फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बलियो बहुमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार निर्माणको अवसर प्राप्त गरेको छ ।
घोषित कार्यक्रम अनुसार आज नयाँ सरकार गठन पनि हुनेछ । दुईतिहाई निकटको बहुमतका साथ बन्ने सरकारले उदाहरणीय काम गर्न सकोस् भन्ने जनताको अपेक्षा र भरोशा पनि छ । त्यही कारणले नै जनताले पुराना दललाई कम तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक मत दिएर जिताएका पनि हुन् । विगतमा जनताका समस्या समाधानकालागि काम गर्नेतिर लाग्ने भन्दा पनि सत्ताको खेलमा दलहरुले बढी समय बिताएको जगजाहेर नै छ । भ्रष्टाचार लगायत अनेकन विकृति विसंगति बढेका कारण जनतामा एक प्रकारको नैराश्यता संगै उकुसमुकुस रहेको थियो । केही सिमित व्यक्ति नै सत्ताको बागडोर सम्हाल्न पुगेको र आफू सत्तामै टिकिरहनका लागि अनेक प्रकारका गुट उपगुट खडा गर्ने गरिएका कारण विकृति झनै बढेर गएका थिए । भ्रष्टाचारीलाई कारवाही गर्नेभन्दा पनि आफ्ना नजिककालाई उन्मुक्ति दिने काम भएका कारणले जनताले सुशासनको अनुभूति पाउनु त परै जाओस् बरु अनेकन बेथितिका डंगुर हेरेर बस्नु परेको अवस्था थियो । त्यसबाट वाक्क भएका जनताले नै गठबन्धन गरेर नयाँ दललाई बलियो बहुमतका साथ जिताएका कारण अव कुनै प्रकारको बहानावाजीको गुञ्जाईस नरहेको मान्न सकिन्छ ।
नयाँ सरकारलाई जसरी बलियो बहुमत प्राप्त छ,अव उसले पनि जनतालाई डेलिभरी दिन सक्यो भने मात्र यसको सार्थकता पनि साबित हुने भएका कारण त्यस प्रति हेक्का राखेर उदाहरणीय काम तर्फ लाग्न आवश्यक छ ।