न्यूज टुडे
राजविराज, २१ चैत।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहाका बेचु कुसियैत यादवको घरमा नगरपालिकाले डोजर चलाएको छ । अदालतको आदेश विपरित पालिकाले बाटो फराकिलो बनाउने नाउँमा डोजर चलाएको हो ।
अदालतको आदेश विपरीत नगरपालिकाले जबर्जस्ति घर भत्काएको आरोप लगाउँदै यादवले आफूमाथि सार्है अन्याय भएको बताए ।
साविकको पोर्ताहा गाविस वडा नम्बर ६ को कित्ता नम्बर २१ को जग्गामा साविकदेखी नै घर बनाएर बसोबास गर्दै आएको घर मेयर बिरेन्द्र माझीको ठाडो आदेशमा नगरपालिकाले भत्काउँदा आफ्नो परिवार विचल्लीमा परेको उनले दुखेसो पोखे । नगरपालिकाले तीन महिना अघि माघ महिना मै घर भत्काउने प्रयास गर्दा अदालतबाट निषेधाज्ञा भएपछि रोकिएको उनले बताए । आफ्नो निजी जग्गा हड्प्न खोजेकाले उच्च अदालत राजविराजमा रिट दायर गरेपछि विपक्षीको नाममा निषेधाज्ञा गरेको यादवले जानकारी दिए ।
‘१२ माघ २०८२ मा अदालतले दिएको आदेशमा भनिएको छ, ‘जग्गाधनीको सहमति नलिइ वा कानुन बमोजिम जग्गा प्राप्तिको प्रक्रिया पूरा नगरी बाटो निर्माण /विस्तार नगर्न र घर नभत्काउनु भनी विपक्षीका नाममा निषेधाज्ञा जारी हुने ठहर्छ ।’ अदालतको आदेश सुनाउँदै उनले भने
अदालतको आदेश विपरीत नगरपालिकाका कर्मचारीहरुले शुक्रबार घर भत्काइ दिएको यादवले बताए । अदालतको आदेश देखाउँदा पनि कर्मचारीले मेयरको ठाडो आदेश रहेकाले घर भत्काउने बताएपछि बिहीबार नै जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएको यादवले बताए ।
अदालतकाे आदेश कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि इलाका प्रहरी कार्यालय कंचनपुरमा पत्राचार गर्दा समेत प्रहरी समेतले चासो नलिएको यादवको आरोप छ ।
बर्षौदेखि बनाएको घर भत्काइदिएपछी पूरा परिवार समस्यामा परेको यादवले दुखेसो सुनाए ।सार्वजनिक जग्गा हुँदाहुँदै बाटो बनाउने नाममा अदालतको आदेश विपरीत आफ्नो घर भत्काएको भन्दै उनले क्षतिपूर्तिसहित न्यायका लागि पहल गरिदिन सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।
हनुमानगर कंकालनी नगरपालिकाका मेयर बिरेन्द्र माझीले कुसयैतको घर भत्काएको स्वीकार गरे । उनले कानुन अनुसार नै पाेर्ताहा – भलुवा सडक अन्तर्गत पर्ने कुसियैतकाे घर भत्काइएकाे दाबी गरे ।
नगरपालिका संग सम्बन्धित पक्षले ढेड मिटर जग्गा खाली गर्ने सहमति विपरीत अदालत गएकाे र आफुहरुले पनि अदालतबाटै अनुमति लिएर बाटाे फराकिलो पार्न यस्तो कदम उठाउन बाध्य भएको मेयर माझीले बताए ।