न्यूज टुडे
राजविराज,२५ चैत ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-४ टेङ्गरी-बडगोरियामा रहेको कजला ठाकुर बाबा नयाँ मन्दिरमा मुर्ति स्थापना गरिएको छ । गाउँपालिका कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा बुधबार आयोजित एक समारोहका वीच पुरानो मन्दिरबाट नयाँ मन्दिरमा मुर्ति स्थापना गरिएको हो ।
कजला ठाकुर बाबाको नवनिर्मित मन्दिर उद्घाटन गर्दै प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरीले धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षणमा जोड दिइन् । धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको यस ऐतिहासीक तथा धार्मिक महत्त्व बोकेको मन्दिर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको उनले बताइन् ।
धार्मिक उद्धेश्यका साथै पिकनिक र घुमघामका लागि कजला ठाकुर मन्दिर आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएकोमा खुशी व्यक्त गर्दै उनले यसको संरक्षण तथा प्रबर्द्धनका लागि स्थानीय स्तरबाट जुट्नु अपरिहार्य रहेको उल्लेख गरिन ।
कार्यक्रममा अग्नीसाइर कृष्णासवन गाउँपालिका ४ का वडाध्यक्ष तेज नारायण यादव,नरेश कुमार मण्डल, मन्दिरका पुजारी प्रदिप कुमार मण्डलको समेत उपस्थिति थियो ।
नयाँ मन्दिर उद्घाटन तथा मुर्ति स्थापनाको अवसरमा २४ घण्टे अष्टयामको समेत आयोजना गरिएको पुजारी मण्डलले जानकारी दिए ।
धार्मिक,साँस्कृतिक,ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको कजला ठाकुर मन्दिर प्राचीन कालमा स्थापना भएको विश्वास गरिन्छ । नव वर्ष जुडसितलको शुभ अवसरमा बैशाख २ गते मेला पनि लाग्दै आईरहेको छ।
कजला ठाकुर मन्दिरमा भाकल गरेमा आंफुले सोचेको मागेको पुरा हुने जनविश्वास रहि आएको छ ।