सप्तरीको तिलाठी कोईलाडी गा.पा.–३ स्थित सकरपुरामा आधुनिक अस्पताल भवन निर्माण कार्य पूरा भईसकेको छ ।
तर त्यसको अहिलेसम्म सञ्चालन हुन नसक्दा चलन प्रयोगबिहीन अवस्थामै छ । एक त भौतिक पूर्वाधार अभावका कारण जिल्लामा धेरै क्षेत्रले समस्या खेप्नु परिरहेको छ । त्यस विपरित अत्याधुनिक भवन तयार भएर पनि सञ्चालनमा भईरहेको उदासीनताका कारण एकातिर जनताले सहज स्वास्थ्य सेवा पाउन सकेका छैनन् भने अर्कोतर्फ ठूलो लगानीबाट तयार भएको अस्पताल भवन प्रयोगबिहीन अवस्थामा पुगेको छ । यो अस्पताल सञ्चालनमा आउन सके स्वास्थ्योपचारको सुविधाबाट बञ्चित रहँदै आएका जिल्लाका पूर्व–दक्षिणी भेगका जनतालाई ठूलो राहत मिल्ने कुरामा आशंका छैन । ठेकेदार कम्पनीले निर्माण कार्य सम्पन्न गरिसकेपनि पालिकालाई हस्तान्तरण गर्न वाँकी रहेका कारण स्थानीय सरकारको भूमिकामै रहेको गाउँपालिकाले यस प्रति चासो लिन आवश्यक छ । भवन हस्तान्तरण पछि जति चाँडै अस्पताल सञ्चालनमा आउँछ जनताले उति चाँडै स्वास्थ्य सेवा पाउँदा त्यसमाथि भएको लगानी पनि सार्थक बन्नेमा शंका रहन्न । संरचना तयार भएर पनि त्यसलाई सञ्चालनमा ल्याउन नसक्ने हो भने सरोकारवाला निकायकै कमजोरी मानिने भएका कारण यो कार्यमा विलम्व गर्नाले कसैलाई पनि फाइदा नहुने निश्चित नै छ ।
त्यसैले जनतालाई स्वास्थ्योपचारका क्षेत्रमा राहत पु¥याउने धेयका साथ यसलाई चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउनका लागि गाउँपालिका लगायत सम्बद्ध सबै पक्षले चासो लिन आवश्यक छ ।