइदैछ ।
आइतवार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउन लागिएको हो । सोमवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत रुपमा यो पर्व सम्पन्न हुनेछ ।
सप्तरी जिल्लाको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा यो पर्व मनाइँदैछ । सहरदेखि ग्रामिण भेगसम्म विशेष महत्वका साथ यो पर्व मनाईन्छ ।
जिल्लाको भारदह गाविस स्थित कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुर सहितका स्थानहरुबाट छठ मनाउन सयौंको संख्यामा ब्रतालुहरु आएको लक्ष्मी व्यापार संघ भारदहका अध्यक्ष कुन्दन कुमार मण्डल ‘पप्पु’ले जानकारी दिएका छन् । उनका अनुसार कोशी व्यारेजमा अस्ताउँदो र उदाउँदो सूर्यलाई प्रष्ट रुपमा हेर्न सकिने तथा ठाउँ पनि अति मनोरम भएकोले नेपालको विभिन्न जिल्ला तथा भारतको सुपौल, मधुवनीलगायतका जिल्लाहरुका समेत छठ मनाउन तथा हेर्नका लागि प्रत्येक वर्ष आउने गर्दछन् । कोशी किनारमा कलात्मक रुपमा घाटहरुलाई दुलही झैं सिंगारिएको छ । 
यता राजविराजस्थित भगवती, वैष्णवी काली, तुरुन्तीलगायतका पोखरीहरुमा छठ पूजाका लागि घाटहरु निर्माण गरि आकर्षक ढङ्गले सजाईएको छ । गाउँहरुमा रहेका पोखरीहरुमा केराको बोट, अशोकको हाँगा, बाँसलगायतका स्थानीय सामग्रीहरुबाट कलात्मक घाट बनाएर छठ मनाउन लागिएको छ ।
पर्वका अवसरमा गाउँहरुमा नाच–तमासा, नाटक, छोक्कडबाजी आदी मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको छ । कात्तिक शुक्लपक्षको चौथी तिथिबाट नहाइ–खायबाट शुरु भई आइतवार साँझ अस्ताउँदो सूर्य तथा सोमवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व विधिवत रुपमा यो पर्व मनाउन लागिएको हो ।
पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई अरबा–अरबाइन वा नहाइ खाइ भन्ने गरिएको छ । यो दिनमा ब्रतालुहरुले खोला–नाला, नदी, पोखरी, तलाव लगायत जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । ब्रतालुले भोजनमा माछा–मासु, लसुन, प्याज र कोदो जस्ता वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्ने गरिन्छ । 
पञ्चमी तिथिको दोश्रो दिनलाई खरना भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन ब्रतालुहरु दिनभरि निर्जला ब्रत बस्ने गर्छन् र साँझ पख नुहाएर चोखो भई पूजा कोठामा नयाँ चुल्होमा प्रसादको रुपमा सख्खर मिलाएर खीर बनाउने गरिन्छ । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र खीरलाई लिईन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर ब्रतालुले राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई प्रसादको रुपमा ग्रहण गर्छन् । यो दिन पछि ब्रतालुले पूर्ण ब्रत लिईनुपर्ने परम्परा रहेको छ ।
षष्ठी अर्थात तेश्रो दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी पिठोबाट विभिन्न गुलियो खाद्य साम्रगी बनाईन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो रहनुपर्ने हुन्छ । पूजा सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास रहँदैआएको छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरुले निक्कै सतर्कता अपनाउने गरिन्छ ।
छठी मातालाई प्रसादको रुपमा ठेकुवा, भुसुवा, पेरुकिया, भोगटे, नरिवल, केरा, मुला, सुथनी, ऊखुलगायतका सामग्रीहरु चढाइन्छ ।