• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
केही समययता यात्रामा अनेकन कठिनाई उत्पन्न हुन थालेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि सँगै कुनै पनि सार्वजनिक यातायातमा भाडा वृद्धि भएको छ ।
ढुवानीका साधन समेतको भाडा वृद्धि भएपछि महंगी पनि चुलिँदै गएको छ । वर्षायाम (मनसुन) आउन अहिले बाँकी नै छ । तर प्रि–मनसुनको साधारण वर्षामा समेत ठाउँ–ठाउँमा सडक यातायात अवरुद्ध हुन थालेका छन् । घर छोड्ने बेलाको मौसम ठीकठाक अवस्थामा रहे पनि यात्राकै क्रममा हुने सामान्य वर्षाले पनि सडक अवरुद्ध हुन थालेका छन् । गत १२ गते रोशी खोलामा आएको बाढीले विपी राजमार्ग खण्ड बन्द भयो । बाढीले डाईभर्सन बगाउँदा लामो समयसम्म सडक अवरुद्ध हुन पुग्यो, यात्रुहरुले पाउनुसम्म सास्ती पाए । नेपालथोक देखि भकुण्डेबेसी सम्मको ३० कि.मि. सडकखण्डमा निर्माण कार्य जारी रहेका कारण खोलाबाट यातायातका साधन सञ्चालनको व्यवस्था मिलाईएको छ । तर सामान्य वर्षामै खोलाको डाईभर्सन बगेर यातायात अवरुद्ध  हुने भएका कारण यात्रुले बीच बाटोमै अलपत्र बन्नु परिरहेको छ । समस्या विपी राजमार्गको मात्र होईन नारायणगढ–मुग्लिन सडक खण्डमा पनि पहिरो जान थालिसकेको छ । ठूलो वर्षा सुरु नभईकनै यसरी सडक अवरुद्ध हुन थालेपछि सुरक्षित यात्रा गर्न पनि समसया उब्जिन थालेको छ । अहिलेदेखि नै सडकमा अवरोध आउन थालेपछि मनसुन सुरु भईसकेपछि सडक यात्रा कसरी सम्भव हुन सक्ला भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो ।
यात्रुले सुरक्षित यात्रा गर्न सकून, सडक अवरुद्ध भएर बीचमै अलपत्र पर्नु नपरोस् भन्नका लागि सडकको अवस्थाका बारेमा निरन्तर जानकारी दिने, अबरुद्ध सडक सुचारु गर्नका लागि आवश्यक उपकरणको व्यवस्था मिलाउने तथा यात्रामा जोखिम रहेको अवस्थामा सुरक्षित स्थानमा सवारी साधनलाई रोक्ने लगायतका विषयमा आवश्यक व्यवस्था मिलाउन जरुरी छ ।