• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको पूर्वोत्तर भेगका बासिन्दा हिंश्रक जंगली जनावरको आक्रमणले दसकौंदेखि आतंकित रहँदै आएका छन् । पछिल्लो क्रममा आईतबार मध्यराती अग्नीसाईर कृष्णसवरण गाउँपालिका–६ मोहनपुर निवासी ६६ बर्षिय यज्ञश्वर निरौलाको जंगली हात्तीको आक्रमणमा परी ज्यानै गएको छ ।
यस अघि पनि हिंश्रक जंगली जनावरको आक्रमणमा परेर कैयौंको ज्यान गईसकेको छ । जंगली जनावरको आक्रमणले कतिको अङ्गभङ्ग· समेत भएको छ । खेतिपाती गरेर गुजारा चलाउने गरेका त्यस भेगका बासिन्दाको राती राती आउने हुलका हुल जनावरले  खेतबारीमा पसेर बालिनालीमा क्षति गर्ने, बस्तीमा पसेर घर भत्काउने देखि मानिसलाई नै आक्रमण गर्ने  भएका कारण राती निश्चित भएर निदाउन सक्ने अवस्था समेत छैन । कतिबेला आक्रमणमा परिने हो भन्ने डरका कारण उनीहरु जाग्राम बस्न बाध्य छन् । जंगली जनावरको उपद्रोवबाट सुरक्षाको माग गर्दै त्यस भेगका जनताले पटक–पटक आन्दोलन समेत गरिसकेका छन् भने निर्वाचनका समयमा चुनाव लड्ने हरेक जसो उम्मेदवारले यो समस्याको समाधानक लागि पहलको प्रतिबद्धता जनाउँदै आएका छन् । यस्ता प्रतिबद्धता हरेक जसो चुनावका समयमा दोहोरिने गरेका भएपनि व्यवहारतः जनताले त्यसको अनुभूति पाउन सकिरहेका छैनन् ।
जंगली हात्ती, अर्ना, बँदेल, भालु लगायतका जनावरको आक्रमणमा परेर जनताको ज्यानै जाँदा पनि सुरक्षाको भरपर्दौ व्यवस्था नहुनु भनेको जनताको सुरक्षाप्रतिको हेलचेक्रयाइँ नै हो भन्दा अन्यथा नहोला । जनताको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी सरकारको रहेका कारण यस्तो सम्वेदनशील विषयलाई गम्भीरताका साथ लिन आवश्यक छ ।