न्यूज टुडे
राजविराज,०९ बैशाख ।
नेतृत्व विरुद्ध असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ सप्तरीको मुलगेटमा धर्ना बसेका शाखाका सह सचिब कृष्णा कुमार मण्डलले आन्दोलन स्थगित गर्न महासंघले गरेको आग्रहलाई अस्वीकार गरेका छन् । नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले मण्डललाई भेटेर आन्दोलन स्थगित गर्न गरेको प्रस्तावलाई अस्वीकार गरेका हुन् ।
नेपाल पत्रकार महासंघ सप्तरीको साधारणसभा बैशाख २५ गते गर्ने निर्णय भएकोले धेरै माग सम्बोधन हुने सुनिश्चित भएकोले आन्दोलनका कार्यक्रम स्थगित गर्न अध्यक्ष देवले प्रस्ताव गरेका थिए । सहसचिव मण्डलले यथास्थितिमा आन्दोलन फिर्ता नलिने भन्दै आफूलाई समर्थन गर्ने साथीहरूसंग छलफल गरेर मात्र निर्णय लिन सकिने बताए ।
कार्यसमितिले सम्बोधन गर्न सक्ने मागहरु सम्बोधन भएमात्र पुनरविचार गर्न सकिने भन्दै उनले कार्यसमितिको बैठकबाट माग सम्बोधन नभए आन्दोलनलाई निरन्तरता दिने बताए ।
अध्यक्ष देवसंगै धर्ना बसेका सह सचिब मण्डललाई भेट्न पुगेका महासंघका मधेस प्रदेश उपाध्यक्ष अम्विका दाहालले समेत आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए ।
माग सम्बोधन हुने ठोस आधार नभएको र आन्दोलन तुहाउने प्रपन्च मात्र रचिएको आरोप लगाउँदै मण्डलले आन्दोलनबाट पछि नहट्ने अडान दोहोराएका थिए । धर्ना बसेका मण्डललाई भेट्न केन्द्रीय सदस्य ललिता कुमारी साह, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु पुगेका थिए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा बेथिति, मनोमानी र अपारदर्शी कामकाज भइरहेको भन्दै सहसचिव मण्डल बुधबारदेखि ८ बुँदे माग अघि सार्दै महासंघको मूलगेटमा धर्ना बसेका छन् ।
कार्यसमितिका सचिवले राजिनामा दिइसकेको तर, महासंघमा ‘सिण्डीकेट’ चलाउनका लागि उनको राजिनामा स्वीकृत नगरेको मण्डलको आरोप छ । सचिव पदसम्बन्धी अन्योल तत्काल अन्त्य गरी औपचारिक निर्णय सार्वजनिक हुनुपर्ने, नयाँ सदस्यता तत्काल पारदर्शी, निष्पक्ष र मापदण्डअनुसार वितरण हुनुपर्ने, सल्लाहकारहरूको नाम आधिकारिक रूपमा बोर्डमा समावेश हुनुपर्ने लगायतका उनले माग अघि सारेका छन् ।