राजविराज, १२ कार्तिक । सेन्चुरी बैंक शाखा कार्यालयले शुक्रवारदेखि साप्ताहिक रुपमा सरसफाई अभियान शुभारम्भ गरेको छ ।
बैंकका प्रबन्धक ब्रजमोहन झाको नेतृत्वमा राजविराजको मुटु मानिने गजेन्द्र चौक क्षेत्रमा सरसफाई गरिएको हो । गजेन्द्र चौक आसपास क्षेत्र र चौक परिसरमा सरसफाई गरेका छन् । मधेशका मसिहा भनेर चिनिने स्व गजेन्द्रनारायण सिंहको शालिकको समेत सरसफाई गरिएको छ ।
बैंकले थालेको सरसफाई कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्र प्रसाद साह, राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष सतिश कुमार सिंहलगायतका नेताहरुले सहभागिता जनाएका छन् । बैंकका कर्मचारीहरुले स्वच्छता अभियानलाई अगाडि बढाउन प्रत्येक सप्ताहको शुक्रवार विहान सरसफाई कार्यक्रमलाई निरन्तरता दिने प्रबन्धक झाले जानकारी दिए ।
शालिक परिसरलाई थप व्यवस्थित एवम् मनोरम बनाउन जमिन खन्ने कार्य थालिसकिएको बताउँदै उनले विभिन्न जातका फूलहरु लगाईने योजना रहेको जानकारी दिए । सोही कार्यमा सहभागिता जनाउँदै नागरिक समाज सप्तरीका कार्यवाहक थानसिंह भन्सालीले सरसफाई कार्यलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा लाइफ ईन्स्योरेन्स कम्पनीका कर्मचारीहरुले समेत सहभागिता जनाएका छन् ।