• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सर्भर डाउन हुँदा राष्ट्रिय परिचयपत्रको कार्य अवरुद्ध : सेवाग्राही मर्कामा

सर्भर डाउन हुँदा राष्ट्रिय परिचयपत्रको कार्य अवरुद्ध : सेवाग्राही मर्कामा
न्यूज टुडे
राजविराज, २८ बैशाख ।
सर्भर डाउन हुँदा  सप्तरीसहित देशभरका राष्ट्रिय परिचयपत्र बनाउने कार्य अवरुद्ध हुन पुगेको छ । एकहप्तादेखि सर्वर डाउन भइ राष्ट्रिय परिचयपत्र नवन्दा सेवाग्राहीहरु मर्कामा परेको हो ।
सरकारले राष्ट्रिय परिचयपत्रको नीति ल्याएर जिल्ला प्रशासन कार्यालयबाट वितरणको व्यवस्था मिलाए पनि विभिन्न बहानामा सेवा प्रभावित हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको सेवाग्राहीहरुको गुनासो छ । कहिले सर्भर डाउन त कहिले भीड देखाउँदै अनावश्यक दुख दिने गरेको राष्ट्रिय परिचयपत्रका लागि हप्तादिन देखि पर्खिरहेकी एक सेवाग्राहीले बताइन् ।
‘हप्तादिन देखि जिल्ला प्रशासन कार्यालय सप्तरी आउने दैनिकी जस्तै भएको छ’ उनले भनिन्,’काम हुन्छ भनेर ९ बजेदेखि लाइन लाग्दा सर्भर  डाउन छ, काम हुँदैन भनि जबाफ पाइन्छ । सर्भर  डाउनको समस्याको मार कहिले सम्म हो । यस्तो नियतिबाट कहिले मुक्ति पाइन्छ थाहा छैन । ‘
नयाँ जनादेशसहित देशमा सरकार परिबर्तन भएपनि जनताले राज्यबाट पाउने सेवामा परिबर्तन आउन नसकेको सेवाग्राहीहरुको दुखेसो छ । उनीहरुले सरकारले नारामा सुशासन र विधिको सनाई फुकेपनि व्यवहारमा यस्तो नपाएको भन्दै आक्रोश पोखे ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले २०८३ बैशाख २१ गतेदेखि सर्भर  डाउन हुँदा राष्ट्रिय परिचयपत्र दिने कार्य प्रभावित भएको बताए । सर्भर डाउनको समस्या देशभरी नै भएको जानकारी दिँदै उनले  यस सम्बन्धमा केन्द्रीय कार्यालयमा बुझ्दा मेसिनमा समस्या आएकोले मर्मत कार्य हुँदैछ भन्ने मात्र जवाफ आउने गरेको बताए ।