न्यूज टुडे
राजविराज ,२१ चैत ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशका संयोजक मनोहर पोखरेलले समाजमा विभेदका घटना कायम रहेकाले मानव अधिकार रक्षकहरुको भूमिकालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । इन्सेक र दलित महिला संघ (फेडो)को आयोजनामा विराटनगरमा शनिबार आयोजित “दलितमाथि विभेदको अवस्था र मानव अधिकार रक्षक सञ्जालको भूमिका” विषयक कार्यक्रममा बोल्दै उनले यस्तो आवश्यकता औल्याएका हुन् ।
कार्यक्रममा बोल्दै पोखरेलले समाजमा विभेदका घटनाहरु रहेसम्म मानवअधिकार हननका घटना हुने भएकाले मानव अधिकार रक्षकको भूमिका सशक्त बनाउनुपर्ने बताउनु पर्नेमा जोड दिए । राष्ट्रिय जनगणनाको तथ्याङ्क विश्लेषणले देखाएको जातिभेद, लिङ्गभेदको सवाल साझा विषय भएकोले मानव अधिकार रक्षकहरुले राज्यलाई कानुन र नीति निर्माण गर्न, बजेटको व्यवस्था गर्न, स्पष्ट संरचना र समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न पहल गर्नुपर्ने बताए ।
फेडोका कार्यक्रम संयोजक नरबहादुर आउजीले असमानता र विभेद बढी भए समृद्धि र विकासको गति कमजोर हुने बताए। राष्ट्रिय जनगणना २०७८ का आधारमा आर्थिक, सामाजिक र जनसाङ्ख्यिक अवस्थाको तुलनात्मक विश्लेषण गर्दै आउजीले निश्चित समुदाय पछाडि रहेकाले समग्र मुलुक र अन्य समुदायको प्रगति र समृद्धिको यात्रा पनि प्रभावित बनेको उल्लेख गरे ।
इन्सेक कोशी प्रदेशका संयोजक मनोहर पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेश स्तरीय मानव अधिकार रक्षक सञ्जालकी संयोजक देबी बास्कोटाले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारिन्।
फेडो मोरङका अध्यक्ष शर्मिला परियारले स्वागत गर्नुभएको कार्यक्रममा सञ्जालका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।