न्यूज टुडे
राजविराज,२० बैशाख ।
प्रेस मञ्च नेपालद्वारा विश्व प्रेस स्वतन्त्रता ( मे ३ , २०२६ ) दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । संघीय समितिका उपसचिव वैद्यनाथ यादवले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् ।
संघीय समितिको तर्फबाट सम्पूर्ण श्रमजीवी पत्रकार, सञ्चारगृह तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर नागरिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ उपमहासचिव यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो भन्ने यथार्थ हुँदाहुँदै पनि पछिल्लो समय नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि संगठित, योजनाबद्ध र निरन्तर आक्रमण भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’प्रेस मञ्च संघीय समितिद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक संविधान लागू भएको एक दशक नबित्दै प्रेस स्वतन्त्रता हननका घटनाहरू बढ्दै जानु राज्यको असफलता मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रत्यक्ष प्रहार हो।’
सरकारद्वारा सञ्चार क्षेत्रप्रति देखाइएको विभेदपूर्ण व्यवहार, सरकारी तथा लोककल्याणकारी विज्ञापनमा गरिएको संकुचन, र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएका नीतिगत प्रयासहरू निन्दनीय सह्र्को र अस्वीकार्य नभए भन्दै प्रेस विज्ञप्तिमा प्रेसमाथिको यस्तो हस्तक्षेप कुनै पनि हालतमा सह्य नहुने बताए ।
‘पछिल्लो तथ्यांकहरूले पत्रकारमाथि धम्की, दुर्व्यवहार, आक्रमण, पक्राउदेखि सञ्चारगृहमा आगजनी र लुटपाटसम्मका घटनाहरू तीव्र रूपमा बढेको देखाएका छन्। प्रेस मञ्चले भनेका छन् ‘यस्ता घटनामा राज्यको प्रभावकारी उपस्थितिको अभाव र दोषीमाथि कारबाही नहुनु दण्डहीनताको ज्वलन्त उदाहरण हो। यो अवस्थाले प्रेस स्वतन्त्रता मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थामाथि नै गम्भीर संकट निम्त्याएको छ।’
‘जेनजी आन्दोलनका क्रममा सञ्चारगृहहरूमाथि भएको आक्रमण, आगजनी र व्यापक भौतिक क्षति राज्यको सुरक्षात्मक दायित्वमाथिको असफलताको प्रत्यक्ष प्रमाण हो। यस्ता घटनामा संलग्न दोषीहरूलाई तत्काल छानबिन गरी कडा कारबाही नगरेसम्म प्रेस क्षेत्र सुरक्षित हुन सक्दैन’ मञ्च द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘सञ्चारसम्बन्धी विभिन्न विधेयक र नियमावलीमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रित गर्ने प्रयासहरू तुरुन्त रोकिनुपर्छ। अन्यथा, प्रेस मंच नेपाल यस्ता प्रतिगामी कदमविरुद्ध देशव्यापी सशक्त आन्दोलन गर्न बाध्य हुनेछ भन्ने चेतावनी दिन चाहन्छ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै पनि प्रयासविरुद्ध प्रेस मंच नेपाल सम्झौताहीन ढंगले उभिनेछ। पत्रकारको पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथि आघात पुग्ने कुनै पनि कदमलाई प्रतिरोध गरिनेछ, विज्ञप्तिमा भनिएको छ ।
उप महासचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ :- ‘सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै पत्रकारमाथि भएका सबै प्रकारका आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, सञ्चार क्षेत्रलाई आर्थिक रूपमा सबल बनाउन, र दमनकारी नीतिहरू फिर्ता लिन जोडदार माग गर्दछौं।”
प्रेस मञ्चद्वारा जारी विज्ञप्तिमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धनका लागि सम्पूर्ण सञ्चारकर्मी, पेशागत संगठन तथा नागरिक समाजसँग ऐक्यबद्धता कायम गर्न अपिल समेत गरेको छ ।