राजविराज, २ कार्तिक । निरन्तरको लामो बन्दका कारण सप्तरी जिल्लाका मन्दिरहरुमा श्रद्धालुभक्तजनहरुको उत्साहजनक सहभागिता देखिएको छैन ।
यातायातका साधनहरु सहज रुपमा चल्न नसकेका कारण श्रद्धालुभक्तजनहरुको उपस्थितिमा कमी आएको हो । करिब दुई महिनादेखि निरन्तर मधेश ठप्प रहनुले गतविगतका वर्षहरुभन्दा यो वर्ष जिल्लाको छिन्नमस्त भगवती र कंकालिनी भगवती मन्दिर श्रद्धालुभक्तजनहरुको संख्या ह्वात्तै घटेको छ ।
विगतका वर्षहरुमा घटस्थापनाकै दिनदेखि मन्दिरहरुमा नेपाल तथा भारतको विभिन्न जिल्लाहरुबाट श्रद्धालुभक्तजनहरु आउने गरेकोमा यो वर्ष पूजा–आजा तथा बलि प्रदान गर्न आउने भक्तजनहरुको संख्यामा कमी आएको छिन्नमस्ता सखडेश्वरी शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले बताए । विगतका वर्षहरुमा भन्दा यो वर्ष मन्दिरमा विशेष सुविधाको व्यवस्था गरिए पनि श्रद्धालुभक्तजनहरु नै उल्लेख्य संख्यामा नआएको उनले जानकारी दिए ।

मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनहरुको हकमा वाहनमा ब्यानर झुण्ड्याएर आउन तथा आन्दोलनकारीहरुलाई समेत सहयोग गर्न उनले आग्रह गरे । सप्तरी वाहेकका जिल्लाहरुबाट कमै संख्यामा भक्तजनहरु आउने गरेको तथा भारतको विभिन्न राज्यहरुबाट भक्तजनहरुको सहभागिता सन्तोषजनक रहेको पीठाधीश ठाकुरले बताए ।
यस्तै देशमै प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा समेत श्रद्धालुभक्तजनहरुको संख्यामा कमी आएको छ । विगतका वर्षहरुमा घटस्थापनाकै दिनदेखि भक्तजनहरुको घुइँचो रहने गरेकोमा यो वर्ष लामो बन्द हडतालले गर्दा केही प्रभावित भएको जनाइएको छ । राँगा बलीको लागि प्रसिद्ध मानिएको कंकालिनी भगती मन्दिरमा समेत भक्तजनहरुले सवारीधानमा ब्यानर झुण्ड्याएर आउने गरेको मन्दिर समितिले जनाएको छ । आवत–जावत तथा सुरक्षामा कुनै समस्या नरहेको र मन्दिरमा समेत विशेष व्यवस्था गरिएको मन्दिर समितिका अध्यक्ष गजेन्द्रप्रसाद माझीले बताएका छन् ।