• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
भाषण धेरै भो, सञ्चालन गर औद्योगिक क्षेत्र

गजेन्द्रनारायण सिंह राजविराज औद्योगिक क्षेत्रभित्र स्थापना गरिएका उद्योगका प्रोप्राइटरहरुले उद्योगमन्त्री सोमप्रसाद पाण्डेले निरीक्षण गरे लगत्तै उद्योग व्यवस्थापन समितिको कार्यालयमा गत बुधबार तालाबन्दी गरेका छन् । व्यवस्थापन समितिले आफूहरुलाई उपलब्ध गराउनुपर्ने सुविधा उपलब्ध नगराएको सुरक्षा प्रबन्ध नभएको उद्योगीहरुलाई जरिवाना छुट लगायतको सहुलियत नभएको भन्दै उद्योग सञ्चालकहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
भारतको सहयोगमा दशकौं अघि निर्माण गरिएको औद्योगिक क्षेत्रबाट जिल्लामा उद्योगधन्दा फस्टाउने, आर्थिक गतिविधि बढेर औद्योगिक वातावरण तयार हुने जनविश्वास लिएको थियो । तर, अन्य आवश्यक पूर्वाधार नभएका कारण उक्त औद्योगिक क्षेत्रका अधिकांश सेड वर्षौसम्म खाली नै रहे भने स्थापित उद्योग पनि धमाधम बन्द हुन थाले, जुन क्रम अहिलेसम्म जारी नै छ ।
उद्योगधन्दा स्थापनामा बुद्धिकालागि व्यवसायीहरुलाई प्रोत्साहन दिनु पर्ने सरकारले नीति बनाएको त छ तर सप्तरीका उद्योगपतिहरुले भने आफूहरुले यस्तो सुविधा पाउन नसकेको विजुली, पानी सुरक्षाको व्यवस्था नभएको गुनासो व्यक्त गर्दै आएका छन् । स्थापना भएका उद्योगहरुले पनि विद्युत, पानी अभावका कारण उद्योग सञ्चालनमा समस्या परेको बताउन थालेका छन् ।
सप्तरी जिल्ला कृषि, उद्योग, व्यापार लगायतका क्षेत्र पछाडि पर्दै आएको छ । सरकारले उद्योगकालागि अनावश्यक पूर्वाधारको विकास गर्न सकेको छैन । स्थापना भएका उद्योगहरुलाई प्रोत्साहनकालागि आवश्यक सुविधा र सहुलियत उपलब्ध गराई उनीहरुमा आकर्षण पैदा गरे मात्र औद्योगिक क्षेत्रमा उद्योगपतिहरुको आगमन बढ्न सक्दछ ।
उद्योगी, व्यवसायीहरुको माग र समस्याका बारेमा समयमै सुनुवाई भएन भने यसले उनीहरुमा नैराश्यता आउने निश्चित छ । औद्योगिक क्षेत्रमा उद्योगकालागि विद्यूत हटालाइन जडान त गरिएको छ, तर विद्युत आपूर्ति नियमित नभएका कारण उनीहरुले निर्वाध उद्योग चलाउन सकिरहेका छैनन् ।
यसैगरी वर्षौदेखि कायम रहेको पानीको अभावलाई पनि औद्योगिक क्षेत्र व्यवस्थापनले पूरा गर्न सकेको छैन । आवश्यक घेर बेर अभाव र सुरक्षाको भरपर्दो व्यवस्था नहुँदा बाहिरी अतिक्रमण बढ्दो छ । वर्षायाममा औद्योगिक क्षेत्रभित्र बाढी पसेर क्षति पु¥याउने गरेको लगायतका समस्याबारे तत्कालै पहल थाल्नु आवश्यक छ । आवश्यक व्यवस्था र सुरक्षा बिना नै उद्योगमा लगानीकर्ता आकर्षित हुन सक्दैनन् ।
त्यसैले सरकारले जुन नीति तय गरेको हो त्यसलाई लागु गराउने मामिलामा पनि उत्तिकै तदारुकताको खाँचो छ । मीठामीठा कुरा गरेर मात्र हुँदैन राज्यले काम गरेर देखाउनु पर्दछ । वातावरण अनुकूल हुन सके सप्तरीमा कृषिमाथि आधारित उद्योगहरुको विकासको सम्भाव्यता बढी छ । यसबाट जिल्लाको आर्थिक विकासमा टेवा पुग्न सक्दछ ।