• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विपी राजमार्ग र रोशी खोलाको अवस्थाका बारेमा जानकारी लिन गृहमन्त्री सुधन गुरुंगले मंगलबार स्थलगत निरीक्षण गरेका छन् ।
पूर्वी नेपालको लागि संघीय राजधानीसम्म आवागमनका लागि ‘लाइफलाईन’ सरह मानिएको यो राजमार्ग विगतका दुई वर्ष वर्षायाममा आएको बाढीले क्षति ग्रस्त भएपछि अहिले पुनर्निमाणको चरणमा छ । राजमार्गको मात्र अवलोकन भन्दा पनि त्यस आसपासका बस्तीको अवस्था र अगामी वर्षामा सम्भावित जोखिमका बारेमा समेत जानकारी लिनका लािग गृहमन्त्रीले त्यस क्षेत्रमा जानुलाई सकारात्मक नै भन्नु पर्दछ । अवस्थाको अवलोकन पछि अब त्यहाँका जनताको सुरक्षाका बारेमा पनि काम हुनुपर्ने आवश्यकता छ । वर्षायाममा मुलुकका अन्य भागमा पनि बाढी पहिरोको जोखिम रहने गर्दछ । गत वर्ष पनि बाढीले जनधनको क्षति गरेकै हो । यसपालिको वर्षायाम पनि सन्निकट छ । त्यस अघिको सामान्य वर्षामा पनि ठाउँठाउँमा आवागमन अवरुद्ध हुन थालेका छन् । नदी तटीय क्षेत्रका बासिन्दाहरु बाढीको उच्च जोखिममा रहने गरेका कारण बाढी आयो भने उनीहरुलाई सुरक्षित स्थानमा राखेर सुरक्षा प्रदान गर्ने मामिलामा अहिलेदेखि नै आवश्यक तयारी गर्न सके क्षतिलाई न्यूनीकरण गर्नमा पनि सघाउ पुग्नेछ ।
यसैगरी पहिरोले जोखिममा रहने गरेका सडक खण्डमा यातायात सुचारु गराउनका लागि आवश्यक उपकरण पहिले देखि नै तयारी अवस्थामा राख्नुपर्ने आवश्यकतालाई नकार्न सकिन्न । समस्या आउनु अघि नै त्यसको सामनाका लागि गरिने पूर्वतयारी प्रभावकारी रहनेमा सन्देह नरहने भएकोले यस तर्पm ध्यान पु¥याउन आवश्यक छ ।