• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हुजदार सेवा समाजको दोश्रो साधारणसभा तथा आठौं सम्मेलन सम्पन्न

हुजदार सेवा समाजको दोश्रो साधारणसभा तथा आठौं सम्मेलन सम्पन्न
न्यूज टुडे
राजविराज,२८ चैत ।
हुजदार सेवा समाजको दोस्रो बार्षिक साधारणसभा तथा आठौं केन्द्रीय बंशावली सम्मेलन २०८२ सम्पन्न भएको छ । हुजदार सेवा समाज तथा हुजदार वंशावलीका केन्द्रीय अध्यक्ष प्रमोद हुजदार थारुको अध्यक्षता तथा सप्तकोसी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्य एवम् उपप्रमुख रिता कुमारी चौधरीको विशिष्ट आतिथ्यमा सप्तकोसी नगरपालिका ३ स्थित सखुवनीमा शनिबार आयोजित एक समारोहका वीच साधारणसभा तथा आठौं सम्मेलन सम्पन्न भएको हो ।
हुजदार वंशावलीद्वारा प्रकाशित पुस्तक ग्रहण गर्दै पत्रकार बृजमान तामाङ । फोटो : न्यूज टुडे
साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख ढकालले वंशावलीको खोज अनुसन्धानले इतिहास संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने भएकोले यसलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । कुनैपनि जातजातिको इतिहास राष्ट्रको धरोहर भएको बताउँदै उनले नगरपालिकाले थारु समुदायको प्राचीन सभ्यतालाई टेकेर जेवार मेन्जन ऎन २०८२ बनाएर कार्यान्वयन ल्याइएको उल्लेख गरे । 
आजीवन सदस्यलाई सम्मान तथा कदर पत्रद्वारा सम्मान गर्दै प्रमुख अतिथि नगरप्रमुख ढकाल । फोटो : न्यूज टुडे
ऎन कार्यान्वयनमा आए संगै पूर्वजहरुले अभ्यास गरेको सामाजिक प्रथाजन्य कानूनले निरन्तरता पाएको भन्दै उनले यो संगै परम्परागत ज्ञान शीप, पेशा , परम्परागत धार्मिक तथा साँस्कृतिक मुल्यमान्यताको जगेर्नाको साथै समाजिक रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सप्तकोसी नगरपालिकामा कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै नगरप्रमुख ढकालले थारु, आदिवासी जनजातिको परम्परागत ज्ञान शीप, बाजा, भाषा, पहिरन, धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
उपप्रमुख रिता कुमारी चौधरीले  भेलाले आपसी चिनजान र पहिचानमा ठूलो सहयोग पुग्ने बताउँदै यसबाट सामाजिक विकृति समेत न्यूनीकरण हुने विश्वास व्यक्त गरिन ।
थारु भाषा संस्कृति संरक्षण संघ नेपालका अध्यक्ष गयानन्द चौधरीले श्रोत, साधन, शिक्षा सहित सबैप्रकारले सम्पन्न भएपनि सकारात्मक सोच र इच्छा शक्ति नहुँदा थारु समुदाय पछाडि परेको बताए । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले बर्तमान सरकारबाटै व्यवस्थामाथि खतरा भएको आशंका व्यक्त गर्दै निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । आदिवासी जनजातिको पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताको लागी आफ्नो उर्जावन जीवन समर्पण गरेको चर्चा गर्दै उनले आफूहरुले लडेर ल्याएको व्यवस्थामा थोरै भएपनि प्राप्त अधिकारको रक्षा र थप अधिकार प्राप्तिका लागि सामाजिक संघसंस्थालाई सक्रिय बनाउन आग्रह गरे । 
नृत्य प्रस्तुत गर्दै हुजदर वंशावलीका बालिकाहरु । फोटो : न्यूज टुडे
हुजदार समाजका संरक्षक एवम् खोज तथा अनुसन्धानकर्ता इन्जिनियर लक्ष्मी नारायण हुजदारले  हुजदार सेवा समाज र वंशावली बारे प्रकाश पार्दै  देशभरी छरिएर बसेका दाजुभाइलाई गोलबद्व गरि एकआपसमा पहिचान गराउन समाज र वंशावली स्थापना गरिएको बताए । 
हुजदार सेवा समाज तथा वंशावली सप्तकोसी नगरपालिका ३ सखुवनीद्वारा आयोजित कार्यक्रममा पन्जियार वंशावलीका केन्द्रिय अध्यक्ष एवम् थारु कल्याणकारी सभाका पूर्व केन्द्रीय कोषाध्यक्ष जयराम पन्जियारलगायतका  देशभरबाट समाजका अगुवाहरुको सहभागिता थियो । 
उक्त अवसरमा समाजका आजीवन सदस्यहरुलाई सम्मान पत्र र कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि नगर प्रमुख ढकाल, उपप्रमुख चौधरी, पत्रकार तामाङले सम्मान पत्र , टीका  र गम्छाद्वारा सम्मान गरे ।
कार्यक्रममा थारु भेषभूषामा सजिएका बालबालिकाहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । स्थानीय किशोरी दिपज्वती हुजदारद्वारा संचालित कार्यक्रममा स्वागत रिमा हुजदारले गरिन ।
साधारणसभा तथा वंशावली सम्मेलनमा अध्यक्ष प्रमोद हुजदारद्वारा प्रस्तुत आव २०८१/०८२ को बार्षिक प्रतिबेदन, कोषाध्यक्ष ममता हुजदारद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन र संरक्षक लक्ष्मी नारायण हुजदारद्वरा प्रस्तुत आव २०८२/०८३  को भावी नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको समाजका बुद्धिजीवी केशव चौधरीले जानकारी दिए ।