न्यूज टुडे
राजबिराज, २२ वैशाख ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) महोत्तरीका अध्यक्ष ललन मण्डलमाथि भएको ज्यान मार्ने धम्की र दुर्व्यवहारप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ । मधेस प्रदेश महासचिव बृजमान तामाङले अध्यक्ष मण्डलमाथि भएको ज्यान मार्ने धम्की र दुर्व्यवहारप्रति घोर आपत्ति जनाउदै घटनाको निन्दा गरेका हुन् ।
समाचार लेखेकै निहुँमा पत्रकार मण्डलमाथि भएको ज्यान मार्ने धम्की र दुर्व्यवहारप्रति प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै तामाङले घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरि कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसंग आग्रह गरे ।
यसैगरी प्रेस जनमत संघ केन्द्रीय समितिले आफ्ना केन्द्रीय महासचिव मण्डल माथि भएको ज्यान मार्ने धम्की र दुर्व्यवहारप्रति कडा आपत्ति जनाएको छ। संघले मंगलबार एक प्रेस विज्ञप्तिजारी गर्दै घटना निन्दनीय रहेको जनाएको हो ।
संघका अध्यक्ष अवधेश कुमार झाद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै सञ्चारकर्मी, नागरिक समाज र सरोकारवाला पक्षलाई एकजुट हुन आह्वान गरेका छन्। “प्रेस स्वतन्त्रतामाथि आक्रमण लोकतन्त्रमाथि आक्रमण हो,” विज्ञप्तिमा उल्लेख छ।
संघले समाचार प्रकाशनकै कारण पत्रकारलाई धम्क्याउने, दबाब दिने र मानसिक आतंक सिर्जना गर्ने कार्य प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भएको जनाएको छ। यस्ता गतिविधिले समग्र पत्रकारिता क्षेत्रलाई नै त्रसित बनाउने चेतावनीसमेत दिइएको छ।
प्रेस जनमत संघले सम्बन्धित सुरक्षा निकाय र प्रशासनसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै, महासचिव मण्डलको जीवन तथा पेशागत सुरक्षाको सुनिश्चितता गर्न पनि आग्रह गरेको छ।
बर्दिबास नगरपालिका–१४ निवासी तथा न्यू बर्दिबास कम्प्युटर सप्लायर्स एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक कौशल महतोले अज्ञात नम्बरबाट फोन गरी “जहाँ भए पनि मार्छु” जस्ता धम्कीपूर्ण अभिव्यक्ति दिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा महतो समूहसहित पत्रकारको कार्यस्थलमै पुगेर डर–त्रास सिर्जना गरेको आरोप लगाइएको छ।