नर्मदेव यादव
रुपनी,२४ चैत ।
रुपनी गाउँपालिकाका कर्मचारीहरुले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारको निर्देशन उलंघन गरेका छन् । पोशाकसहित विहान ९ बजेदेखि कार्यालयमा उपस्थित हुन सरकारले गरेको निर्देशनलाई अटेर गर्दै कर्मचारीहरु कार्यालय समयमा अनुपस्थित भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार सरकारको नयाँ तालिका अनुसार कार्यालयमा उपस्थित भएपनि अन्य कर्मचारी भने अनुपस्थित भएको पाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुतिहार ९ बजेर ६ मिनटमा कार्यालयमा हाजिर भएपनि धैरै जसो कर्मचारीहरु समयमा कार्यालय आएका थिएनन् ।
अधिकांश शाखा प्रमुखहरु नै ढिलो कार्यालय आएका थिए भने कतिपय कर्मचारी पोशाक विनै आएका थिए । यसले कर्मचारीहरुले सरकारको निर्देशनलाई उल्लंघन गरेको प्रष्ट संकेत गरेको एक स्थानीय नागरिक अगुवाले बताए ।
कर्मचारी ९:३० बजे सम्म पनि अनुपस्थित हुनुले सरकारको निर्देशनको ठाडो उल्लंघन गरेको उनको ठम्याइ छ । गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवसहित जनप्रतिनिधिहरु समेतले बालेन सरकारको निर्देशनको पालना गर्न चासो नदिएको पाइएको उनले बताए ।