न्यूज टुडे
राजविराज,०२ बैशाख ।
उज्यालो नेपाल पार्टीका नेता एवम् सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी उम्मेदवार डा. दिपक चौधरीले सरकारको १८ बुँदे राष्ट्रिय प्रतिबद्धता उच्च राजनीतिक संस्कारको नमूना भएको बताएका छन् । न्यूज टुडेसंग बुधबार संक्षिप्त कुराकानी गर्दै डा. चौधरीले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।
डा. चौधरीले देशको विकासको लागि आवश्यक योजना र रणनीति प्रतिबद्धता पत्रमा प्रस्तुत गरिएको बताए ।
‘नेपाललाई दुई देशको बफर राज्य होइन कि अब भइब्रेन्ट राज्यको रुपमा लाने कुरा गरिएको छ, जुन आर्थिक दृश्टिकोणले महत्वपूर्ण छ’ उनले भने, ‘यसलाई सही मानेमा लागू गर्न सके नेपालले विश्वका दुई उदयमान आर्थिक शक्ति चीन र भारतबाट मनग्ये आर्थिक फाइदा पाउन सक्ने छ ।’
उनले शासकीय सुधारको सन्दर्भमा हरेक सेवाहरु डिजिटलाइजेशन मार्फत दिने भनिएकोले व्यवहारमा यो उतार्न सके नेपालको प्रशासनिक क्षेत्रमा क्रान्ति हुने र यसबाट तल्लो तहका जनता लाभानित हुने विश्वास व्यक्त गरे ।
पर्यटन क्षेत्रलाई महत्व दिइएको प्रतिबद्धतामा मधेशका केही महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलहरु सप्तरीको छिन्नमस्ता र बाराको गढीमाईसिम्रौनगढ छुटेको भन्दै उनले यी विश्व धार्मिक सम्पदा सूचीमा परेको स्थललाई समावेश गर्न सुझाव दिए ।
मोरङ्गको विराट क्षेत्र पनि महत्वपूर्ण एतिहासीक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उल्लेख गर्दै उनले यसमा राष्टिय दलहरुको राय लिने भनिएकोले पनि यसले राष्ट्रिय प्रतिबद्धता
योजनालाई थप मजबुत गर्ने विश्वास व्यक्त गरे ।
स्वतन्त्र वास्तविक विज्ञहरुबाट थप रायसुझाव लिई अघि बढाउँदा यो थप राम्रो हुने उनको भनाइ छ।
सबै राष्ट्रिय दलहरुको घोषणा पत्रलाई आधार बनाई र ती दलहरुबाट समेत राय लिई थप सशक्त बनाउने अभ्यास आफैमा महत्वपूर्ण मान्नुपर्ने उनले तर्क गरे ।
यसलाई उच्च राजनीतिक संस्कारको रुपमा लिनुपर्ने डा. चौधरीको कथन रहेको छ ।