नयाँ शैक्षिक सत्र सुरु हुन अव थोरै समय मात्र बाँकी छ । वार्षिक परीक्षा सम्पन्न भएपछि त्यसको नतिजा सार्वजनिक भएपछि विद्यालयहरु नयाँ शैक्षिक सत्रको तयारीमा जुट्ने छन् । यस क्रममा विद्यालयहरुमा पाठ्यपुस्तक समयमा पुग्न सकेन भने त्यसले पठनपाठनमा समस्या पर्नेमा सन्देह रहने छैन ।
विशेषतः निजी विद्यालयहरुमा पहिलेका पुस्तक परिवर्तन गर्ने र नयाँ प्रकाशकका पुस्तकलाई पाठ्यक्रममा समाबेश गर्ने परिपाटी बढी रहने गरेको देखिन्छ । यसले गर्दा पुस्तक खोज्दाको हैरानीमा विद्यार्थी तथा तिनका अभिभावकहरु पर्ने गरेका छन् । समयमा पुस्तक नपाईने,पुस्तक पसलमा अत्यधिक भिडभाड रहने तथा यही मौका छोपेर कतिपय पुस्तक पसलेले बढी मूल्यमा पुस्तक बेचेर अभिभावकको शोषण गरेका सम्मका घटना विगतमा भईसकेका छन् । सामान्यतया पुस्तक किन्दा केही न केही छुट पनि दिने गरेको पाईन्छ । पुस्तकमा अंकित मूल्यमा केही प्रतिशत घटाएर भुक्तानी लिने गरिएका कारण यसले अभिभावकलाई थोरै भए पनि राहत मिल्ने गरेको पाईन्छ । तर भिडभाडको मौका छोपेर यस्तो छुट पनि नदिएर पूरा मूल्य असुल्ने गर्नाले अभिभावकहरु यस प्रकारको सुबिधाबाट पनि बञ्चित हुनु पर्ने अवस्था आउने गरेको छ ।
तसर्थ अभिभावकहरुमाथि परिरहेको आर्थिक भार प्रति पनि ध्यान दिएर सकेसम्म गत वर्षकै पुस्तकलाई पाठ्यक्रममा समाबेश गर्ने व्यवस्था भएमा यसले केही न केही राहत नै मिल्न सक्दछ । पहिलेदेखि समाबेश गरिएका पाठ्पुस्तक विना कारण परिवर्तन गर्दा विद्यालय तथा तिनका सञ्चालकलाई त आर्थिक भार नपर्ला । कतिपय नयाँ प्रकाशकले केही प्रलोभन पनि दिन सक्लान् । तर यसबाट विद्यार्थी र अभिभावकमाथि आर्थिक भार संगै हैरानी बढ्ने कुरामा पनि सोच्नु सान्दर्भिक हुनेछ ।