सुदुरपश्चिम स्थित कञ्चनपुर कारागारमा कैदीबन्दी बचि झडप भएको छ । आपसी मनमुटावका विषयमा दुई पक्षका बीचको झडपमा पाँच जना घाईते भएका छन् । बुधबार भएको झडपमा परेर घाईते मध्येका तीन सहित १५ जनालाई सोही दिन बाँकेस्थित कारागार स्थानान्तरण गरिएको छ ।
कारागारभित्र बाहिरबाट मदिरा तथा लागू औषध भित्र्याएर महँगोमा बेच्ने गरेको विषयलाई लिएर कारागारका चौकीदार र नाईकेका बीच बढ्दो विवादका क्रममा झडप भएको बताईएको छ । यस्ता प्रतिबन्धित वस्तु कारागारभित्र लगेर कारोबार हुनुले त्यहाँको सुरक्षा व्यवस्था फितलो छ भन्ने कुरा जो कोहीले सहजै अनुमान गर्न सक्दछन् । उसै पनि मुलुकका अधिकांश कारागारमा अनेकौं समस्या छन् । क्षमता भन्दा बढी कैदीबन्दीलाई राख्नु पर्ने धेरै कारागारको बाध्यता नै छ । यसैगरी धेरै कारागारको अवस्था जीर्ण रहेको छ । यावत समस्याका बीच लागू पदार्थ भित्र्याएर त्यसको कारोबार समेत गरिन थालेपछि यसले कारागारको सुरक्षा व्यवस्था प्रभावित हुनु स्वाभाविकै हुन जान्छ । कुरा कञ्चनपुर स्थित कारागार मात्रको होईन । अन्य कतिपय कारागारमा पनि लागू औषध भित्रिने गरेको समाचार नआएको होईन । सुरक्षा सम्वेदनशीलतालाई ध्यानमा राखेर यसता गतिविधि विरुद्ध सख्त कडाई गरिनु पर्नेमा भित्र त्यसको कारोबार नै हुन थाल्छ भने यसको पछाडि मिलिभगत छ भन्दा अन्यथा नहोला ।
त्यसैले पहिला यस्ता अवैध तथा अवाञ्छित गतिविधि गर्ने गराउने उपर कारवाही चलाई कारागारको सुरक्षा व्यवस्थालाई सुधार्न जरुरी छ ।