• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
एकातिर सरकारले शिक्षाको स्तर उकास्ने नाममा ठूलो रकम खर्च गर्दै आएको छ ।
विद्यालय जाने उमेरका सबै बालबालिकालाई पढाईमा सहभागिताका लागि भर्ना अभियान समेत सञ्चालन गरिएको छ । यस विपरित सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले स्थानीय विषयको पुस्तक र पढाई बिना नै परीक्षा लिने गरेको अभिभावकहरुले गुनासो गर्न थालेका छन् । पुस्तक र विषयगत शिक्षकको व्यवस्था नगरी परीक्षा चाहीँ लिएर विद्यार्थीको भविष्यप्रति उदासीनता देखाईएको उनीहरुको आरोप छ । तिलाठी कोईलाडी–४ स्थित राजेन्द्र देवकी मा.वि. कोईलाडीमा गत सोमबार परीक्षामा स्थानीय विषयको प्रश्नपत्र उपलब्ध नहुँदा परीक्षा नै नलिईएको त्यहाँका विद्यार्थीले बताएका छन् । गाउँपालिकाले स्थानीय विषयको पुस्तक खरीद र शिक्षकको व्यवस्था नगर्दा प्रश्न पत्रको समेत अभाव भएको सम्बन्धित विद्यालयका प्रधानाध्यापके जानकारी दिएका छन् । स्थानीय तहमाथि आफ्ना क्षेत्रभित्रका विद्यालयहरु समेतको जिम्मेवारी छ । तर यस्ता कुरामा समेत ध्यान नदिँदा बालबालिकाको शैक्षिक भविष्य नै चौपट हुने अवस्था आउँछ भने यसलाई सामान्य रुपमा लिन किमार्थ मिल्दैन । स्थानीय तहहरुले लिएको विकासको जिम्मेवारी पूरा गर्ने क्रममा शिक्षाको स्तर उकास्ने कुरालाई अलग्याएर हेर्न मिल्दैन ।
स्थानीय तहको साक्षरता प्रतिशत बढ्न सक्दा त्यसको विकासको स्तर पनि उकासिने भएकोले आफ्ना जिम्मेवारी भित्रका विद्यालयहरुमा निर्वाध कक्षा सञ्चालनको वातावरण तयार गर्नमा पनि जनप्रतिनिधिहरुले तदारुकता देखाउन सक्नु पर्दछ ।