नगरको सुन्दरतामा पार्कहरुको भूमिका महत्वपूर्ण रहने कुरा निर्विवाद छ । पञ्चायतकालमै बेपत्ता पारिएका सप्तरीका सपुत साकेतचन्द्र मिश्रको स्मृतिमा स्थापना गरिएको यो पार्क स्थापनाको केही समयपछिदेखि बन्द हुन पुगेको थियो । खुला क्षेत्र, हराभरा उद्यान, रंगीविरंगी फूलैफूलले सुशोभित पार्कको नियमित सञ्चालन होस् भन्ने नगरबासीको चाहना रहँदै आएको थियो ।
विगतमा पनि ठूलो रकम खर्च गरेर निर्माण भएको पार्क संरक्षण अभावका कारणले यसको सुन्दरता र मनमोहकता विग्रेर भएको थियो । ढिलै भए पनि राजविराज नगरपालिकाले शनिाबरदेखि यस महत्वपूर्ण संरचनालाई पुनर्सञ्चालनमा ल्याएको छ । पार्क त्यत्तिकै सञ्चालनमा आएको चाहीँ होईन । यसका लागि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायतको अथक मिहिनेत रहेको छ । पार्कलाई सञ्चालनमा ल्याएपछि यसले नगरपालिकाको समृद्धि र प्रतिष्ठा पनि बढ्ने कुरामा आशंका रहने छैन । देशकै पुराना नगरपालिका मध्येको एक हुनाका साथै शहरी योजनाका आधारमा बनेको पहिलो नगरपालिका हो राजविराज । यति महत्वपूर्ण नगर रहे पनि यहाँ व्यवस्थित पतर्ककको अभाव खस्किँदै गएको विषय पनि हो ।
नगरपालिकाले यसलाई सञ्चालनमा ल्याउनका लागि चासो लिएर सकारात्मक कार्य गरेको छ । अब यसलाई सञ्चालनको समय निर्धारण गरी त्यसलाई व्यवस्थित राख्ने तर्फ पनि ध्यान पु¥याउनु पर्ने आवश्यकता छ । संरक्षणप्रति सचेतना नअपनाउँदा पार्कको सुन्दरता खस्केर जानेमा आशंका रहने छैन ।