• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लगानीको उपयोग गरी नतिजामुखी परिणाम आउनुपर्छ : अध्यक्ष यादव

लगानीको उपयोग गरी नतिजामुखी परिणाम आउनुपर्छ : अध्यक्ष यादव
न्यूज टुडे
राजविराज, २२ बैशाख । 
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले कुनैपनि क्षेत्रमा राज्यले गरेको लगानी परिणाममुखी हुनुपर्ने बताएका छन् । केयर नेपालको सहयोग तथा रुपनी गाउँपालिकाको सहकार्यमा सप्तरीको रुपनीमा मंगलबार राष्ट्रिय कृषक समुह महासंघ नेपालद्वारा संचालित पोषण परियोजनाले आयोजना गरेको कृषि तथा पोषण मेला प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 
गमलामा पानी खन्याएर कृषि तथा पोषण मेला प्रदर्शनी उद्घाटन गर्दै अध्यक्ष यादव । फोटो : न्यूज टुडे
प्रदर्शनी मेला उद्घाटन गर्दै अध्यक्ष यादवले किसानहरुले   उत्पादन गरेको स्थानीय कृषि उपज देख्दा खुशी लागेको बताए । उनले प्रदर्शनीले किसानहरूमा पोषण युक्त कृषि उपज उत्पादन गर्न हौसला मिल्ने विश्वास व्यक्त गर्दै स्वच्छ र सुरक्षित खानेबानीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पोषण परियोजनाले मानव स्वास्थ्यमा सहयोग पुग्ने बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष यादवले कार्यक्रममा गरिएको लगानीको उपयोग गरि लाभ लिने दिशातर्फ सक्रिय हुन आग्रह गरे ।  पोषण परियोजनाले किसानहरुलाई व्यवसायीक खेती तर्फ आकर्षण गराएको उल्लेख गर्दै अध्यक्ष यादवले परियोजनालाई थप विस्तार गरि निरन्तरता दिनुपर्नेमा जोड दिए । 
प्रदर्शनी उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
गाउँपालिकाले किसानप्रति समर्पित भएर योजना ल्याएको र सिचाइका लागि विधुत महसुल समेत निशुल्क गरेको बताउँदै अध्यक्ष यादवले अझै किसानलाई थप सुविधा बढाउँ दै जाने प्रतिबद्धता व्यक्त गरे ।
उनले सामाजिक रुपान्तरणका लागि शिक्षामा जोड दिदै आफ्ना सन्तानलाई कुलतबाट टाढा रख्न र शिक्षामा प्रेरित गर्न अभिभावकहरुको भुमिका महत्त्वपूर्ण हुने बताए । बालबालिकाहरु  दिनप्रतिदिन लागूऔषधको कुलतमा फँसेको प्रति चिन्ता व्यक्त गर्दै उनले यसबाट टाढा राख्न नेता तथा शिक्षकबाट सम्भव नहुने भएकोले स्वयं अभिभावकले निगरानी बढाउनुपर्ने आवश्यकता औल्याए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादव । फोटो : न्यूज टुडे
प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले कृषिमा महिला सहभागीता बढेको भन्दै खुशी व्यक्त गरे । उनले पोषण परियोजनाले बालबालिकामा कुपोषण न्यूनीकरण हुने तथा  बालमृत्यु दर कमी हुने बताए । 
परियोजनाका कृषि तथा बजारीकरण अधिकृत संजय कुमार पण्डितले मेलाको उदेश्य बारे प्रकाश पार्दै विषादी मुक्त अर्गानिक खेती र पोषण युक्त खानामा समुदायलाई प्रोत्साहन गर्न मेलाले टेवा पुग्ने बताए ।
उत्कृष्ट समुहलाई मायाको चिनो प्रदान गर्दै कृषि तथा बजारीकरण अधिकृत संजय कुमार पण्डित । फोटो : न्यूज टुडे
राष्ट्रिय कृषक समुह महासंघ नेपाल रुपनी गाउँपालिकाकी कोषाध्यक्ष रेखा खंगको अध्यक्षतामा आयोजित कार्यक्रममा १० वटा समुहलाई उत्कृष्ट घोषणा गरि पुरस्कृत गरिएको थियो । 
उक्त प्रदर्शनीमा लालिगुराँश महिल्ल कृषक समुह रुपनी ६ नयाँबस्ती प्रथम, गेंडसिह महिला कृषक समुह रुपनी ६ भटनिया दोश्रो, शनिदेव महिला कृषक समुह रुपनी ६ विरेन्द्र बजार तेस्रो र महालक्ष्मी महिला कृषक समुह रुपनी ४ छपकीले सान्त्वना स्थान प्राप्त गरेको छ । 
यसैगरी ससिया महाराज महिला कृषि समुह रुपनी ६ तेरहौता पाँचौ, माँ भगवती महिला कृषक समुह रुपनी ५ बसवट्टी छैठो, बजरंगवली महिला कृषक समुह,रुपनी ५ बसविट्टी सातौं,दलित महिला कृषक समुदाय रुपनी १ रायपुर आठौं,धन ल्क्ष्मी महिला कृषक समुह रुपनी ४  छपकी नवौं र  पाँचु नाथ वाबा महिला कृषक समुह रुपनी ४ छपकीले दशौ स्थान हाँसिल गरेको परियोजनाका कृषि तथा बजारीकरण सहजकर्ता मुकेश कुमार यादवले जानकारी दिए । 
उन्तीस कृषक समुहद्वारा कृषि उपज प्रदर्शनीमा १० उत्कृष्ट भएका समुहका प्रतिनिधिहरुलाई गम्छा ओढाएर सम्मान गरि मायाको चिनो प्रदान गरिएको परियोजनाकी रुपनी गाउँपालिका सहजकर्ता रम्भा कुमारी साहले बताइन् । 
कार्यक्रम संचालन राष्ट्रिय कृषक समुह महासंघ सप्तरीका संस्थापक अध्यक्ष सुखीलाल यादवले गरेका थिए ।