न्यूज टुडे
राजविराज,१२ बैशाख ।
प्रेस मञ्च नेपाल सप्तरीले पत्रकार महासंघ सप्तरीमा केही दिन यता देखिएको विवाद दुबैपक्षको सहमतिमा टुँग्याउन आग्रह गरेको छ । शाखा सचिब प्रवेश कुमार मिश्रद्वारा शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै विवाद टुँग्याएर एकताको संदेश प्रवाह गर्न आग्रह गरेको हो ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा विगत चारदिन देखि शाखाका सहसचिब कृष्ण कुमार मण्डल विभिन्न माग राखेर धर्नामा रहेको विषयमा प्रेस मञ्च नेपाल सप्तरीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘प्रेस मञ्च नेपाल सदैव पत्रकारहरुको हकहितसंगै पत्रकार महासंघको गरिमालाई थप उच्च बनाउने पक्षधर संस्था हो’ विज्ञप्तिमा भनिएको छ,’ कुनैपनि संघसंगठन सदस्यहरुको उपस्थितिले नै चल्ने गर्छ र संस्थाको मर्यादालाई थप सुदृढ गर्ने हरेक सदस्यहरुको नैतिक कर्तव्य पनि हो ।’
संस्थामा सदस्यहरु वीच सहमति विमति सामान्य प्रक्रिया भएको बताइएको विज्ञप्तिमा त्यसलाई सामान्य रुपमा लिनुपर्ने भनिएको छ ।
महासंघ र सह सचिव वीच देखिएको असहमतिका कारण सामाजिक संजाल मार्फत पत्रकार वीच द्वन्द रहने गरेको भ्रम आमजनमा संचार भइरहेको उल्लेख गर्दै विज्ञप्तिमा यसमा दुबैपक्षलाई आत्माचिन्तन तथा आपसी छलफल गरेर संस्थाको हित सर्वोपरि राखी उक्त विषयलाई यथासिघ्र टुङ्ग्याएर एकताको संदेश आमजनमा प्रवाह गर्न अनुरोध गरिएको छ ।